१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पीडा बिसाउने चौतारी बन्दै माइतीघर

फाइल तस्वीर

माइती चेलीहरूले आफ्नो सुखदुःख बिसाउने प्यारो घर हो। राजधानीमा रहेको माइतीघर पनि नेपालीको पिर बिसाउने साझा चौतारी बन्दै छ।

यहाँ हरेक दिनजसो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारणले आफ्नो पीडा बिसाउँदै आएका छन्। कतिले यहाँ आएर न्याय पाए। कति न्यायका लागि संघर्षरत छन्। केही न्यायका लागि यहीं बसेर हारगुहार गर्दै आँशु झार्दै छन्। तिनैमध्येकी एक हुन्- जनकपुरकी निर्मलादेवी साह। छोरी आरतीको हत्या भएको दाबीसहित न्याय माग्दै उनी माइतीघरमा धर्ना बसको चार महिना भयो। ‘माग पूरा नभए पनि यहाँ बस्दा सुरक्षित महसुस भएको छ,’ उनले भनिन्, ‘जबसम्म छोरीको हत्याराले सजाय पाउँदैनन् तबसम्य यहीं बस्छु।’

जेठ ७ गते उनकी बिहे गरेकी २२ वर्षीया छोरी आरतीको मृत्यु भएको थियो। आरतीका पतिलगायतले उनले आत्महत्या गरेको दाबी गरेका छन्। तर निर्मला यो मान्न तयार छैनन्। छोरीले आत्महत्या नगरेको बरु दाइँजो नल्याएको निहुँमा पतिसमेत मिलेर हत्या गरेको उनको दाबी छ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट न्याय नपाएपछि काठमाडौं आएको उनले बताइन्। आरतीका पति मोती बाबु साह, सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, र देवर रवि साहले निर्घात कुटपिट गरी छोरीको हत्या गरेको निर्मलाको दाबी छ। आरोपित सबैले सजाय नपाएसम्म आफूले धर्ना जारी राख्ने उनले बताइन्।

यहाँ आएर सहकारपीडितदेखि मिटर ब्याजपीडितसम्मले धर्ना दिए। कहिले किसानको पीडा माइतीघरमा सुनिन्छ त कहिले निर्माण व्यवसायीको। यहाँ बिरामीको क्रन्दन मात्र हैन, डाक्टर र नर्सका पीडासमेत सुनिने गरेको छ।

‘यहाँ हाम्रो आवाज उठ्दा प्रशासनले आरोपितलाई पक्राउ गर्छ,’ निर्मलाले भनिन्, ‘जब यहाँ अरू विषयमा आवाज उठ्छ तब हाम्रो आवाज अलि ओझेलमा पर्छ। त्यसपछि पक्राउ परेका पनि छुट्छन्।’ माइतीघरमा धर्ना नबसे न्याय नपाइने उनले सुनाइन्। ‘यहाँबाट हामी उठेर गए, न्याय नपाउने मात्र हैन, हामी पनि जोखिममा पर्छौं,’ उनले भनिन्, ‘त्यसैले यो हाम्रा आश्रयस्थल पनि बनेको छ।’

निर्मलाले यसो भन्दै गर्दा केही पर पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योगराज ढकाललाई जन्मकैद साजय मिनाह दिने सरकारको निर्णयविरुद्ध संघर्षरत भारती मानन्धर थिइन्। उनी न्याय माग्न नेपालगन्जबाट यहाँ आएकी हुन्। ‘म मरे पनि न्याय नमरोस्। यहाँ आएपछि न्याय मिल्ने आशा पलाएको छ,’ उनले रुँदै भनिन्, ‘माइतीघर हाम्रो भरोसाको केन्द्र बनेको छ।’

त्यहाँ भेला भएर स्थानीय तहका कर्मचारीले पनि आन्दोलन गरे। सरकारले ल्याउन लागेको निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। प्रस्तावित ऐनमा सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको उनीहरूको भनाइ छ। ‘कुनै समय माइतीघरमा आएर प्रचण्ड (पुष्पकमल दाहाल) र माधव नेपालले आन्दोलन गरेको तस्बिर हामीले देखेका थियाै,’ स्थानीय तहका एक कर्मचारी महेन्द्र केवट भन्छन्, ‘अहिले हामीले पनि यहीं ठाउँमा आएर आन्दोलन गर्‍यौं।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा २०७७ पुस १० गते दाहाल–नेपालले माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनीमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेको प्लेकार्ड टाँसेका थिए।

