१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

‘राष्ट्रपतिज्यू ! अब हामी कहाँ जाने ?’

‘राष्ट्रपतिज्यू ! भूकम्पले घर लग्यो। घरसँगै सारा सपना पनि लग्यो। घरभित्र च्यापिएर परिवारका सबै घाइते भयौं । तीन छोरा र बुहारी जाजरकोट अस्पतालमा छन्। म एक्लै यहाँ छु, हामी अस्पतालबाट फर्केपछि कहाँ जाने हो ?’ कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेकी जाजरकोटको भेरी नगरपालिकाकी मेनुका विकले आँसु झार्दै पीडा पोख्दा राष्ट्रपति रामचन्द्र पौडेल पनि भावुक बने। ‘तपाईंहरूसँग सरकार छ, सरकारले उद्धार र उपचार गरेजस्तै घर पनि बनाएर दिन्छ,’ राष्ट्रपतिले मेनुकालाई शान्त्वना दिँदै भने, ‘लोकतन्त्रमा कसैलाई पनि घरबारविहीन बनाउँदैनौं, पहिला तपाईं सञ्चो हुनुहोस्, अरू चिन्ता लिनु पर्दैन।’

राष्ट्रपतिले अर्को शड्ढयाका बिरामीलाई भेट्दै गर्दा मेनुकाले जाजरकोट अस्पतालमा उपचार गराइरहेका छोरा–बुहारीको अवस्थाबारे सोधीखोजी गरिन्। राष्ट्रपतिसँगै रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जाजरकोटमा उपचार गराइरहेका सबैको अवस्था सामान्य रहेको बताउँदै थप उपचार गर्नुपर्ने एकजनालाई सँगै ल्याएर आएको जानकारी दिए। उपप्रधानमन्त्री खड्काले यसो भन्दा मेनुकाको अनुहारमा केही उज्यालो देखियो।

भूकम्पले घर भत्काएपछि च्यापिएकी जाजरकोटकी लक्ष्मी सुनारको शरीरको तल्लो भाग चलेको छैन। उनको टाउकोमा पनि गम्भीर चोट देखिएपछि अस्पतालले सिटी स्क्यान गर्‍यो। राष्ट्रपति पौडेल उनको स्वास्थ्य अवस्था बुझ्न शड्ढया नजिकै पुगे। ‘अस्पतालबाट छुट्टिएपछि कहाँ बस्ने चिन्ता छ, घर पनि छैन, के गरेर खाने भन्ने चिन्ता छ,’ उनले राष्ट्रपतिसँग भनिन्, ‘तल्लो शरिर चल्दैन, यस्तै रह्यो भने अब काम गरेर पनि खान सकिन्न होला, बाससँगै गासको पनि व्यवस्था गरिदिनुहोला।’ राष्ट्रपतिले उनलाई घर बनाउला नि भन्दै शान्त्वना दिए।  

‘भूकम्पका बेलाका कुरा भुल्नुहोस्, पहिले तपाईंको स्वास्थ्य ठिक होस्, अनि बस्ने, खाने व्यवस्था सरकारले गरिदिन्छ।’ मंगलबार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका राष्ट्रपति पौडेलले सुर्खेतमा उपचार गराइरहेका घाइतेको पनि अवस्था बुझेका हुन्।  

जाजरकोट जिल्ला अस्पतालमा पनि उनले घाइतेसँग भेट गरेका थिए। त्यहाँ उनले घाइतेको उपचार, पुनस्र्थापना र पुनर्निर्माणका विषयमा काठमाडौं फर्किएपछि सरकारसँग कुरा गर्ने बताएका थिए। ‘घाइतेको तत्काल उद्धार गरेर सरकारले प्रभावकारी उपचार गराइरहेको पाएँ,’ जाजरकोट र सुर्खेतमा घाइतेसँगको भेटका क्रममा उनले भने, ‘थप उपचार गर्नुपर्ने भए सरकारले काठमाडौं पनि लैजान्छ । सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ, उपचारबारे कसैले चिन्ता नलिनुहोला।’

राष्ट्रपति पौडेलले जाजरकोटको भेरी नगरपालिकामा भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गरी भूकम्पको केन्द्रबिन्दु बारेकोटको रामीडाँडा पनि पुगे। रामीडाँडामा स्थानीयसँग भेटमा राष्ट्रपति पौडेलले घाइतेको उद्धार र उपचार प्रभाकारी देखिएको बताउँदै पीडितलाई राहत र घर निर्माणका विषयमा सरकारसँग कुरा गर्ने बताएका थिए। ‘तपाईंहरूसँग सरकार छ, केही चिन्ता लिनुपर्दैन्, आवश्यक राहत सामग्री आइरहेको छ, आउने क्रममा छ,’ बारेकोटमा राष्ट्रपतिले भने, ‘तत्काल राहत सामग्री र भत्किएका घर निर्माण विषयमा सरकारसँग छलफल हुन्छ।’

राष्ट्रपतिसँगै रहेका उपप्रधानमन्त्री खड्काले पीडितका हातहातमा राहत पुग्न थालेको बताउँदै चाँडै भत्किएका घरहरूको पुननिर्माण र पुनस्र्थापनाको काम सुरु हुने बताए। ‘जसरी हामीले तत्कालै राज्यको सबै जनशक्तिलाई घाइतेको उद्धारमा लगायौं, राहत सामग्री पु¥यायौं, त्यसैगरी सरकारले घरवासबिहीन भएर बारीको बासमा पुग्नुभएका सबैलाई घर बनाएर दिन्छ।’

बिरामी लगेर काठमाडौं फर्किए राष्ट्रपति

राष्ट्रपति पौडेलले जाजरकोट अस्पतालमा उपचार गराइरहेका भूकम्पका एक घाइतेलाई काठमाडौं लगेर गएका छन्। खुट्टा र ढाडमा चोट लागेका नलगाढ नगरपालिका–१ पालीका वीरे पुनलाई पौडेलले जाजरकोटबाट सुर्खेतसम्म हेलिकोप्टरमा र सुर्खेतबाट नेपाली सेनाको जहाजमा काठमाडौं लगेका हुन्। वीरेकी छोरी ललिताले जाजरकोट अस्पताल पुगेका राष्ट्रपति पौडेलसमक्ष बुवालाई सुर्खेत अथवा काठमाडौं लगेर उपचार गर्न चाहेको बताएकी थिइन्। ‘राष्ट्रपतिले काठमाडौं जानका लागि तयार गर्न भन्नुभयो,’ ललिताले भनिन्, ‘पहिले हामीलाई सुर्खेत पठाउनुभयो, पछि उहाँसँगै जहाजमा काठमाडौं आइपुग्यौं।’

वीरे सदरमुकाममा होटेल व्यवसाय गर्थे । नजिकै उनको घर पनि थियो। भूकम्पले होटेलसँगै घर पनि ढल्यो। होटलमै रहेका उनी च्यापिए। केही समयपछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेर अस्पताल पुर्‍याए। ‘बाहिर देखिने घाउ नभए पनि ढाड चलेको छैन, राम्रो अस्पतालमा लैजाँदा चाँडो निको होला भनेर राष्ट्रपतिज्यूलाई आग्रह गरेकी थिएँ,’ उनले भनिन्, ‘काठमाडौंमा बुवाको उपचार सुरु भएको छ, चाँडै निको हुने आशामा छौं।’

प्रकाशित: २२ कार्तिक २०८० ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App