११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालबाट जलवायु संकटको प्रमाण जुटाउन चाहन्छन् गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनलाई भ्रमणको प्रमुख अजेन्डा बनाएका छन् । जसले गर्दा जलवायु परिवर्तनलाई विकासको प्रमुख विषय बनाउन नेपाललाई दबाब बढेको छ । भ्रमणले जलवायु संकट सम्बोधनका लागि आवश्यक जलवायु कार्यको प्रभावकारी कार्यान्वयनमा नेपाल गम्भीर हुनुपर्ने सन्देशसमेत दिएको छ ।

विषम भूगोल र हावापानीका कारण जलवायुजन्य जोखिमका हिसाबले विश्वमा अग्रणी सूचीमा नेपाल पर्छ । सोमबार सबेरै सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीयसँग जलवायु परिवर्तन र यसले स्थानीय जनजीवनमा पारेको प्रभावबारे अन्तरक्रिया गरेका महासचिव गुटेरेसले अपराह्न सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘आज मैले सगरमाथाको आधार शिविरबाट हिमालयमा जलवायु संकटले निम्त्याएको डरलाग्दो प्रभाव देखें । तापक्रम बढ्दै जाँदा हिमनदी पग्लेर समग्र समुदायको जीवन र जीवनयापनमा संकट थपिएको छ ।’ उनले एक्समा राखेको भिडियोमा भनेका छन्, ‘हिमनदी पग्लन अथवा खुम्चिन सक्छन् तर हामी पग्लन सक्दैनौं । सही जलवायु कार्यका साथ हामी अगाडि बढ्नुपर्छ ।’

नेपालमा हुने यसअघिका उच्चस्तरीय कूटनीतिक भ्रमणमा जलवायु परिवर्तनको विषय समावेश हुने भए पनि यति धेरै महत्त्व दिने गरिएको थिएन । संयुक्त राष्ट्रसंघको उच्च पदको दोस्रो पदावधि सम्हालिरहेका गुटेरेसले सात वर्षयता यो मुद्दालाई जोडतोडका साथ उठाउँदै आएका छन् । जलवायु परिवर्तनको गम्भीरताका विषयमा उनले बेलाबखतमा व्यक्त गर्ने भनाइ निकै चर्चामा रहन्छन् । पृथ्वीको सरदर तापमानले गत जुलाईमा सर्वाधिक रेकर्ड राखेपछि उनले भनेका थिए, ‘जलवायु परिवर्तन सुरु भइसकेको छ । यो डरलाग्दो छ । यो केवल सुरुआत हो । पृथ्वी अब तात्ने चरण पार गरेर उम्लने चरणमा प्रवेश गरेको छ ।’

गुटेरेसले भनेझैं युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सन् १९४० देखि तापक्रमको रेकर्ड राख्न सुरु भएयता सन् २०२३ सबैभन्दा तातो वर्ष हुने हालै प्रक्षेपण गरेको छ । औद्योगिक क्रान्ति सुरु हुनुअघिको सरदर तापमानभन्दा यो वर्ष १.४ डिग्री सेन्टिग्रेडले तापक्रम वृद्धि भएको उक्त संस्थाले जनाएको छ । पृथ्वीको बढ्दो सरदर तापमानका कारण यो वर्ष युरोप, उत्तर अमेरिकामा र चीनमा भीषण गर्मी भएको थियो । यसै वर्ष विश्वका कतिपय स्थानमा विषम मौसम, खडेरी, जंगली आगो, भारी वर्षा, बाढीजस्ता घटनाहरूमा बढोत्तरी भएको छ ।  

आफ्नो दोस्रो पाँच वर्षे पदावधि सुनिश्चित भएपछि सन् २०२१ मा महासचिव गुटेरेसले जारी गरेको ‘संयुक्त राष्ट्रसंघका लागि आगामी पाँच वर्ष’ नामक दृष्टिपत्र (भिजन स्टेटमेन्ट) मा अहिले मानवता प्रकृतिसँगको युद्धमा होमिएको उल्लेख गरेका थिए । ‘वर्तमान विश्वका लागि जलवायु परिवर्तन, जैविक विविधता ह्रास तथा प्रदूषण तीन प्रमुख संकट हुन् र यसले मानवतालाई समेत गम्भीर चुनौती खडा गरेको छ,’ उनले उक्त दृष्टिपत्रमा भनेका छन् । गत वर्ष इजिप्टमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) मा उनले भनेका थिए, ‘हामी जलवायु नर्कको राजमार्गमा छौं, हाम्रो खुट्टा अझै पनि एक्सिलेटरमा छ ।’ विशेषगरी उनी कार्बन उत्सर्जन अत्यधिक गर्ने तेल उत्पादक कम्पनी तथा अत्यधिक उत्सर्जन गर्ने धनी राष्ट्रप्रति आक्रामक रहँदै आएका छन् ।  

के भन्छन् विज्ञ ?

