१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बोराभित्र भेटिएको दुई शवको पहिचान हुन सकेन

छिमेकी राष्ट्रमा समेत पत्राचार

चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा बुधबार भेटिएको दुई वटा शवको पहिचान गर्न कठिन भएको छ।

छुट्टा छुट्टै जुटको बोरामा हातखुट्टा बाँधेर पोको पारी फालिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको थियो।

शव फेला परेको चार दिनसम्म पहिचान हुन नसकेपछि प्रहरीलाई घट्नाको अनुसन्धान गर्न समेत कठिन भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले देश सहित छिमेकी राष्ट्रमा समेत शवको पहिचानका लागि पत्राचार गरेको छ।

‘घट्नाको अनुसन्धानमा लागेका छौँ। अझै पहिचान हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले भने, ‘शव पहिचानको लागि छिमेकी राष्ट्रमा समेत घट्नाको विवरण पठाएका छौँ।’

उनका अनुसार दुई वटै शवको अनुहार हेरेर पहिचान गर्न समस्या हुन्छ। प्रहरीले सामाजिक सञ्चाल फेसबुक मार्फत महिला र पुरुषको शवको हुलियाबारे सार्वजनिक गरेको छ। 

प्रहरीले पुरुषको उमेर अन्दाजी ३५ र महिलाको ३० रहेको जानकारी गराएको छ। पुरुषको उचाइ ५ फिट ७ इन्च रहेको छ। सेतो रंगको सेण्डो, सुपरड्राइ लेखिएको निलो रंगको हाफ कट्टु, डबल लेखिएको खैरो रंगको भित्री कपडा लगाएको अवस्थामा पुरुषको शव छ। उसको वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको प्रहरीले जनाएको छ।

सोही स्थानमा जुटको बोरामा फेला परेको मृत महिलाको उचाइ ५ फिट ३ इन्च रहेको प्रहरीले जानकारी दिएको छ। उनले कलेजी रंगको ट्राउजर, गुलाबीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएकी छिन्।

उनको वर्ण स्याम्लो, मझौला शरीर, हात खुट्टामा पिंक रंगको नेल पोलिस लगाएको, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने रहेको प्रहरीले बताएको छ। उनको बायाँ हातको नाडीको भित्री भागमा ‘एस’ स्पष्ट देखिने, ‘एम’ वा ‘ए’ स्पष्ट नभएको र धार्मिक चिन्ह जस्तो देखिने बस्तुको ट्याटु छ।

त्यस्तै बायाँ खुट्टामा कालो डोरा र दाहिने हातमा रक्षा बन्धन बाँधेको, कानमा पहेँलो धातुको झुम्को रहेको प्रहरीले जानकारी दिएको छ। दुवै शव भरतपुर अस्पतालमा रहेको छ। पोस्माटमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ। रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्ने प्रवक्ता पण्डितले जानकारी दिए।

दुई/तीन दिन आगडि अन्यन्त्रबाट ल्याएर शव फ्याँकिएको हुन सक्ने उनको अनुमान छ। हातखुट्टा एकै ठाउँमा बाँधेर पोको पारेर फालिएको थियो। हातखुट्टा बाँधिएको ठाउँमा गिडेको छ। पुरुषको मुखमा टालो समेत रहेको उनले बताए। शव सडिसकेकाले बाहिरबाट हेर्दा चोटपटक ठम्याउन नसकिने उनले बताए। उनले शव चिन्ने जो कोहिले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन्।

मुख्य राजमार्गमै दुई वटा शव पोको पारेर फालेको अवस्थामा भेटिएपछि प्रहरीको विशेष अनुसन्धान अधिकृत समेत चितवनमा खटाइएको छ।

यो पनि पढ्नुहोस्

चितवनमा एकै दिन तीन जनाको शव फेला

प्रकाशित: ९ मंसिर २०८० १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App