१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

अक्टोबरमा मात्रै १ लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अमेरिकी पाहुनाको आगमन उच्च

नेपालमा अमेरिकी पाहुनाको आगमनले एकाएक फड्को मारेको छ। बारम्बारका विपद्का घटनाका बाबजुद पनि नेपालमा यो अक्टोबर महिनामा भित्रिएका अमेरिकी पर्यटकको आगमन निकै नै उकालो लागेको पर्यटन बोर्डको भनाई छ।

बोर्डका अनुसार अमेरिकी पाहुनाको आगमन २०१८ पछि यो आकारमा उकालो लागेको हो।

बोर्डका अनुसार यो अक्टोबरमा नेपालमा सबै गरी हवाई मार्गबाट १ लाख ३२ हजार ८ सय १४ जना विदेशी पर्यटक भित्रिएका थिए। 

सन् २०२५ अक्टोबरमा नेपालमा १ लाख २८ हजार ४ सय ३३ जना विदेशी पाहुना भित्रिएका थिए। अघिल्लो अक्टोबरको तुलनामा यो पटक ३.४ प्रतिशत आगमन बढेको बोर्डले बताएको छ।

बोर्डका अनुसन्धान विभाग प्रमुख लक्ष्मण गौतमका अनुसार यो अक्टोबरमा नेपालमा १७ हजार ४ सय ३७ जना अमेरिकी पाहुना भित्रिएका छन्। यो आगमन २०१८ पछिको उच्च भएको उनले बताए।

अक्टोबरको आगमनको हिसाबले पहिलो नम्बरमा अमेरिकी पाहुनाको आकार रहेको र दोस्रोमा भारतीय पाहुनाको संख्या रहेको छ।

यसअघिका हरेक महिनामा भारतीय पाहुनाको आगमनले फड्को मार्ने गरेको थियो। यो अक्टोबरमा नेपालमा १२ हजार ९७ जना भारतीय पाहुना भित्रिएका थिए।

‘सम्पूर्ण पर्यटन क्षेत्रलाई नै अचम्म बनाउने गरी यो पटक अमेरिकी पाहुनाको आगमनले फड्को मारेको छ। भारतीय पाहुनाको आगमनलाई पछाडि पार्ने गरी अमेरिकीको आगमनले उचाइ लिएको छ,’ गौतमले भने, ‘भारतीय आगमन प्रभावित भएको अवस्थामा अमेरिकी पाहुनाको आगमन बढ्दा आकार पनि बढेको हो।’

गौतमका अनुसार नेपालमा सामान्यतया अमेरिकी पाहुनाको आगमनको आकार तेस्रो नम्बरमा पर्दै आएको थियो। सन् २०१८ सम्म सधैंजसो दोस्रो नम्बरमा रहने गरेको आगमन चिनियाँको संख्या थपिएपछि बल्ल तेस्रोमा पुगेको थियो।

तर, यो पटक भारतीयको आगमन खस्केको मौका पारेर अमेरिकीको आगमन ह्वात्तै माथि देखिएको उनले बताए।

‘हामीले अपेक्षा गरे भन्दा बढी नै सुधार हुने गरी अमेरिकीको आगमन भएको छ,’ उनले भने।

बोर्डका अनुसार यो अक्टोबरमा नेपालमा भित्रिएका चिनियाँ पाहुनाको आगमनको आकार तेस्रो नम्बरमा रहेको छ।

अक्टोबरमा नेपालमा सबैगरी ११ हजार ६ सय ९५ जना चिनियाँ पाहुना भित्रिएका छन्। चौथो नम्बरमा परेको बेलायतका ९ हजार ३ सय ८५ जना पाहुना भित्रिएका छन्।

त्यस्तै पाँचौँ नम्बरमा परेको अष्ट्रेलियाबाट ९ हजार ३ सय ५३ जना पाहुना भित्रिएको पनि बोर्डको तथ्यांक रहेको छ।

हिस्साको आकारमा यो अक्टोबरमा नेपालमा युरोपियन पाहुनाको आकारले ३०.०२ प्रतिशत हिस्सा ओगटेको छ।

दोस्रोमा एसियाका पाहुनाको आकार २०, सार्क मुलुकका पाहुनाको हिस्सा १८ प्रतिशत रहेको छ। अमेरिकी पाहुनाको आकार १६ प्रतिशत रहेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App