१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोतसाधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटको विद्युत् आपूर्तिमा अवरोध पैदा भएको थियो। सूचना तथा सञ्चारका लागि बिजुली अत्यावश्यक भएकाले तत्काल साधन र स्रोत परिचालन गर्न प्राधिकरणलाई मन्त्री बस्नेतले निर्देशन दिएका हुन्।

भूकम्पका कारण प्राधिकरणको संरचनामा के कति क्षति भयो भन्नेबारे समेत आवश्यक विवरण सङ्कलन तथा सहज बिजुली आपूर्तिका लागि मन्त्री बस्नेतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन्। मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत हुन्।

रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख शिव साहले स्थानीय राडीबजार अस्पतालमा बिजुली उपलब्ध भइसकेको जानकारी दिए।

भूकम्पका कारण खम्बा ढलेर अवरुद्ध भएका प्रसारण तथा वितरण लाइन मर्मतसम्भारमा सम्पूर्ण जनशक्ति परिचालित भएको उनको भनाइ छ। आज साँझसम्म भूकम्प प्रभावित सबै स्थानमा बिजुली उपलब्ध गराउने र नजिकका कार्यालयबाट समेत जनशक्ति परिचालित गरिएको साहले जानकारी दिए।

भूकम्पबाट क्षतिग्रस्त भएका घर तथा अन्य संरचनाको लाइन काटेर अवस्थाको मूल्याङ्कन गरेर जोडन विभिन्न समूह नै बनाएर टोली परिचालन गरिएको छ। भूकम्पबाट क्षतिग्रस्त संरचनाको यथार्थ विवरण नलिइ लाइन जोड्दा थप दुर्घटना हुने भएकाले त्यसलाई विशेष ख्याल गरिएको कार्यालयको भनाइ छ।

प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकप्रसाद कलवारका अनुसार रुकुम पश्चिम र जाजरकोट जोड्ने रिम्नाको पुलमा ११ केभी क्षमताको प्रसारण लाइन र खम्बामा क्षति पुगेको छ। सो स्थानमा प्राविधिकसहितको कर्मचारी, खम्बा र तारसहित जनशक्ति परिचालन गरिएको छ।

बिजुलीको अभावमा टेलिफोनको टावरसमेत नचल्ने तथा स्वास्थ्योपचारमा समेत समस्या हुने भएकाले आवश्यक व्यवस्थाका लागि प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयलेसमेत आवश्यक सहजीकरण गरिरहेको छ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालमा विद्युत आपूर्ति गरिएको बताए।

यादवले घर भत्किएको ठाउँमा उद्धार जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे। उनले धेरै घर भत्किएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको बताए।  

प्रकाशित: १८ कार्तिक २०८० ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App