भूकम्पपीडित घर ठड्याउने रकम जोहो गर्न भारत जान थालेका छन्। भूकम्पप्रभावित जाजरकोट, रुकुम (पश्चिम), सल्यान, सुर्खेत लगायत जिल्लाका सर्वसाधारण नेपालगन्ज नाका हुँदै दिनहुँ ठुलो संख्यामा भारतका विभिन्न स्थानमा रोजगारीका लागि गइरहेका हुन्।
भूकम्पले घर भत्काएपछि पत्नी, छोराछोरी र वृद्ध अवस्थाका आमाबुवा छोडेर युवा भारततर्फ गइरहेका छन्।
‘भूकम्पले घरमा धेरै क्षति गरेको छ, हामीसँग घर बनाउने पैसा छैन, सरकारले पनि हेर्नेवाला छैन,’ जुनिचाँदे गाउँपालिका–११ जाजरकोटका २८ वर्षीय कालिबहादुर कसेराले भने, ‘भत्केको घर त बनाउनुपर्यो, घर बनाउनलाई थोरै भए पनि पैसा कमाउनलाई भारत जान लागेको हुँ।’
घरबाट दुई दिनअघि निस्केका उनी नेपालगन्जको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा जाँदै गरेको अवस्थामा भेटिए। उनीसहित गाउँका ११/१२ जनाको समूह सोही नाका हुँदै भारत गएको छ। भूकम्पपछि आफ्नो गाउँका मात्रै एक सयभन्दा बढी व्यक्ति रोजगारीका लागि भारततर्फ लागेको कसेराले सुनाए।
गाउँमा बुवा, आमा, भाइ र बहिनी त्रिपालको सहारामा बसिरहेको उनले बताए। ‘सरकारबाट त अहिलेसम्म एउटा त्रिपाल पनि मिलेको छैन, आफैंले किनेर ल्याएको त्रिपालमा गुजारा चलिरहेको छ,’ कसेराले भने।
जुनिचाँदे गाउँपालिका–३ का ४१ वर्षीय रूपबहादुर टमाटा पनि रोजगारीका लागि भारत पसेका छन्। विगतका वर्षमा पनि भारत जाने गरेका उनी यसपटक भने भूकम्पले घर चिरा–चिरा पारेपछि पुनर्निर्माण रकम जोहो गर्न हिँडेका हुन्।
‘भूकम्पले घर चिरा पारेको छ, बस्नै नमिल्ने अवस्थामा रहेको घर पुनर्निर्माण गर्नुको विकल्प छैन,’ उनले भने, ‘घरमा खाने खर्च छैन, बस्ने टुंगो छैन, यस्तो अवस्थामा बाध्य भएर भारत हिँडेको हुँ।’
विपद्को अवस्थामा पनि घरमा पत्नी र दुई छोरालाई छाडेर भारत हिँडेको टमाटाले दुखेसो पोखे।
‘पत्नी र दुई छोरा टेन्टमा बसेका छन्, भारतमा कमाइ राम्रो भयो भने घर बनाउनुपर्ला,’ उनले भने। आफ्नो गाउँबाट पनि थुप्रै मानिस भारततिर लागेको उनले सुनाए। नेपालगन्जस्थित जमुनाह नाकामा अहिले दिनहुँ भूकम्पप्रभावित क्षेत्रका सर्वसाधारण भारततर्फ गइरहेको दृश्य देखिन्छ।
नेपाल-भारत सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार दैनिक कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका सर्वसाधारण रोजगारीका लागि भारत जाने गरेका छन्।
जमुनाहका इन्चार्ज (सई) मिनबहादुर विष्टले कामका लागि भारत जाने र भारतबाट काम गरेर फर्किनेको संख्या उत्तिकै रहेको सुनाए।
भूकम्पले विशेषगरी जाजरकोट र रुकुम (पश्चिम) मा मानवीयसँगै भौतिक क्षति बढी गरेको छ। यीबाहेक आसपासका जिल्लाका भौतिक संरचनामा पनि क्षति पुगेको छ। सरकारले भूकम्पपीडितलाई घर बनाउन राहत स्वरूप रकम दिने घोषणा गरे पनि पीडित अन्योलमा छन्। सरकारले दिने भनेको रकमले घर बनाउन अपुग हुने उनीहरूको गुनासो छ। कतिपयले त सरकार दिने भनेको रकमसमेत पाउने आशा गरेका छैनन्।
प्रकाशित: ९ मंसिर २०८० ०१:२७ शनिबार