अहिले माइतीघर क्षेत्र वेदना पोख्ने अखडाजस्तो बनेको छ। यहाँ विगतमा पनि थुप्रै धर्ना र आन्दोलन भएका थिए। धेरैले यहाँबाट न्याय पाएर पनि गए। किसानले उखुको मूल्य नपाउँदा होस् या आविष्कार केन्द्रले तोकिएको रकम नपाउँदा होस् धर्ना दिने थलो यही बन्यो। त्यस्तै कसैको रिहाइको माग होस् या कारबाहीको माग माइतीघरमा पोखिन्छ। यहाँ नागरिकता पाउनुपर्नेदेखि तलब बढाउनुपर्नेसम्मका माग पनि गुन्जिए।

सहकारपीडितदेखि मिटर ब्याजपीडितसम्मले यही बसेर धर्ना दिए। कहिले किसानको पीडा माइतीघरमा सुनिन्छ त कहिले निर्माण व्यवसायीको। यहाँ बिरामीको क्रन्दन मात्र हैन, डाक्टर र नर्सका पीडा पनि पोखिने गरेको छ।

केही समयअघि मात्र शिक्षक यहाँ भेला भएर आन्दोलन गरे। माग पूरा गर्ने सहमति गरेर उनीहरू फर्किए। ‘माइतीघरले खाली हात फर्काउँदैन,’ शिक्षक नरेश ठाकुर सुनाउँछन्, ‘धेरै नमिले पनि यहाँबाट राहत त मिल्छ नै।’

उनले भनेजस्तै राहतको आशमा यहाँ थुप्रै धर्नामा बसेका छन्। कतिपय त पाल टाँगेरै बस्छन्। धर्नामा मान्छे नभेटिए पाल र मागचाहिँ देखिन्छ। ‘यस्तो लाग्छ सिंगो मुलुकले माइतीघरबाट न्याय मागिरहेको छ, कर्मचारी आन्दोलनको भीडमा भेटिएका विकास गजुरेलले भने, ‘यो ठूलो झन्डामुनिको खाली ठाउँ मुलुकवासीको सहारा लिने चौतारोजस्तै बनेको छ।’

कसरी नाम रह्यो माइतीघर

निजी क्षेत्रबाट नेपालमा बनेको पहिलो चलचित्र थियो ‘माइतीघर’। २०२२/२३ सालतिर बी.एस थापा निर्देशित यस चलचित्र निर्माणकर्ताको कार्यालय थापाथली इन्जिनियरिङ क्याम्पसको ठिकविपरीत दिशातर्फ यसै क्षेत्रमा थियो। यहाँ रहेको एक भवनको झ्यालमुनि ‘माइतीघर’ लेखिएको साइनबोर्ड टाँगिएको थियो। त्यसैका आधारमा यो ठाउँ माइतीघर भनेर चिनिन थालेको जानकार बताउँछन्। यही माइतीघरमा केशव स्थापितले मेयर भएका बेला त्यहाँका अनधिकृत संरचना भत्काएर ‘मण्डल’ बनाए। त्यसैले यसलाई पछिल्लो समय माइतीघर मण्डल भनेरसमेत भनिन्छ।

माला सिन्हा र सिपी लोहनी अभिनित ‘माइतीघर’ सिनेमामा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ बोलको गीत निकै लोकप्रिय छ। सायद त्यसैले होला निर्मलादेवी पनि न्याय नपाउन्जेल माइतीघर नछाड्ने बताउँछिन्। ‘बरु प्राण जाओस् न्याय नपाउन्जेल यहीं बसिरहन्छु,’ उनी भन्छिन्, ‘यहाँ बस्दा न्याय पाइने आशा रहिरन्छ।’

प्रकाशित: २७ आश्विन २०८० ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App