२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

निकुञ्ज सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न

चितवनमा पछिल्लो तीन वर्षमै आठ गैंडा मारिए

चितवन राष्ट्रिय निकुञ्जमा खाल्टामा पारेर मारिएका दुई गैंडा।

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु मार्न फेरि तस्कर समूह सक्रिय हुन थालेको छ। गएको पाँच वर्ष चोरी–सिकार शून्य रहेको भनिएको निकुञ्जमा पछिल्लो तीन वर्षमा तस्करले आठवटा गैंडा मारेको तथ्यांक छ।

वन्यजन्तु तस्करले निकुञ्जको कोर क्षेत्रमा पर्ने चपचुली पोस्टबाट करिब साढे तीन किलोमिटर दक्षिणमा अन्दाजी १८ र ६ वर्षका दुईवटा पोथी गैंडालाई खाल्टोमा पारेर मारेका छन्। ती गैंडा बिहीबार मृत अवस्थामा फेला परेका थिए। दुईवटै गैंडाको खाग काटेर लगिएकाले तस्करले योजनाबद्ध रूपमा मारेको देखिन्छ।

नेपाली सेनाको चपचुलीस्थित पोस्टनजिकै पुरानै शैलीमा तस्करले गैंडा मारेका हुन्। सुरक्षा निकाय चनाखो नहुँदा २०५५ सालयता निकुञ्जमा १८३ वटा गैंडा चोर सिकारीले मारेका छन्। जसमध्ये १३ वटा गैंडा पछिल्लो १० वर्षमा मारिएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि झन्डै डेढ दशक रोकिएको चोरी सिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्वकालमा बढेको देखिन्छ। चितवन राष्ट्रिय निकुञ्जमा सन् २००० देखि २०१० को अवधिमा एक सय ५८ वटा गैंडा तस्करले मारेका थिए।

सन् २००२ मा एकै वर्षमा ३८ वटा गैंडा तस्करले मारेका थिए। तस्करले आर्थिक वर्ष २०६९/७० मा एउटा, २०७०/७१ मा एउटा र २०७३/७४ मा एउटा गैंडा मारेका थिए। त्यसपछि केही वर्ष वन्यजन्तुको चोरी सिकार रोकिएकोमा आव २०७७/७८ मा तस्करले चारवटा गैंडा मारेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। आव २०७९/८० मा तस्करले दुईवटा गैंडालाई अमलटारी सेक्टरमा विद्युतीय धरापमा पारेर मारेका थिए। ती दुई गैंडा मार्ने व्यक्ति पक्राउ परेका छन्।

निकुञ्जको तथ्यांकअनुसार आव २०७१/७२, ७२/७३, ७४/७५, ७५/७६ र ७६/७७ मा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको चोरी सिकार भएन। तर यसमा निकुञ्जका कर्मचारी नै विश्वस्त देखिँदैनन्। आव २०७७/७८ मा केही तस्करलाई समात्दा उल्लिखित आवमा ११ वटा गैंडा मारेको खुल्न आएको निकुञ्जका पूर्वकर्मचारी बताउँछन्।

वन्यजन्तु मारेको आरोपमा आव २०७७/७८ मा ४२ जना पक्राउ परेका थिए। त्यसपछि ठुलो संख्यामा तस्कर पक्राउ परेकाका छैनन्। तस्करी अभियोगमा जेल सजाय भोगी छुटेका पनि फेरि सोही कार्यमा संलग्न भएको पाइएको छ।

तस्करबाट मात्र होइन, प्राकृतिक कारणले पनि गैंडा मर्ने क्रम बढ्दो छ। बुढो भएर, जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बाघले खाएर गैंडा मर्ने गरेका छन्।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्षमा गैंडालगायतका वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताउँछन्। ‘गैंडालगायत वन्यजन्तु संरक्षणमा सबैभन्दा ठुलो चुनौती चोरी सिकार हो। चोरी सिकार सधैंको समस्या हो’, उनले भने, ‘सुराकी सञ्जाल कमजोर भएको अवस्थामा चोरी सिकारका घटना बढी हुन्छन्।’

निकुञ्ज प्रशासन सक्रिय नभएको अवस्थामा तस्कर सल्बलाउने गरेको उनले बताए। निकुञ्जको सुरक्षामा नेपाली सेना खटिएको छ। चोरी सिकार नरोकिँदा निकुञ्ज प्रशासन, सुरक्षा व्यवस्था, मध्यवर्ती व्यवस्थापन समिति र अन्य सहयोगी संस्थामाथि प्रश्न उठ्दै आएको छ। सहयोगी संस्थाको कामसमेत प्रभावकारी हुन सकेको छैन।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी चोरी सिकार नियन्त्रणमा निकुञ्ज प्रशासन लागिपरेको बताउँछन्। ‘सुरक्षा निकायलाई उच्च सतर्कताका साथ रहन निर्देशन छ’, उनले भने, ‘व्यवस्थापनको काम निकुञ्ज प्रशासनले गर्छ।’

तस्कर खोज्ने काम पनि भइरहेको उनले बताए। उनका अनुसार बिहीबार मृत भेटिएका गैंडालाई तस्करले अलगअलग खाल्टो खनेर मारेका थिए।

‘नेपाली सेना, सिआइबी नेपाल प्रहरीको सहयोगमा तस्करलाई खोज्ने क्रम जारी राखेका छौं’, उनले भने। समुदायको सहभागिताबिना गैंडालगायत वन्यजन्तु संरक्षण गर्न चुनौती छ। त्यसैले सरकारले मध्यवर्ती व्यवस्थापन समितिमार्फत पनि संरक्षणमा समुदायलाई परिचालन गरेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकार नरोकिए पनि गैंडाको संख्या भने बढ्दो क्रममा छ। सन् २०२१ को गणनामा देशभर सात सय ५२ गैंडा भेटिएका थिए। जसमध्ये ६ सय ९४ वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका थिए।

गणनाअनुसार बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैंडा छन्। सन् २०१५ को गणनाअनुसार चितवनमा ६ सय पाँचवटा गैंडा थिए।

प्रकाशित: २ मंसिर २०८० ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App