३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

समस्याका चाङ माथि कर्णाली

अभाव र समस्याका चाङबाट कहिल्यै निस्किन नपाएको कर्णाली फेरि भूकम्पले थलिएको छ। कुनै समय राता मान्छेका नाममा दर्जित यहाँका स्थानीयहरू सँग यति बेला काला कथा मात्र बाँकी छन्। यति बेला कर्णाली फेरि रोएको छ। बस्तीहरूमा खाना, नाना र छानाको पिरोलो चुलिएको छ। घर छेउको सरकारसँग जबरजस्त खुसी बनेकाहरू प्रदेश र संघका सरकार सँग पनि असन्तुष्ट बन्न थालेका छन्।

गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ। हिजो १० वर्ष परिवर्तनका लागि भनेर जबरजस्त द्वन्द्वमा होमिएको यो भूमिमा द्वन्द्व सकिएको दुई दशक पछि सम्म पनि गतिलो अस्पताल बन्न नसक्दा उपचारमा भएको ढिलाइले भूकम्प पीडितको हताहत बढेकोमा दुई मत रहेन।

गाउँ टोलमा एउटा पनि गतिलो भवन बन्न नसक्नुको परिणाम सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक आज पनि चिसो त्रिपाल भित्र कष्ट काटिरहेका छन्। भएका विद्यालय र सामुदायिक भवन समेत सानै भूकम्पले भत्किनु वा चर्किनुले सबै स्पष्ट देखाएको छ। यति बेला यहाँका हजारौँ विद्यार्थी विद्यालय जान बाट वञ्चित छन्। सुत्केरी र गर्भवती जस्तो संवेदनशील अवस्थाका आमाहरूले असजिलो दैनिकी बिताइहरेका छन्।

भत्किएका घर कहिले ठडिन्छन् भन्ने अन्यौलताका बिचमा बढ्दै गएको चिसो छल्ने कसरी भन्नेले सबैलाई पिरोलेको छ।

निदै लाग्दैन कसरी देख्ला सपना ?

‘ओइ सुन न तेरो दिदी मर्दा कस्ती देखिएकी थिई? सपना देखेको थिस्?’ अबोध एक बालिकाले सँगै हिडेकि आफ्नी साथीलाई सोधिन्। उत्तर ‘हेर्न दिएनन्। कता लगे थाहा पाइन। निदै लाग्दैन कसरी देख्ला सपना।’ यति बेला बाल मनोविज्ञान अलि फरक भएको छ। आठबिसकोट नगरपालिका –९ का ३२ वर्षीय एक युवकले घर नजिकैको भेरी नदीमा हाम फालेको र स्थानीयले बचाएका थिए। भूकम्पका कारण परिवारका सदस्य घाइते हुनु र घर ध्वस्त भएपछि उनले आत्महत्याको प्रयास गरेका हुन्। उनलाईलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।

यति बेला यहाँका धेरै स्थानीयलाई मानसिक समस्याले पिरोल्न थालेको छ। डर लाग्ने, निद्रा नलाग्ने, बेचैनी र छटपटी मुख्य समस्या देखिएको छ भने आर्थिक अभावका बिचमा नयाँ घर निर्माण अनि बालबालिकालाई चिसोमा कसरी बचाउने भन्ने मुख्य समस्या सुरु भएको छ। केही गैर सरकारी संस्थाले केही स्थानमा मनोबिमर्शकर्ता राखेर सहयोगको अस्थायी प्रयास गरेको भए पनि सरकारी तवरबाट यता तिर ध्यान दिइएको छैन।

आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकाका तिन स्थानमा सामूहिक मनोविमर्श सेवा सञ्चालन गरेको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले यहाँका स्थानीयमा मानसिक समस्या बढ्न थालेको बताइन। ‘भूकम्प पीडितमा तर्सिने, डराउने, टोलाउने, नबोल्ने, बोल्दा झर्किने, निद्रा नपर्ने, खाना खान मन नलाग्ने समस्या देखिन थालेका छन्।’ धिताले भनिन, ‘हामीले रुकुमका तिन स्थानमा महिला मैत्री सुरक्षित स्थलका स्थापना गरेका छौ जहाँबाट उपचार सँगै मनोबिमर्श सेवा पनि उपलब्ध छ।’

