१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

‘मुर्रा’ राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय पठाउन सुरु

भारतले उपहार स्वरूप दिएपछि पञ्जावबाट स्थल मार्ग हुँदै ट्रकमा ल्याइएका मुर्रा जातका राँगा। तस्बिर: अर्जुन ओली/नागरिक

भारतले उपहार स्वरूप दिएका मुर्रा राँगा सम्बन्धित ठाउँमा पठाउन सुरु गरिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरूप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार राती नेपालगन्ज ल्याइएको थियो।

भारतको पञ्जावबाट राँगालाई स्थल मार्ग हुँदै नेपालगन्जस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएकोमा बिहीबार दिउँसोबाट सम्बन्धित ठाउँमा पठाउन सुरु गरिएको हो।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख विनयकुमार कर्णले बिहीबार दिउँसो ३ वटा मुर्रा राँगा बाँकेको खजुरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटमा पठाइएको जानकारी दिए।

यस्तै ७ वटा राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा र ५ वटा राँगा लहानस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा पठाउन लोड गर्ने काम भइरहेको उनले बताए।

‘भारतबाट ल्याइएका सबै राँगाको बिहीबार दिउँसो स्वास्थ्य चेकजाँच गर्ने काम भयो, सबै राँगा स्वस्थ रहेको कुरा पशु चिकित्सकले प्रमाणित गरेपछि सम्बन्धित ठाउँमा पुर्‍याउन थालिएको हो,’ कर्णले भने।

उन्नत जातका मुर्रा राँगालाई भारतको पञ्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको थियो। भारतबाट ल्याइएका राँगालाई बुझ्न पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्याल नेपालगन्ज आएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच दुई पक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने भारतले प्रतिबद्धता जनाएको थियो।

प्रधानमन्त्रीको भ्रमण पश्चात् पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोट लगायतका काम गरेपछि स्थल मार्ग हुँदै रुपैडिहा नाकाबाट नेपालगन्ज ल्याइएको विभागले जनाएको छ।

‘आफ्नो देशको जैविक विविधता संरक्षण गर्ने हिसाबले कुनैपनि जेनेटिक मेटेरियलहरु बेचबिखन गर्न नदिने भारतको राष्ट्रिय नीति रहेछ, त्यस कारण किनेर ल्याउने सम्भावना पनि रहँदैन, त्यसका लागि दुई देशबीच समझदारी भएर मात्र आउन सम्भव भएको हुँदा प्रधानमन्त्री स्तरीय भ्रमणमा यो कुराको टुंगो लागेको हो,’ डा. अर्यालले भने।

प्रधानमन्त्री दाहालको भ्रमण पश्चात् प्राविधिक काम, राँगा छनोट लगायत काम गर्नका लागि पशु सेवा विभागका पुर्व उप-महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेको संयोजकत्वमा एक टोली भारत पुगेको थियो। करिब एक साताअघि सोही टोलीले टुंगो लगाएका मुर्रा राँगालाई भारतीय अधिकारी हस्तान्तरण गरेपछि दुई वटा ट्रकमा लोड गरेर नेपालगन्ज ल्याइएको थियो।

‘यी राँगाहरु नेपालका भैसीहरुको दूध उत्पादन क्षमता बढाउनका लागि कृत्रिम गर्भाधान गरेर नस्ल सुधार गर्ने प्रयोजनले प्रयोग गर्ने हो, यी राँगाहरुबाट हामी सिमेन (बिर्य) निकाल्छौं,  त्यो सिमेनलाई कृत्रिम गर्भाधानको काममा प्रयोग गर्छौ,’ डा. अर्यालले थपे ‘राष्ट्रिय पशु प्रजनन कार्यालयमा पालन पोषण लगायत सिमेन संकलन गर्ने काम गर्छन्, यसबाट भैँसीको वंश सुधार गर्ने काम गर्छौ।’

नेपालगन्ज ल्याइएका राँगाहरु २ देखी ३ वर्षमाथिका रहेका छन्। ‘यी राँगाबाट तत्कालै सिमेन (वीर्य) संकलन गर्न सक्छौं, यिनीहरु सिमेन दिन सक्षम नै छन्, तर त्यो भन्दा अगाडी यिनीलाई तालिम दिनुपर्ने हुन्छ, तालिम दिएपछि कृत्रिम गर्भाधानका लागि सिमेन निकाल्छौं,’ अर्यालले भने।

पशु चिकित्सकका अनुसार दूध उत्पादनमा मुर्रा जातका भैँसी निकै अब्बल मानिन्छन्। मुर्रा भैँसीले एक बेतमा ३ हजार ५ सय देखी ५ हजार किलोसम्म दूध उत्पादन गर्ने पशु चिकित्सक बताउँछन्।

भारतले नेपाललाई उपहार दिएका मुर्रा जातका राँगा पनि उन्नत जातकै रहेको विभागले जनाएको छ।

भारतबाट स्थल मार्ग हुँदै ल्याइएका मुर्रा राँगालाई भारतीय राजश्व विभाग (कस्टम) ले बुधबार बेलुका झण्डै ४ घण्टासम्म सीमापारि रोकेको थियो। कागजात मिलाएपछि नेपाल प्रवेश भएका राँगालाई नेपालगन्ज भन्सार कार्यालयले पनि बुधबार राती कागजातसहित राजश्व बुझाउन भनेको थियो।

क्वारेन्टाइन कार्यालयले राँगाको भन्सार राजश्व बुझाउने प्रतिबद्धता जनाएपछि भन्सार कार्यालयले छाड्यो। ‘भारतले उपहार स्वरूप दिएको राँगाको पनि हाम्रो देशको भन्सार कार्यालयले राजश्व लियो, नियम अनुसार कृषिजन्य बस्तुमा लाग्ने ५ प्रतिशतका हिसाबले करिब ८० हजार राजश्व बुझाउनुपर्ने देखिएको छ,’ कर्णले भने। दुई देशका सरकारको सहमतिमा आएको उपहारबाट पनि भन्सार महसुल असुलेको भन्दै पशु सेवा विभागका कर्मचारी असन्तुष्ट छन्।

प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्किएपछि छिमेकी देश भारतले मुर्रा राँगा उपहार दिन लागेको भन्दै प्रतिनिधिसभा बैठक लगायत चोक, चौतारामा यसलाई हाँसो र ठट्टाको विषय बनाइएको थियो।

प्रधानमन्त्री दाहाललाई प्रतिपक्ष दल लगायत अन्य नेताहरुले पटक–पटक यही विषयमा व्यङ्ग्य गरेका थिए। यसलाई प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख उपलब्धिका रूपमा अर्थाइएको थियो। प्रधानमन्त्री दाहालले गत जेठ १७ गतेदेखि २० गतेसम्म छिमेकी देश भारतको भ्रमण गरेका थिए।

प्रकाशित: ७ मंसिर २०८० १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App