८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

साइकल चढ्दै क्यान्सरसँग लड्दै

काठमाडौंदेखि सिक्किमसम्मको साइकल यात्रामा निस्केका काठमाडौं जोरपाटीका ध्रुवप्रसाद हुमागाईं। तस्बिर: उपेन्द्र/नागरिक

क्यान्सर जीवनको अन्त्य हैन, नयाँ जीवनको सुरुवात पनि हो। यो भनाइलाई यथार्थतामा बदल्दै छन्, जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाई। चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका ध्रुवप्रसाद अहिले आफ्नो जीवन जोगाउन मात्र हैन, अरूको जीवन बचाउनसमेत लागिपरेका छन्।

क्यान्सर लागेपछि उनलाई चिकित्सकले दिएको तीन महिनाको समय कटेको पनि चार वर्ष भइसक्यो। तर उनको जीवनप्रतिको उत्साह झनै बढेको छ। फोक्सोको क्यान्सरसँग लडेका ध्रुवप्रसाद शुक्रबार बिहान बाजागाजासहित साइकलबाट सिक्किम लाग्दै गर्दा उनी विजयी योद्धाजस्तै देखिन्थे।

क्यान्सर लागेको थाहा पाएपछि सुरुका केही दिन निराश बनेका उनले हिम्मत नहारे क्यान्सरलाई पनि पराजित गर्न सकिने बताए। ‘नेपालमा जाँच गराउँदा अन्तिम अवस्था हो, बढीमा तीन महिना भन्ने खबर परिवारलाई दिएको थाहा पाएँ,’ उनले भने, ‘केही समय निराश बनें तर पछि हिम्मतका साथ अगाडि बढें।’

घरमा गाडी र मोटरसाइकल भए पनि सबैसँग सजिलो भेटघाट होस् भन्ने मनशायले साइकल चढ्न थालेको उनले बताए।

साइकल चढ्दा व्यायाम पनि हुने अनि सबै वर्गमा पुग्न सकिने उनले सुनाए। अन्य समयमा पनि दैनिक दुई घन्टा साइकल चढ्ने गरेको उनले बताए।

‘अघिल्लो वर्ष मेची–महाकाली साइकल यात्रा गरेर क्यान्सर पीडितलाई जीवनप्रति उत्साह जगाउने काम गरें,’ सिक्किम जाँदै गरेका उनले भने, ‘अब भारतीय सहरमा पुगेर त्यहाँका क्यान्सर पीडितलाई पनि जीवनप्रतिको आशा जगाउने काम गर्नेछु।’

क्यान्सर भन्नेबित्तिकै धेरैले जीवनको अन्त्य ठान्ने गरेको बुझेर त्यो धारणा बदल्न आफू लागिपरेको उनी बताउँछन्। पारिवारिक साथ, नियमित औषधि र राम्रो अस्पतालमा उपचार गराए अन्य रोगजस्तै क्यान्सर पनि निको हुने उनको बुझाइ छ।

‘औषधि र उपचारसँगै माया मिसियो भने त्यसले जुनसुकै रोगसँग लड्न सक्ने क्षमता दिँदो रहेछ,’ उनले आफ्नो अनुभव सुनाए, ‘यही अनुभव र उत्साह बाँड्न म सधैं लागिरहनेछु।’

गोकर्णेश्वर नगरपालिका आफ्नो अभियानलाई नगरपालिकाले पनि साथ दिएको भन्दै खुसी व्यक्त गरे। ‘परिवारसँगै समाज जोडिएपछि म झनै बलियो भएको छु,’ उनले भने, ‘देशभरका अन्य पालिकाले पनि क्यान्सर रोगीको मनोबल बढाउने काम गरे यो रोगसँग लड्न सबैलाई सजिलो हुने थियो।’

राज्यले क्यान्सर रोगीलाई दिने गरेका मासिक ५ हजार उपचार खर्चभन्दा पनि उपचारका विधि–प्रविधि सहज र प्रभावकारी बनाइदिए अझ राम्रो हुने उनको धारणा छ। ‘पैसाभन्दा पनि प्रभावकारी उपचार चाहियो,’ उनले भने, ‘स्वदेशमा उपचार नपाएर अझै पनि लाखौं खर्चेर भारतलगायत मुलुकमा जान क्यान्सरपीडित बाध्य छन्।’

उनको उत्साह देखेर नगरपालिकाका मेयर दीपक रिसाल पनि प्रभावित छन्। ‘उनी साँच्चिकै योद्धा हुन्,’ उनले भने, ‘नगरपालिकाले उनलाई सहयोग गर्न पाउँदा हर्षित बनेका छौं।’

स्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गरेर पुरस्कृत भएको नगरपालिकाका मेयर रिसालले बिरामीको मनोबल बढाउने काममा पनि पालिका लागि परेको बताए। जोरपाटीबाट केही परसम्म बाजागाजासहित निस्केका हुमागाईंले अहिले प्रत्येक क्षण उत्सवजस्तो लाग्ने गरेको बताए। ‘म निराश हुँदा सबैका आँखामा दुःखको आँसु हुन्थ्यो,’ उनले भने, ‘म रमाउँदा सिंगो समाज रमाएको छ।’

मृत्यु जीवनको शाश्वत सत्य भएको आफूले बुझेको बताउँदै त्यसबाट नआत्तिएको उनले सुनाए। ‘मर्न त म एक दिन अवश्य नै मर्छु,’ हँसिलो अनुहार लगाउँदै उनले भने, ‘तर क्यान्सरबाट मर्दिनँ।’ 

प्रकाशित: ११ कार्तिक २०८० ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App