१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

भारतको उपहार ‘मुर्रा’ राँगा तीन वटै पशु प्रजनन कार्यालय पुगे

भारतले उपहार स्वरूप नेपाललाई प्रदान गरेका मुर्रा जातका राँगा । तस्बिर: अर्जुन ओली/नागरिक

भारतले उपहार स्वरूप दिएका ‘मुर्रा’ राँगा तीन वटै स्थानमा रहेका ‘राष्ट्रिय पशु प्रजनन’ कार्यालयमा पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरूप दिने भनिएका १५ वटा राँगालाई बुधबार राती नेपालगन्ज ल्याइएको थियो।

भारतको पञ्जावबाट राँगालाई स्थल मार्ग हुँदै नेपालगन्जसम्म ल्याएर पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएकोमा शुक्रबार तीन वटै पशु प्रजनन केन्द्रमा पुर्‍याइएको हो।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जकी सूचना अधिकारी इन्दु रेग्मीका अनुसार पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा ५ वटा र राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट बाँकेमा ३ वटा राँगालाई पुर्‍याइएको छ।

‘भारतबाट ल्याइएका सबै राँगाको स्वास्थ्य चेकजाँच गरियो, सबै राँगा स्वस्थ रहेको कुरा पशु चिकित्सकले प्रमाणित गर्नुभयो, त्यसपछि बिहीबार दिउँसो देखी नै सम्बन्धित ठाउँमा पुर्‍याउन सुरु गरिएको थियो अहिले सम्म सबै ठाउँमा राँगा पुगिसकेका छन्,’ रेग्मीले भनिन्।

राँगा तीन वटै स्थानका पशु प्रजनन कार्यालयमा पुगिसकेकाले अब उनीहरुलाई केही दिन तालिम दिइने पशु चिकित्सकले बताएका छन्। तालिम पश्चात् उनीहरुको वीर्य संकलन गरिनेछ। भैँसीको कृत्रिम गर्भाधानमा प्रयोग गरिनेछ।

उन्नत जातका मुर्रा राँगालाई भारतको पञ्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको हो। भारतबाट ल्याइएका राँगालाई बुझ्न पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्याल नेपालगन्ज आएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबिच दुई पक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने भारतले प्रतिबद्धता जनाएको थियो।

प्रधानमन्त्रीको भ्रमण पश्चात् पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोट लगायतका काम गरेपछि स्थल मार्ग हुँदै रुपैडिहा नाकाबाट नेपालगन्ज ल्याइएको थियो।

यी राँगाहरू नेपालका भैँसीहरुको दुध उत्पादन क्षमता बढाउनका लागि कृत्रिम गर्भाधान गरेर नस्ल सुधार गर्ने प्रयोजनले प्रयोग गर्ने पशु सेवा विभागले जनाएको छ। पशु चिकित्सकका अनुसार दुध उत्पादनमा मुर्रा जातका भैँसी निकै अब्बल मानिन्छन्।

प्रकाशित: ९ मंसिर २०८० १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App