इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजना विद्यार्थीको शव २६ दिन बित्दा पनि आफन्तले पाएका छैनन् । समयमै शव पहिचान हुन नसक्दा पाँचजनाको शव इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छैन ।
शव समयमै प्राप्त गर्न नसक्दा परिवारजनमा पनि शोक र पीडा लम्बिएको छ । ‘कम्तीमा शवसम्म समयमै हेर्न पाए, दाहसंस्कार गर्न पाए परिवार सम्हाल्न सकिन्थ्यो कि,’ मृतक विद्यार्थी आदर्श गाउँपालिका–५ डोटीका पदम थापाका दाजु रामबहादुर थापाले भने, ‘यहाँ त बुवाआमाको आँखाको आँसु थाम्नै नसकिने भइसक्यो ।’ उच्च रक्तचापका रोगी बुवा टीका थापा पदमको मृत्युको खबर सुनेसँगै पटक–पटक बेहोस भइसकेको रामबहादुरले बताए । ‘१०/१२ दिनसम्म त भन्दै भनेनौं । रेडियो, मोबाइल फोनबाट समेत टाढा राख्यौँ । धेरै दिन भएपछि भन्नै पर्यो, भनेपछि चारपटक अस्पताल नै लगिसक्यौं,’ उनले भने । आमा गोमती थापाको अवस्था झन् नाजुक रहेको उनी बताउँछन् ।
थापाको परिवार मात्र होइन, अन्य मृतकको घरमा पनि शोक लम्बिएको छ । ‘समयमा शव पाए, दाहसंस्कार गर्न पाए कम्तीमा शोक छोटो रहन्थ्यो होला,’ डोटीको शिखर नगरपालिका–६, पचनालीका मृतक राजन फुलाराका नातेदार ओम फुलारा भन्छन्, ‘एक्लो छोरो नै बितेपछि शोकमा डुबेका आमाबुवा रातदिन रोइरहेका छन् ।’
पहिचानमा ‘डिएनए’ सहारा
इजरायलमा असोज २० गते हमास समूहले गरेको हमलामा परी नेपालका १० जना विद्यार्थीले ज्यान गुमाएका थिए । नेपालबाट ‘लर्न एन्ड अर्न प्रोग्राम’ अन्तर्गत गएका विद्यार्थी दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरमा प्रशिक्षणरत थिए । त्यहीं हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । आक्रमणबाट चारजना घाइते भएका थिए भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३, झाँसीका विपीन जोशी बेपत्ता छन् । पाँचजनाको शव सहजै पहिचान भएको थियो । जसमा घोडाघोडी नगरपालिका–४, कैलालीका नारायणप्रसाद न्यौपाने, लेकम गाउँपालिका–५, दार्चुलाका दीपेशराज बिष्ट, मालिकार्जुन–४, दार्चुलाका लोकेन्द्रसिंह धामी र जोशीपुर गाउँपालिका–३, कैलालीका आशिष चौधरी थिए ।
पहिचानपछि इजरायल सरकारले कात्तिक ४ गते उनीहरूको शव तेल अभिभस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरेको थियो । पाँचवटै शव नेपाल ल्याएर ५ गते मृतकका आफन्तलाई हस्तान्तरण गरिएको थियो ।
बाँकी पाँच जनाको शव पत्ता लगाउन इजरायलले डिएनए र अन्य थप पहिचान खुल्ने विवरण माग गरेको थियो । पहिचान खुल्न नसकेका मृतकमा डोटीका राजन फुलारा र पदम थापा, शारदा नगरपालिका–३, सल्यानका प्रवेश भण्डारी, सपही–६ धनुषाका आनन्द साह र बराहक्षेत्र नगरपालिका–११, मधुवन सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
‘इजरायल सरकारबाट बाँकी शवको पहिचान गर्न सक्ने स्थिति नदेखिएको कुरा आएपछि डिएनए र थप पहिचान खुल्ने विवरण पठाएका थियौं,’ परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले भने, ‘त्यसको सहयोगमा बल्ल पहिचान भएको खबर प्राप्त भएको छ ।’ उनका अनुसार यसक्रममा मन्त्रालयले मृतकका आफन्तको डिएनए र उनीहरूको पहिचान खुल्ने शारीरिक विवरणहरू पठाएको थियो ।
नेपालबाट यसरी डिएनएसहितका थप विवरण पठाएपछि फुलारा, थापा र भण्डारीको शवको पहिचान कात्तिक १२ गते, साह र स्वर्णकारको शव कात्तिक १३ गते पहिचान भएको नेपाली दूतावासले जनाएको छ ।
शव पहिचान भए पनि कहिले ल्याउने भन्ने विषय अझैं अनिश्चित छ । परराष्ट्र मन्त्रालयले भने यथाशीघ्र ल्याउने जनाएको छ ।
‘उता शव पहिचानका प्रोटोकलहरू पूरा भइसकेका छन् । नेपाली राजदूतावासले जहाजमार्फत पठाउने प्रबन्ध मिलाउने कोसिस गरिरहेको छ,’ मन्त्रालयका सहसचिव आरणले भने, ‘जहाजको जोहो मिलेलगत्तै नेपाल ल्याइनेछ ।’ उनका अनुसार सम्भवतः बिहीबार पनि नेपाल ल्याउन सकिने अवस्था छ । ‘नेपाल ल्याएलगत्तै सम्बन्धित परिवारसमक्ष छरितो ढंगबाट पु¥याउने तयारी छ,’ आरणले भने ।
घाइते चार विद्यार्थीमध्ये दुईजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । तीमध्ये एकजना नेपाल आइसकेका छन् भने एक दूताबासमै आश्रय लिएर बसिरहेका छन् । दुई जना अझै उपचाररत छन् । कञ्चनपुरका जोशीको अवस्था भने अझै खुल्न सकेको छैन । उनको अवस्था पत्ता लगाउन परिवारले निरन्तर हारगुहार गरिरहेको छ । ‘दिनहुँ खबर बुझ्ने कोशिस गरिरहन्छौं । कोही कसैबाट पनि केही सूचना पाइएको छैन,’ विपीनका दाजु नाता पर्ने किशोर जोशी भन्छन्, ‘उसका साथीहरूको कुरा सुन्दा हमास समूहले कब्जा गरेर लगेको छ भन्ने लाग्छ । इजरायलबाहिर नै छ कि भन्ने उनीहरू भन्छन् ।’
प्रकाशित: १६ कार्तिक २०८० ००:५८ बिहीबार