७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

माई पोखरीमा सद्भावको त्रिवेणी,हिन्दु,बौद्ध र किरात धर्मको प्रवचन

राम सार क्षेत्र माई पोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गर्ने भएका छन्। धार्मिक तथा जैविक विविधताको संगमस्थल माई पोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा स्थानीयले आज (मंसिर १) देखि ८ गतेसम्म त्रि–धार्मिक महाउत्सव संयुक्त रूपमा आयोजना गरेका हुन्।  

महाउत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।समितिका अनुसार माई पोखरीछेउमा तीन हजारभन्दा बढी भक्तजन अटाउने पुराण स्थल बनाइएको छ भने बौद्ध गुम्बा र किरात साकेला थान झकिझकाउ बनाइएको छ। संयोजक प्रेम ना छिरिङ राईले महाउत्सवको सबै तयारी पूरा भएको जानकारी दिए। माई पोखरी आउने विभिन्न धर्मावलम्बीको सुविधाका लागि तयारी पूरा भएको छ,’ उनले भने, ‘विभिन्न धार्मिक कार्यक्रम सञ्चालनका लागि गुरुहरू पनि आइसक्नुभएको छ।’  

संयोजक राईका अनुसार अहिले बिहान ९ बजे माई पोखरीदेखि देउराली बजार परिक्रमा गरेर पुनः त्यहीँ फर्किने गरी कलश यात्रा आयोजना गरिएको छ।‘कलश यात्रासँगै स्थानीय सबै धर्म–संस्कृति, समुदाय, जातजातिका झाँकी प्रदर्शन गरिनेछन्,’ उनले भने, ‘त्यसपछि महाउत्सव उद्घाटन आयोजना गरिने छ ।’ सन्दुकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले महाउत्सव उद्घाटन गर्नेछन् ।

महाउत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । पुराणमा दिनहुँ कम्तीमा दुई पण्डितले आठ दिनसम्म कथा वाचन र प्रवचन गर्नेछन् । नजिकैको बौद्ध गुम्बामा निरन्तर पूजापाठ गरिने छ। किरातका लागि साकेला थान तयार गरिएको छ । साकेलानाथमा कम्तीमा दुई दिन र बढीमा आठै दिन फरक–फरक गुरुहरूले प्रवचन दिनेछन्।प्रवचनमा किरातको धार्मिक ग्रन्थ मुन्धुमको उत्पत्ति, विकास, प्रयोग, धार्मिक र व्यावहारिक पक्षलगायत पनि समेटिने आयोजकले जनाएको छ।  

माई पोखरी दर्शन–अवलोकन, माई पोखरी परिसरका सत्य धुनी, पाठशाला, शिवालय, यज्ञ कुण्ड, साधु कुटी, बौद्ध गुम्बा, तीन चुलो, युमाथान अवलोकन र दर्शन, महाउत्सवभर हरेक साँझ वनासरबाट आएका गुरुहरूबाट माई पोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किरात गुरुबाट प्रवचन यसका थप आकर्षण छन् । ‘हरेक साँझ महात्म्य भजनकीर्तन, ज्ञानमञ्च र प्रवचन हुनेछन्,’ राईले भने, ‘प्रदेशकै प्रख्यात पर्यटकीयस्थलसमेत रहेको माइपोखरीबाट तीन देशका हिमाल देखिनु आफैंमा अर्काे आकर्षण हो ।’ पुवामाईको शिर, १८ भन्दा बढी प्रजातिका गुराँस पाइने छिन्टापु, मेचीकै अग्लो टोड्के झरनालगायत पनि नजिकै रहेकाले महाउत्सवमा आगन्तुक पाहुनाको संख्या धेरै हुने आशा गरेको उनले जनाए।

विश्वशान्तिको कामनासहित माई पोखरीमा आउँदा महाउत्सव आयोजना गरिएको हो।धार्मिक पर्यटन प्रवर्धनका लागि ‘हामी सबैको योगदान, माई पोखरी प्रचारप्रसारको महाअभियान’ नारा तय गरिएको आयोजक समितिका सञ्चार संयोजक श्यामकुमार राईले बताए।

माई पोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवद्र्धन तथा बहुआयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्दै माई पोखरी क्षेत्र विकास कोषसमेत स्थापना गर्ने महाउत्सवको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ।कोषमा अहिलेसम्म करिब तीन लाख रुपैयाँ जम्मा भइसकेको र श्रद्धालु भक्तजनबाट संकलन हुनेक्रम जारी नै रहेको संयोजक प्रेमनाछिरिङले जानकारी दिए।

माई पोखरीमा २०७० असार ८ देखि १० सम्म यस्तै बहुधार्मिक उत्सव सञ्चालन गरिएको थियो।माई पोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्नेगरेका छन्।इलाम सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माई पोखरी पुग्न बिब्ल्याँटेबाट माइपोखरीसम्मको करिब ७० प्रतिशत सडक कालोपत्रे भइसकेको छ।कच्ची सडक पनि सहज रहेकाले आगन्तुकलाई यहाँसम्म आइपुग्न समस्या नभएको आयोजकले जनाएको छ। 

प्रकाशित: १ मंसिर २०८० ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App