राहतका नाममा पाएको पातलो त्रिपालले उनीहरुलाई आँखाले देखिने ओत मात्र भएको छ। पानी नपर्दै बढेको चिसोलाई पानी परेपछि त्रिपाल थेग्ने कुरै भएन। सुत्केरी, गर्भवती सँगै बालबालिका तथा ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय स्वास्थ्यकर्मीले बताए। त्रिपाल मुनिको बास, दिन प्रतिदिन बढिरहेको चिसो र खानपान नमिल्दा दैनिकी कष्टकर बन्न थालेको हो।

त्रिपालसम्म सबैको दैलोमा नपुगेको यहाँ सुरक्षित वासस्थानको प्रक्रिया सुरु हुनेमै अन्योल छ। यति बेला जाजरकोट र रुकुमका केही बस्ती अकल्पनीय पीडामा छन्। दुईचार दिन सबैको आँखा परेको यहाँ बस्तीका बारेमा बिस्तारै सबैको चिन्ता घट्दो छ भने पीडितका पीडा बढ्दो छ। दैनिक त्यहाँ राहतका नाममा पुग्ने सयौँ सवारी साधनले के के ल्याए र कहाँ गयो होला भन्नेमा स्थानीय अचम्मित छन्। 

भूकम्पले ढलेका गाउँमा सामुदायिक शान्ति भान्सा

भूकम्पले घर सँगै मन पनि भत्किए पछि जाजरकोट र रुकुममा बस्तीहरूमा अकल्पनीय पीडा सुरु भएको छ। भूकम्पले घरबार विहीन बनाएको जाजरकोट र रुकुमका केही बस्तीमा सुरु गरिएको सामुदायिक शान्ति भान्साले पीडितलाई थोरै भएपनि राहत मिलेको छ। नागरिक आवाज ललितपुरले भूकम्प गएको भोलि पल्ट बेलुकाबाट जाजरकोटका ४ स्थान र रुकुमका २ स्थानमा सुरु गरेको सामुदायिक शान्ति भान्सामा दैनिक सयौँ स्थानीयले खाना खाइरहेका छन्।

गाउँका सबै ३६ घर भत्किएको रुकुम आठबिसकोट नगरपालिका १४ छेपारेमा दैनिक १ सय बढिले बिहान साझा खाना खाइरहेको स्थानीय मदन विकले बताए। त्यसैगरि सानोभेरी गाउँपालिका ४ गौलचौरमा दैनिक १ सय ५० बढिले खाना खाईरहेको स्थानीय शेरबहादुर चन्दले बताए। जाजरकोटको नलगाड नगरपालिका १ चिउरी र भेरिगंगा ३ थाप्लेमा पनि दैनिक १ सय बढी स्थानीयले सामुदायिक शान्ति भान्सामा खाना खाने गरेका छन्।

सानोभेरी गाउँपालिकाका अध्यक्ष बर्खबहादुर विष्टले सामूहिक भान्साले आफूहरूलाई समेत सिकाई भएको बताए। ‘यो त हामीले नै सुरु गर्नु पर्ने काम थियो। सबैको घर भान्सा केही थिएन चामल, नुन, तेल दिन भन्दा सुरुवातीमै टोल टोलमा भान्सा चलाएको भए अन्त ध्यान दिन नि सकिन्थ्यो।’ आठबिसकोट नगरपालिकाका वडा न. १४ का अध्यक्ष हुकुम बहादुर पुनले पनि सामूहिक भान्साले स्थानीयलाई राहत मिलेको बताए।

‘सबैको घर सँगै भान्सा पनि पुरिएको अवस्थामा उपचार÷उद्धार पछिको पहिलो आवश्यकता खाना भएकाले हामीले सामुदायिक शान्ति भान्सा सुरु गरेका हौ।’ नागरिक आवाजका वरिष्ठ मनोबिमर्शकर्ता सुदिप सिग्देलले भने, ‘यो भन्दा अघि बझाङ/बाजुरामा गएको भूकम्पका बेलामा पनि यो प्राक्टिस राम्रो भएको थियो।’

विपद्मा पनि विज्ञापन मोह !


