१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हुलाकी सडकले आवागमनमा सहज

हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारिका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ।

हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि राप्ती सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर बिष्टले बताए।

‘सडक नबन्दा विद्यालय जानआउन बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्थ्याे’, उनले भने, ‘सडक निर्माण भएपछि अब नेपालगञ्जबाटै आवतजावत गर्न सकिने भएको छ। यो सडक निर्माण भएपछि राप्ती सोनारी गाउँपालिका–१, २, ३, ४, ५ र ६ का वडावासीलाई नेपालगञ्ज पुग्न सहज भएको उनको भनाइ छ। फत्तेपुर, बिनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनिसहज भएको छ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणसमेत भएको छ। सडक निर्माण भएपछि गाउँपालिका कार्यालय जानआउन धेरै सहज भएको राप्ती सोनारी गाउँपालिका– ७ का वडाध्यक्ष रामलखन थारूले बताए।

‘सडक नबन्दा बर्खायाममा गाउँपालिका कार्यालय पुग्न दुःख हुन्थ्यो, हुलाकी सडक बनेपछि धेरै सुबिस्ता भएको छ’, उनले भने, ‘विगतमा बिग्रेको बाटोमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःखकष्ट पाउने गरेकोमा अहिले सडक बनेपछि सबैलाई सहज भएको छ।’

हुलाकी सडक बनेसँगै अहिले पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन्। अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ।

फत्तेपुर नर्सरीदेखि बैजापुरसम्मको सडक निर्माण कार्य जारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले जानकारी दिए। उनका अनुसार, बैजापुरलगायत केही स्थानमा सडक निर्माणको काम भइरहेको छ। सडकमा अन्तिम चरणको कालोपत्रको काम भइरहेको छ।

आगामी कात्तिकसम्म सडक निर्माणको समय रहेको जानकारी दिँदै पाण्डेले सडक निर्माण पूरा नभए पनि हाल स्थानीयलाई आवागमनमा सहजता भएको बताए।

सडक निर्माण भएपछि राप्ती सोनारी गाउँपालिका– १ देखि ७ सम्मका बासिन्दालाई आवागमनमा धेरै सहजता हुने उनको भनाइ छ। नेपालगञ्जबाट हुलाकी सडकअन्तर्गत दक्षिणतर्फ सिधनिया कटकुइँयासम्मको सडकको काम सम्पन्न भइसकेको छ।

प्रकाशित: १२ कार्तिक २०८० ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App