जलवायु तथा वैदेशिक नीतिका विज्ञहरूले यो भ्रमणलाई जलवायु परिवर्तनको गभीरतालाई अन्तर्राष्ट्रिय स्तरमा पैरवी गर्ने महासचिव गुटेरेसको चाहनासँग जोडेका छन् ।

सन् २०२१ मा बेलायतको ग्लास्गोमा जलवायु सम्मेलन (कोप–२६) हुनुअघि सम्मेलनका अध्यक्ष तथा बेलायतका पूर्वमन्त्री आलोक शर्माले मुस्ताङको भ्रमण गरेका थिए । कोप–२६ को उद्घाटन सत्रमा उनले जलवायु संकटले कसरी सर्वसाधारणको जीवनयापनमा प्रभाव पारेको छ र उनीहरू कसरी जबर्जस्ती आफ्ना थातथलो छाड्न बाध्य भएका छन् भन्ने विषय उठाएका थिए । ‘मैले यस वर्ष जलवायु परिवर्तनबाट प्रभावित समुदायसँग वार्तालाप गर्ने अवसर पाएको छु । खडेरी र बाढीका कारण हिन्दकुश हिमालय क्षेत्रमा पर्ने जोमसोमका विस्थापित समुदायसँग मैले कुराकानी गरेको थिएँ,’ शर्माले विश्वका झन्डै २०० देशका नेता सहभागी उक्त सम्मेलनमा भनेका थिए ।  

यसै वर्षको नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२८) हुन लागेको सन्दर्भमा महासचिव गुटेरेसले यो अन्तर्राष्ट्रिय बैठकमा गहिरिँदो जलवायु संकटका विषयमा प्रभावकारी पैरवी गर्न धरातलीय प्रमाण जुटाउन चाहेको देखिन्छ । ‘उनी गत सेप्टेम्बरमा न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघीय क्लाइमेट एम्बिसन समिटले सफलता हात पार्न नसकेकोमा सचेत देखिन्छन्,’ जलवायु परिवर्तन तथा वातावरण राष्ट्रिय परिषद्का सदस्य डा. माधवबहादुर कार्की भन्छन् ।  

राष्ट्रसंघको ७८औं महासभाको अवसर पारेर गरिएको समिटमा विश्वका सबैभन्दा बढी कार्बन उत्सर्जक राष्ट्र अमेरिका र चीनका राष्ट्रपति सहभागी भएनन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी सम्मेलनमा बेलायतका प्रधानमन्त्री रिसी सुनक र फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोन पनि अनुपस्थित थिए । उक्त सम्मेलनमा महासचिव गुटेरेसको चाहना र विश्वका प्रमुख नेताको जलवायु परिवर्तन सम्बोधनप्रतिको प्रतिबद्धतामा ठुलो खाडल देखिएको थियो । ‘जलवायु परिवर्तनका हिसाबले हटस्पट रहेका सगरमाथा तथा अन्नपूर्ण क्षेत्रमा भ्रमण गरेर महासचीव गुटेरेसले यो विषयका लागि बलियो प्रमाण जुटाउन चाहेको देखिन्छ,’ डा. कार्की भन्छन्, ‘मंगलबार संघीय संसद्मा हुने सम्बोधनले यसलाई थप बल दिनेछ ।’  

जलवायु परिवर्तन विज्ञ राजु पण्डित क्षेत्री यसप्रकारको भ्रमणको अवसरमा व्यक्त गरिने प्रतिबद्धताभन्दा पनि नेपालले गर्नुुपर्ने जलवायु कार्यहरूको प्रभावकारी कार्यान्वयन भइरहेको छ वा छैन भन्ने विषय महत्त्वपूर्ण हुने ठान्छन् । उच्च स्तरमा हुने यस्ता भ्रमणले राजनीतिक नेतृत्वलाई जलवायु संकटका धरातलीय यथार्थतासँग जोड्ने बताउँदै क्षेत्री भन्छन्, ‘अब नेपालले पनि यस प्रकारको जलवायु कूटनीतिलाई प्रभावकारी रूपमा अवलम्बन गर्न आवश्यक भइसकेको छ ।’

प्रकाशित: १४ कार्तिक २०८० ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App