यति बेला कर्णाली फेरि रोएको छ। अकल्पनीय घटना सँग जुध्न बाध्य जाजरकोट र रुकुमका जनताहरू आहतमा छन्। संघ, प्रदेश र स्थानीय तह सँगै विभिन्न सामाजिक संघ संस्था, वैदेशिक सहयोग, व्यवसायी, व्यक्ति सबै सबैले आफ्नो आफ्नो तर्फबाट सहयोग नै गरेका छन् भने कतिले समानुभुती प्रकट गरेका छन्। तर पनि पातलो त्रिपालबाट रातभरि छिरेको चिसो र उदेक लाग्दो दैनिकीले जीवन कष्टकर बनेको छ।

भूकम्पले पुरै गाउँ ध्वस्त भएका गाउँहरूमा राहतका नाममा त्रिपाल, चामल, नुन तेल ओढ्ने ब्ल्याङकेट भित्रिए पनि पुनर्संरचनाको बारेमा छलफल समेत भएको छैन। साझा बिहानको गाँस जोहो गर्न व्यस्त स्थानीयलाई नयाँ बास आफै बनाउनु फलामको चिउरा जस्तै छ। तत्कालका लागी पनि पर्याप्त आधारभूत राहत नपाएका यहाँका स्थानीय विपद्मा पनि विज्ञापन गर्ने विभिन्न निकाय देखेर दिक्क छन्।

राहतको अघि अघि स्कारपियो चढेर पीडितका घर जाने जनप्रतिनिधिको तस्बिर मोहले सबैलाई अचम्मित पारेको छ। असहजतामा रहेका स्थानीयलाई एउटा बाल्टिन दिँदा समेत लोगो मिलाएर फोटो अनि भरपाई पछि बिदा गरिन्छ। ‘भिक माग्न आएका थिएनौ। भूकम्पले सबै लग्यो र मात्र लिन आएको हो। यस्ता बाल्टिन झोला त घरमा पनि थिए। पुरिएर पो।’ स्थानीय एक महिलाले गुनासो गरिन ‘बाल्टिनमा समेत दिनेको नाम लेखेका छन्। त्यो लेख्ने पैसाले त अर्को बाल्टिन आउँथ्यो होला।’

‘हरेक बस्तु लिन आउँदा हस्तान्तरणका नाममा लाज लाग्दो दुख दिएका छन्। उनीहरुले दिएको हामीले हात थापेको फोटो खिच्ने असजिलो लाग्छ तर के गर्नु चाहिएको छ।’ नाम भन्दा थप सहयोग नगर्ने हुन कि भन्ने त्रासमा रहेका स्थानीय एक युवकले भने ‘राहतका गाडी भन्दा दुई गुणा धेरै स्कारर्पियो आएका छन्। आउने अनावश्यक कुरा सोध्ने अनि फोटो खिच्ने।’ उनले थपे ‘जनप्रतिनिधि पनि त्यस्तै छन्। जहाँ पनि उनको हातबाट राहत बाडेको हुनु पर्ने। संघ संस्था आउँछन् उनले पनि अध्यक्ष वा उपाध्यक्ष नै बोकेर आउँछन्।’

निला प्लेटका गाडी चढेर आउने एकथरि सँगै रातो प्लेटका अर्को थरीले सेतो प्लेटका आधिकारीको बाहुली खोज्नुको दुखद भएको जानकारहरु बताउँछन्। त्रिपालदेखि बाल्टिन सम्ममा विज्ञापन छपाएर वितरण गरिएको सहजै देख्न सकिन्छ। ‘मरेको ठाउँमा आएर भाषण सम्म गर्न भ्याउँछन्।’ स्थानीयहरू भन्छन् ‘कहिले त लखट्न मन लाग्छ तर अभावमा जे पनि सहनु पर्ने रैछ।’

त्यसो त यति बेला राजनीतिक दलका केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्तालाई पीडितलाई आफू अनुकूल बनाउने मौका परेको छ। सबै दलका नेताहरु भावनामा बढी खेलेको देखिन्छ भने यो व्यवस्थाकै विरोध गरिरहेको विप्लव नेतृत्वको नेकपाका महासचिव त झन श्रमदानमा व्यस्त भएका तस्बिरले सामाजिक सञ्जालमा स्थान पाएको छ। दुखमा सहानुभूति देखाउनेहरूले समानुभुती देखाउन भने सकेका छैनन्।

प्रकाशित: ३० कार्तिक २०८० ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App