७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मोरङमा आगलागी हुँदा २८ जना घाइते, गम्भीर ११ जनालाई काठमाडौँ पठाइँदै

मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।उर्लाबारी नगरपालिका–७ बरगाछीस्थित दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुन पसलमा राति साढे १० बजेतिर आगलागी भएको थियो। आगलीमा परी ४ प्रहरीसहित ३२ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

आगो निभाउने क्रममा आगोको लप्कामा परी घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हुँदा थप उपचारका लागि काठमाडौँ पठाउन लागेको डिएसपी दाहालले बताए।  

सुन पसलभित्र रहेको एलपी ग्याँस सिलिण्डर बिस्फोट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। उनले भने, ‘पसलमा आगली हुँदा सडक किनारमा उभिएर हेर्ने र गन्तव्यतर्फ जाँदै गरेका मानिसहरु घाइते भएका हुन्। पसलभित्रबाट एक्कासी आगोको ज्वाला बाहिर आउँदा उनीहरु आगोको लप्कामा परी घाइते भएका हुन्।’

आगलागीबाट पसलमा कति क्षति भयो भन्ने यकिन भएको छैन। आगो लागेको घरको माथिल्लो तलमा रहेकाहरुको उद्दारका लागि गएका प्रहरीमध्ये ४ जना घाइते भएको डिएसपी दाहालले बताए। आगलागीमा परी रिद्दीकिरण राई, कुमार तामाङ, सलिम मन्सुरी, दिलकुमार आचार्य, चुणामणि प्रधान, दिनेश शर्मा, शिवकुमार बिक, दीपेन्द्र कार्की, सुमन चौधरी घाइते भए।

त्यस्तै, रामनरेश मरिता, विशाल बस्नेत, कौशल गुरुङ, नेत्र भण्डारी, तारामणि लिम्बू, राजन लिम्बू, कैलाश गुरुङ, अलिबाबु मन्सुर, तारमान सारेन, राजन लुँइटेल, मनबहादुर घिसिङ, प्रशान्तविट व्यापारीका साथै सुजन सेम्बाङ, लालबहादुर लिम्बू, विविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल, करण संग्रौला, रवि तामाङ घाइते भएका हुन्।  

'घाइतेमध्ये १०/१२ जना गम्भीर प्रकृतिका भएको हुँदा उनीहरुलाई थप उपचारका लागि काठमाडौ पठाउन लागेका छौँ', डिएसपी दाहालले भने, ‘क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। पसल सञ्चालक स्वयम् घाइते भएको हुँदा क्षति यकिन हुन सकेको छैन।’

त्यसैगरी, आइतबार राति ९ बजेतिर विराटनगर–७ शनि मन्दिर नजिक अनुज लाखेको घरमा आगलागी भएको थियो। आगलागी हुनसाथ तत्कालै दमक र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीमा परी मानवीय क्षति नभएको र धनमाल करिब २५ लाखको क्षति भएको डिएसपी दाहालले बताए।

उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोशी प्रदेश सरकारले समन्वय गरेको छ। आगलागीबाट जलेर गम्भीर भएकाहरुको उपचारमा प्रदेश सरकारले समन्वय शुरु गरेको हो। थप उपचारका लागि काठमाडौं लग्न पर्ने घाइतेका लागि अस्पतालसँग प्रदेश सरकारले समन्वय सुरु गरेको मुख्यमन्त्री केदार कार्कीले बताए।  

यहाँका अस्पतालहरूसँग समेत समन्वय गरेर उपचारमा कुनै कसर बाँकी नराख्न भनेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘काठमाडौंको बर्न अस्पतालमा पनि कुराकानी भइरहेको छ। चिकित्सकको सल्लाह बमोजिम घाइतेहरुको काठमाडौं वा यहाँ उपचार हुनेछ। घाइतेको उपचारमा समस्या हुन नदिन प्रदेश सरकार संवेदनशील भएर लागेको छ।’  

प्रकाशित: २७ कार्तिक २०८० ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App