वैदेशिक रोजगारीका सिलसिलामा बिदेसिनेहरू धनुषा जिल्लाका सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोजसम्म धनुषाबाट वैदेशिक रोजगारीमा जानेको संख्या ७ हजार ८२२ रहेको छ।
वैदेशिक रोजगार विभागका अनुसार उनीहरू म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन्। अघिल्लो वर्ष पनि धनुषा एक नम्बरमै थियो। वैदेशिक रोजगारीमा जानेको संख्या हरेक वर्ष बढे पनि अन्य जिल्लाले धनुषालाई उछिन्न सकेका छैनन्। तर चालु आवको असोजमा भने झापा जिल्लाबाट सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि बिदेसिएको विभागको तथ्यांक छ।
स्वदेशमा बढ्दो बेरोजगारी र आर्थिक अवस्थाले पीडित मधेसी युवाको घरपरिवार चलाउने भरपर्दो माध्यम वैदेशिक रोजगारी बनेको छ। स्वदेशमा भरपर्दो रोजगारी नहुँदा अहिलेका युवाको उद्देश्य भनेकै बिदेसिनु हो। एकपटक वैदेशिक श्रमबाट कमाएको पैसाले नपुगेर दोहो¥याएर बिदेसिनेको संख्यासमेत मधेसमा अत्यधिक छ। यो समस्याले मधेसमा मात्र नभएर सिंगो देशलाई नै पिरोलेको छ।
वैदेशिक रोजगारीमा जाने युवा सबैभन्दा बढी मधेसका ६ वटा जिल्लामा रहेको विभागको तथ्यांकले देखाएको छ। सुरुमा धनुषा र त्यसपछि क्रमशः महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट छन्। लुम्बिनी प्रदेशको रूपन्देहीबाट वैदेशिक रोजगारीमा सबैभन्दा बढी युवा बाहिरिएका छन्।
धनुषापछि दोस्रोमा वैदेशिक श्रमका लागि बाहिरिनेमा झापाका छन्। चालु आवको असोजसम्म उक्त जिल्लाबाट ७ हजार ७२७ जना युवा बिदेसिएका छन्। त्यस्तै मोरङबाट ६ हजार ६५४ जना, महोत्तरीबाट ५ हजार ८१५ जना, सुनसरीबाट ५ हजार ३१४ जना र रूपन्देहीबाट ५ हजार २०६ जना बिदेसिएका छन्।
आर्थिक अवस्था सुधार्न घरपरिवार छाडेर बिदेसिन बाध्य अधिकांश युवा प्रायः मधेसबाट हुने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।
‘पारिवारिक समस्या समाधान गर्न, बालबालिकालाई पठनपाठन गराउन, परिवारमा आर्थिक पाटो कमजोर भएपछि निम्तिने झैझगडा साम्य पार्न र ऋणको बोझबाट उन्मुक्ति पाउन युवाहरू बिदेसिन जान बाध्य छन्,’ उनले भने।
आर्थिक अवस्था सुधार्न घरपरिवार छाडेर बिदेसिन बाध्य अधिकांश युवा प्रायः मधेसबाट हुने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।
मधेसबाट अधिकांश युवा मजदुरी गर्न खाडी मुलुक जाने गरेको भुसालको भनाइ छ। ‘प्रायः अशिक्षित युवा हुन्छन्,’ उनले भने, ‘उनीहरूले न त राम्रो सीप सिकेका हुन्छन् न त उनीहरूलाई कामबारे जानकारी हुन्छ। यस्तोमा कतिपय दलालबाट ठगीको सिकार हुने र पछि ऋणको भारले थिचिनेसमेत गर्छन्।’
चालु आव सुरु हुँदै गर्दा सबैभन्दा धेरै नेपाली मजदुरीका रूपमा लागि बाहिरिएको देखिन्छ। त्यसैगरी कारखाना तथा निर्माण क्षेत्रमा काम गर्न, सरसफाइ गर्न नेपालीहरू बिदेसिन्छन्। श्रमिक, घरेलु कामदार र सुरक्षा गार्डका रूपमा पनि धेरै नेपाली बिदेश जान्छन्। म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा वेटर र परामर्शदातालगायतका रूपमा विदेश जानेहरू पनि रहेको तथ्यांकले देखाएको छ।
वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र मलेसियाका लागि श्रम स्वीकृति लिइएको देखिन्छ। वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक खाडी र मलेसिया बन्दै गर्दा नेपाली कामदारका लागि जोखिमपूर्ण भूमि पनि तिनै बनेका छन्। बिदेसिनेको संख्या बढ्दै गर्दा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली र त्यहाँ मृत्यु हुने नेपालीको औसत संख्या विगत लामो समयदेखि घट्न सकेको छैन। मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आवको असोजमा मात्रै ५६ हजार २३५ जना युवा रोजगारीकै खोजीमा विदेश गएका छन्, जसमा ४९ हजार ३९८ जना पुरुष र ६ हजार ८३७ महिला छन्।
साउनमा पनि सोही संख्याको हाराहारीमा बिदेसिएका थिए। भदौमा ५० हजार ८८४ जना युवा बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो।
प्रकाशित: १८ कार्तिक २०८० ०१:०८ शनिबार