२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: अभियोजन नै गलत भएको जिकिर

फाइल तस्बिर: नागरिक।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरुको सुनुवाइ सुरु भएको छ।

मंगलबारदेखि पाटन उच्च अदालतमा सुनुवाइ सुरु भएको हो। नेकपा एमालेका तत्कालीन सचिव एवं पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित पुर्पक्षका लागि जेल चलान भएकाहरुको हकमा मंगलबारदेखि लगातार सुनुवाइ भइरहेको छ।

बुधबार सानु भण्डारी, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको तर्फबाट बहस सकिएको छ। उनीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सरद कोइराला र विनोद शर्माले बहस गरेका थिए।

मंगलबार पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको तर्फबाट बहस पैरवी गरे। बुधबार सानु भण्डारीको पक्षमा बहस गरेका श्रेष्ठले विना प्रमाण थुनेको पैसा समेत बरामद नभएको अवस्था भण्डारीलाई थुनेर राज्यले अन्याय गरेको बताएका थिए।

उनले अनुसन्धान नै अपूरो नै भएको भन्दै अघिल्लो सरकारकै निर्णयलाई पछिल्लो सरकारले कार्यान्वयन गरेको त्यसो गर्दा भण्डारीलाई अन्याय भएको जिकिर गरेका थिए।

उनले अघिल्लो सरकारमा सहभागी गृहमन्त्री प्रशासनलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिकिर गरेका थिए। उनले भण्डारीमाथिको अभियोजन नै नियोजित ढंगले आएको बताउँदै प्रहरी प्रशासनले उनीमाथि प्रमाण नपूग्नेगरी अभियोजन लगाएको जिकिर गरेका थिए। रकम दिएको कुनै पनि आधार प्रमाण नभएको पनि उनको जिकिर थियो।

नक्कली शरणार्थी प्रकरणका अर्का अभियुक्त सन्देश शर्माका समेत कानुन व्यवसायी रमण श्रेष्ठ नै रहेका छन्।

पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई थुनामा रहेका छन्। 

त्यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद् आङटावा शेर्पा तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जन पनि जेल चलान भएका थिए।

शरणार्थी प्रकरणमा मुछिएका होटल व्यवसायी टंक गुरुङलाई १० लाख र ललितपुरकी लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियो।

शरणार्थी प्रकरणका आरोपित पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजका साथै केशव तुलाधार, अशोक पोख्रेल, धिरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनीता लिम्बू, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी फरार थिए। तुलाधर भने बालुवाटार जग्गा प्रकरणमा पनि मुछिएका थिए।

प्रकाशित: ६ मंसिर २०८० १६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App