२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा बालबालिकाले सडकमै देउसी भैलो खेल्दा दुर्घटनाको जोखिम बढ्यो

जुम्लामा देउसी भैलो खेल्न भन्दै स-साना बालबालिका सडकमा निस्किएपछि सडक दुर्घटनाको जोखिम बढेको छ। 

कर्णाली राजमार्गको जुम्ला खण्ड सदरमुकाम खलंगादेखि कालिकोटको सीमाना नाग्म सम्मको खण्डमा बालबालिकाहरु सडकमा निस्केर देउसी भैलो खेलिरहेका छन् भने मुगु सडक खण्डको नाग्म देखि आचार्यलिही सम्म सडकमै देउसी खेल्ने गरेका छन्।

उनीहरुले जथभावी सवारीसाधन रोक्ने,महंगो दक्षिणा माग्नेदेखि सडकमा ढुंगामुंढा तेर्साउने र डोरी लगाएर सवारी रोक्ने गरेको सिंजा गाउँपालिका -६ का  वडा अध्यक्ष लालबहादुर बुढाले बताए। उनले भने, 'दक्षिणा नदिने सवारीसाधनमा ढुंगा हान्ने र छाडा शब्दको प्रयोग गर्ने गरेको सुनिएको छ।'  

सोही वडाका हरिचन्द्र रावतले  स्थानीय तह, प्रहरी प्रशासनलाई देउसी भैलोको नाममा सडकमा उत्रिएका बालबालिका रोक्नु पर्ने बताए। 'देउसी भैलो घरदैलोमा गएर राजीखुसीका साथ गाएर दक्षिणा माग्ने चलन हो, तर अहिले देउसी भैलोको नाममा चर्को रकम माग गर्ने अवस्था सिर्जना भइरहेको छ। यो राम्रो संस्कार पक्कै होइ',उनले भने।

तातोपानी क्षेत्रको धौलापानी,जर्मी,तातोपानी,लिताकोट,राँका, बाइराँका,तिलाको कुडारी,त्रिबेणी,डुण्डेली र रारा बजार आसपासमा सडकमा बालकबालिकाहरु बसेर चक्काजाम गर्नेदेखि रकम माग्ने गरेका हुन्। तातोपानीस्थित लाम्रा प्रहरीचौकी, तिलाको,कुडारी र रारालिही प्रहरीचौकी पनि रमिते बनेको स्थानीयले गुनासो गरेका छन्।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले सडक नै बन्द गरेर देउसी खेल्न नपाइने बताए। उनले भने, 'एक त बालबालिका सडकमा आउनु राम्रो होइन। त्यसैमा देउसीको नाममा सडक नै जाम हुने गरेर सवारीसाधन रोक्न पाइदैन।' उनका अनुसार सडक आसपासका प्रहरीचौकी र स्थानीयतहलाई बालबालिका सडकमा आउन नदिन निर्देशन गरिएको छ। 

प्रकाशित: २६ कार्तिक २०८० ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App