अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधार शिविर । आधार शिविर समुद्री सतहबाट चार हजार एक सय ३० मिटर उचाइमा छ । यो बेला त्यहाँ दिनमा स्वदेशी र विदेशी गरी चार सय हाराहारीमा आन्तरिक र बाह्य पाहुना उक्लिरहेका छन् । तिनै पाहुनाको भीडमा मिसिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहानै हेलिकोप्टरबाट आधार शिविर जाँदैछन् ।
नेपाल भ्रमणमा रहेका गुटेरेस आधार शिविर जाने गरी सोमबार मध्यान्ह सेनाको हेलिकोप्टर चढेर पोखरा आएका छन् । पोखराबाट आज बिहान साढे ६ बजे नै आधार शिविरका लागि उड्नेछन् । हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रत्यक्ष अवलोकन गर्ने र स्थानीयसँग प्रत्यक्ष छलफल गर्नका लागि महासचिव गुटेरेस आधार शिविर पुग्ने र त्यहीअनुसार महासचिवलाई ब्रिफिङ गर्ने तयारी गाउँपालिकाको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी भन्छन्, ‘राष्ट्रसंघका महासचिव जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न र प्रत्यक्ष अवलोकन गर्न यहाँ (आधार शिविर) आउँदै हुनुहुन्छ । हामीले पनि त्यसैअनुसार उहाँ (गुटेरेस) लाई जानकारी दिँदै छौ ।’ तीन दशकअघिको आधार शिविर क्षेत्र निकै फेरिएको र त्यसको एक मात्र कारक जलवायु परिवर्तन रहेको केसीले बताए ।
‘यति धेरै कटान भएको छ कि तीन दशक अघिसम्म भिरालो ठाउँ हिमपहिरोले कटानको मारमा परेर सकिनै लागेको छ । खोल्साखोल्सीको आकार बढेको छ । बेलाबेला हिमपहिरो र हिमपात हुँदाको वितण्डा उत्तिकै हुने गरेको छ । यी घटना पछिल्लो दशक निकै बढेको छ’, महासचिव गुुटेरेसलाई सुनाउने बुँदाबारे गाउँपालिका अध्यक्ष केसीले भने, ‘जलवायु परिवर्तनको वास्तविकता बुुझ्न आधार शिविर गतिलो गन्तव्यका रूपमा महासचिवले छनोट गर्नुभएको छ । हामीले पनि त्यहीअनुसार उहाँलाई ब्रिफिङ गर्ने हो ।’ गाउँपालिकाले जलवायु परिवर्तनले अन्नपूर्ण आधार शिविर क्षेत्रमा पारेको असरबारे लिखित रूपमै जानकारी गराउने तयारी गरेको अध्यक्ष केसीले बताए ।
अध्यक्ष केसीका अनुसार महासचिव गुटेरेसको स्वागतका लागि आधार शिविरमा भव्य तयारी भएको छ । गुटेरेस करिब ३५ मिनेट मात्र आधार शिविर क्षेत्रमा रहने उनले बताए । ‘राष्ट्रसंघका महासचिवसँग हामीले विकास निर्माणका कुरा गरेर भएन । राजनीतिक कुरा गरेर भएन । उहाँको चासोअनुसार हामीले पनि जानकारी दिने हो’, उनले भने, ‘अन्नपूर्ण आधार शिविरको हिजोको र आजको अवस्थाबारे उहाँले जान्न चाहनुभएको छ । हामी पनि त्यहीअनुसार जानकारी दिने तयारीमा छौं ।’
पर्यटन व्यवस्थापन समिति छोमरोङका अध्यक्ष जगनराज गुरुङका अनुसार आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनले निकै असर पारेको छ । ‘यो क्षेत्रमा पर्याप्त मात्रामा हिमताल थिए । ती हिमताल हेर्दाहेर्दै सुकेका छन् । यसको कारण जलवायु परिवर्तन नै हो’, अध्यक्ष गुरुङले भने, ‘कटान पनि उत्तिकै छ । पानी पर्ने र हिउँ पर्नेको कुनै समय नै छैन । हिजोसम्म पानी नपर्ने ठाउँमा बाढीको त्रास बढ्दै छ । हिमपहिरोको त्रास झनै बढी छ । हामीले राष्ट्रसंघका महासचिवलाई यस्तै परिवर्तनबारे जानकारी दिने हो ।’
उनका अनुसार हिमताल सुक्ने मात्र नभई केही वर्ष अघिसम्मका साना खोल्सी बढेर फराकिला खोला बनेका छन्, त्यो हुनुको कारण हिमपहिरो हो, जसलाई जलवायु परिवर्तनले निम्त्याएको छ । त्यसबाहेक आधार शिविर क्षेत्रमा बेमौसममै हिमपात हुन थालेको छ । केही वर्षअघिसम्म पानी नपर्ने आधार शिविर क्षेत्रमा बढी पानी पर्न थालेको उनले बताए । ‘जलवायुु परिवर्तनले त वास्तवमा हामीमाथि निकै सकस थपेको छ’, उनले भने, ‘यहाँको कटान, हिमपात र हिमपहिरोको जोखिम, हिउँ पग्लने गतिबारे जानकारी दिने छौं ।’
पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलिप गुरुङ पनि जलवायु परिवर्तनको वास्तविक अवस्थाबारे यो तहका पदाधिकारीलाई पहिलोपटक जानकारी दिन पाउँदा खुसी लागेको बताउँछन् । ‘जलवायु परिवर्तनको असरबारे हामीले नेपाल सरकारलाई त जानकारी गराएकै छौं; राष्ट्रसंघलाई सीधै देखाउने र बुझाउने अवसर पनि आएको छ । विकसित मुलुकका कारण हामी मारमा छौं । यो समस्या बुुझाउन पाउनु हाम्रा लागि अवसर हो’, उनले भने । पर्यटकीय क्षेत्रमा यो तहका पाहुना जान थालेकाले महासचिव गुटेरेसको भ्रमणले पर्यटन प्रवद्र्धनमा पनि सघाउने उनले बताए ।
तथ्यांकअनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए । उनै हर्जोग समूहले अन्नपूर्ण नर्थ बेसक्याम्प क्षेत्रबाट सो हिमालको आरोहण गरे पनि दक्षिणपट्टिको कास्कीको अन्नपूर्ण बेसक्याम्प बढी चर्चामा रहेको थियो । त्यही आधार शिविर बर्सेनि हजारांै स्वदेशी र विदेशी पाहुना घुम्न जाने महत्वपूर्ण गन्तव्य बनेको छ ।
प्रकाशित: १४ कार्तिक २०८० ०२:०६ मंगलबार