१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

चितवनमा एकै दिन तीन जनाको शव फेला

चितवनमा एकै दिन तीन जनाको शव फेला परेको छ। बुधवार (आज) दिउँसो भरतपुरमा दुई र खैरहनीमा एक जना गरी तीन जनाको शव फेला परेको हो।

भरतपुर महानगरपालिका वडा नम्बर-९ र १२ को सिमाना स्थित मिलनचोकको मुख्य राजमार्गको पुलमुनि हात खुट्टा एकै ठाउँमा बाँधेर बोरामा फालेको अवस्थामा महिला र पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। पण्डितका अनुसार, उनीहरुको पहिचान खुलेको छैन।

शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर-९ र १२ को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ। घटनास्थलमा निरीक्षणका लागि पुगेका भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लेखनाथ पन्तले दुवै जनाको शव छुट्टा छुट्टै जुटको बोरा भित्र रहेको नागरिक दैनिकलाई जानकारी दिए।

उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने अध्यक्ष पन्तले बताए। ‘दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन,’ उनले भने ‘दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्था छ।’ दुई तिन दिन अघि अन्यत्रबाट शव ल्याएर फालिएको हुन सक्ने उनले अनुमान गरे।

मुख्य बजारको व्यस्त सडकमा यसरी शव भेटिनु सुरक्षाको दृष्टिले चुनौती बढेको उनले बताए।

‘दुई तर्फ नै प्रहरी चौकी पाँच सय मिटरको दुरीमा छ। जिल्ला प्रहरी कार्यालय नै दुई किलोमिटर भित्र नै छ,’ उनले भने ‘बजारमा यस्तो घटना हुनु दुःखद हो।’

स्थानीयले दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मुचुल्का उठाएर शवको पोस्ट माटमका लागि भरतपुर अस्पतालमा ल्याएको छ। यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–९, स्थित सडक नजिक झाडीमा एक पुरुषको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङ स्थायी ठेगाना भएका ऋषिराम बस्नेतको शव फेला परेको हो। उनको शव बिहान करिब ८ बजेको समयमा फेला परेको थियो। बस्नेतको परिवार सम्पर्क आइसकेको र अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८० १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App