८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंको अभियानले अराजकता फैलाउने सरकारी आशंका

विवादित व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहनिकटहरूको समर्थनमा मुलुकमा अराजकता फैलाउन खोजेको आशंका व्यक्त गर्न थालिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र र राजासहितको हिन्दु राष्ट्र स्थापना भन्दै प्रसाईंसहितका उनका समर्थकले मंसिर ७ बाट आन्दोलन गर्ने घोषणापछि सरकारका साथै पुराना राजनीतिक दलले मुलुकमा अराजकता निम्त्याउने प्रयासका रूपमा यसलाई लिएका छन्।

प्रसाईंले मंसिर ७ गते काठमाडौंमा ठूलो संख्यामा मान्छे उतारेर आन्दोलन गर्ने जनाएपछि शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखसँग त्यस विषयमा छलफलसमेत गरेका छन्।

सरकार र राजनीतिक दलप्रति आम जनताको आकर्षण कमजोर बन्दै गएका बेला भ्रष्टाचारविरोधी आन्दोलनको नाम दिँदै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ का नाममा मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने जनाएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरका नेता र व्यवस्थाविरुद्ध उनका समर्थकले फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युबबाट त्यसको प्रचार गरिरहेका छन्।

प्रसाईंका नातेदारसमे त रहेका झापाका दिपेश प्रसाईंका अनुसार अभियानसँग भारतमा रहेका नेपालीसमेत आएर सहभागी हुने दाबी गरे।

नेपालमा हिन्दुत्व कायम गर्न छिमेकी मुलुक भारतका केही हिन्दुवादी शक्तिले समेत प्रसाईंको आन्दोलनमा समर्थन गर्न सक्ने अड्कल काट्न थालिएको छ।

हिन्दु धर्मप्रति आस्था र विश्वास राख्न शक्ति केन्द्रहरूले तराई–मधेसका जिल्लाबाट आन्दोलन उठाउने र त्यसले सामाजिक सद्भावका साथै अराजकता निम्त्याउने प्रयास भइरहेको आशंका प्रधानमन्त्री दाहालले तिहारअघि राखिएको बैठकमा व्यक्त गरेका थिए।

प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को अजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन्।

झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगेर यो अभियानको सुरुवात गरेका थिए। हिन्दु राष्ट्र र संघीयताका विषयमा खुलेरै बोलिरहे पनि राजतन्त्रको पुनःस्थापनाका विषयमा भने उनले बेलाबेला बोली फेर्दै आएका छन्।

यसबाहेक उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता, नेताका परिवार र केही ठूला व्यापारिक घरानाविरुद्ध विवादित बयान दिँदै आएका छन्, जसमा उनले भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै ती व्यापारिक घराना र नेता रहेको दाबी गर्दै आएका छन्। 

प्रसाईंले उठाएका अन्य अजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्वासी बनाउन नपाइने कानुन निर्माण, राजनीतिक संरक्षणमा भएको अर्बौं कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोटबन्दी, वैदिक सनातन धर्म सापेक्ष मुलुक, संघीयताको विकल्प समेटिएका छन्।

विवादित पृष्ठभूमिका प्रसाईं विगतमा नेकपा माओवादी केन्द्रमा रहँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसपछि नेकपा एमालेमा रहँदा एमाले अध्यक्ष केपी ओलीसँग निकट थिए।

दुवै पार्टी एकीकरण हुँदा प्रसाईंले दाहाल र ओलीलाई आफ्नै घरमा बोलाएर चरेसको थालमा मार्सी चामलको भात खुवाएको तस्बिर भाइरल बनेको थियो। पछिल्लो समय दुवै पार्टी र नेतासँग असन्तुष्ट हुँदै प्रसाईं सडकमा आएका छन्। उनीमाथि विभिन्न बैंकबाट अर्बौं ऋण लिएर नतिरेको पनि आरोप लाग्ने गरेको छ। 

प्रकाशित: २ मंसिर २०८० ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App