५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने ५ उद्योग विरुद्ध मुद्दा

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्यून गुणस्तर तथा दूषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने ५ उद्योगविरुद्ध मुद्दा दायर भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले अनुसन्धान पुरा गरेर असोज महिना ५ उद्योगविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो। ती मध्ये ३ वटा मुद्दा पिउने पानी उत्पादन गर्ने उद्योगविरुद्ध रहेको छ भने एउटा मैदा र अर्को घिउ उत्पादन गर्ने उद्योग रहेको छ।

चालु आर्थिक वर्षमा अनुसन्धान पुरा गरेर ५ मुद्दा दायर भएको र अन्य ३० वटा भन्दा बढी मुद्दाहरुको अनुसन्धान भइरहेको खाद्य निरीक्षक एवं सूचना अधिकारी बादल चेम्जोङले जानकारी दिइन्।

यो वर्ष सबैभन्दा पहिला इटहरीस्थित गोर्खा प्याकेजिङ उद्योगविरुद्ध असोज १० गते मुद्दा दर्ता भएको छ। उक्त उद्योगले उत्पादन गरेको मैदामा लेबल नभएको र न्यून स्तर भएको उजुरीको आधारमा खाद्यले अनुगमन गरेको थियो। मैदाको नमुना परीक्षणको लागि ल्याबमा पठाउँदा तोकिएको गुणस्तरको मापदण्ड नपुगेको रिपोर्ट आएपछि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, पिउने पानी उत्पादन गर्ने इटहरीको हिमधारा कम्पनी प्रालिविरुद्ध असोज १४ गते २ वटा मुद्दा दायर भएको छ। यो कम्पनीले उत्पादन गरेको उपहार ब्राण्डको पिउने पानीको बोतल भित्रै कालो पदार्थ भेटिएको थियो। यस्तै, अर्को बोतलमा काठको टुक्रा भेटिएको थियो। नमुना परीक्षणबाट दूषित खाद्य पदार्थको रिपोर्ट पनि आएपछि कार्यालयले असोज १४ गते हिमधाराविरुद्ध मुद्दा दायर गरेको थियो।

यसैगरि, पानीको बोतलभित्र किरा भेटिएपछि इटहरी तरहरास्थित दिव्येश्वरी जल उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ। बल्ल ब्राण्डको पानीको बोतलभित्र किरा भेटिएको र उक्त पानीको नमुना ल्याबमा परीक्षण गर्दा कोलिफर्म रहेको पुष्टि भएपछि असोज २३ गते मुद्दा दायर गरिएको खाद्य निरीक्षक एवं सूचना अधिकारी चेम्जोङले जानकारी दिइन्।

‘बोतलको पानीमा किरा भेटिएको उजुरी आएपछि नमुना ल्याब परीक्षण गर्न पठायौँ, कोलिफर्म भेटिएको रिपोर्ट आयो। त्यसैले दूषित खाद्य पदार्थ उत्पादनमा मुद्दा दायर गरेका छौं,’ उनले भनिन्।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी एसिड भेल्यु वनस्पति घिउमा मिसाएको पाइएपछि सुनसरीको सोनापुरस्थित पशुपति खाद्य उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ।

उक्त उद्योगविरुद्ध न्युस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गरेको अभियोगमा खाद्य कार्यालयले असोज १७ गते जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो। नेपाल सरकारले वनस्पति घिउमा ०.५ मिलिग्राम भन्दा बढी एसिड भ्यालु हुनु नहुने मापदण्ड तोकेको छ। तर, यो उद्योगको घिउमा भने तोकेको मापदण्ड भन्दा बढी एसिड भ्यालु पाइएको खाद्य निरीक्षक चेम्जोङले बताइन्।

मुद्दा दायर भएका पाँच उद्योगहरुलाई खाद्य ऐन २०२३ को दफा ३ बमोजिम कसुरमा दफा ५ (१) बमोजिम ५ वर्षसम्म वा पचास हजारसम्म जरिवाना वा दुवै सजायको माग दाबी गरेर मुद्दा दायर गरिएको पनि चेम्जोङले जानकारी दिइन्।

‘न्युस्तर र दुषितस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न कानुनले रोक लगाएको छ। त्यस विपरीत कसुर गरेमा ५ वर्ष जेल वा ५० हजार जरिवाना वा दुवैको सजाय हुने व्यवस्था अनुरूप नै माग दाबी गरेर मुद्दा दायर गरिएको छ।,’उनले भनिन्।

प्रकाशित: २६ आश्विन २०८० ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App