१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलमा हमास हमला

थप दुई शव आए, तीन अझै बाँकी

इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप दुईजनाको शव २८औं दिनमा शुक्रबार नेपाल ल्याइएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–११, मधुवनका राजेशकुमार स्वर्णकार र डोटीको शिखर नगरपालिका–६, पचनालीका राजन फुलाराको शव ल्याइएको हो। फुलाराको शव बिहान र स्वर्णकारको शव दिउँसो पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै जनाको शव विमानस्थलबाट लगेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए। ‘अब बाँकी तीन शव इजरायलबाट आएपछि एकैसाथ नेपाली सेनाले घरमै लगेर आफन्तलाई हस्तान्तरण गर्नेगरी अस्पतालमा राखिएको हो,’ उनले भने, ‘यसबारे मृतकका परिवारलाई जानकारी गराइएको छ।’

इजरायलमा अझै तीन विद्यार्थीका शव छन्। शारदा नगरपालिका–३, सल्यानका प्रवेश भण्डारी, सपही–६, धनुषाका आनन्द साह र डोटीको आदर्श गाउँपालिका–५ का पदम थापाको शव पनि ल्याउने प्रक्रिया पूरा भइसकेको छ।

‘बाँकी तीन शव पनि ल्याउन तयारी अवस्थामा राखिएको छ। जहाजमा सिट मिल्नासाथ ल्याइन्छ,’ सहसचिव आरणले भने। उनका अनुसार शनिबारसम्म बाँकी सबै शव ल्याउने तयारी छ।

यसअघि पाँचजनाको शव कात्तिक ४ गते ल्याएर दोस्रो दिन नै मृतकका आफन्तलाई हस्तान्तरण गरिएको थियो। कात्तिक ४ गते घोडाघोडी नगरपालिका-४, कैलालीका नारायणप्रसाद न्यौपाने, लेकम गाउँपालिका-५, दार्चुलाका दीपेशराज बिष्ट, मालिकार्जुन-४, दार्चुलाका लोकेन्द्रसिंह धामी र जोशीपुर गाउँपालिका-३, कैलालीका आशिष चौधरीको शव ल्याइएको थियो। उनीहरूको शव सहजै पहिचान भएकाले इजरायलले समयमै तेल अभिभस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरेको थियो।

बाँकी पाँच शव पहिचानमा समस्या भएपछि इजरायलले परिवारका सदस्यको ‘डिएनए’ र अन्य पहिचान खुल्ने विवरण मागेको थियो। डिएनएसहितको विवरण नेपालबाट इजरायल पुगेपछि फुलारा, थापा र भण्डारीको शव कात्तिक १२ गते र साह र स्वर्णकारको शव १३ गते पहिचान भएको थियो।

शव पहिचान भइसकेपछि जहाजमा सिट नमिलेकाले ल्याउन ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शव ल्याउन लाग्ने खर्च इजरायल सरकारले बेहोरेको छ। महिनादिन पुग्न लाग्दा पनि शव नपाउँदा परिवारजनको शोक लम्बिएको छ।

प्यालेस्टिनी समूह हमासले असोज २० (अक्टोबर ७) गते इजरायलमा हमला गरेको थियो। उक्त हमलामा परी नेपालबाट ‘लर्न एन्ड अर्न प्रोग्राम’ अन्तर्गत त्यहाँ गएका १० जना विद्यार्थीहरूको ज्यान गएको थियो।

हमलामा चारजना विद्यार्थी घाइते भएका थिए। हमलामा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३, झाँसीका विपीन जोशी बेपत्ता छन्। उनी हमासले युद्धबन्दीका रूपमा बन्धक बनाएर राखेको आशंका छ।

प्रकाशित: १८ कार्तिक २०८० ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App