३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इजरायल युद्धमा ज्यान गुमाएका साहका परिवारलाई प्रदेश सरकारले ५ लाख दिने

मधेश प्रदेश सरकारले हमासको आक्रमणमा परी मृत्यु भएका आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

साहको शनिवार हमासले इजरायलमाथि गरेको आक्रमणको क्रममा निधन भएको थियो। धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही–४ सपहीका २२ वर्षीय साह कृषि सम्बन्धी तालिम लिनका लागि गत भदौ २६ मा इजरायल गएका थिए।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार साँझ शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साहका परिवारलाई प्रदेश सरकारको तर्फबाट ५ लाख राहतस्वरुप प्रदान गरिने बताएका छन्।

इजरायल पुगेका २६ दिनमा प्यालेष्टाइनी आक्रमणमा परी ज्यान गुमाएका साहको आत्मा चिरशान्तिका कामना गर्दै मुख्यमन्त्री यादवले शोकाकूल परिवारमा संवेदना प्रकट गर्दै दुःखद घडीमा प्रदेश सरकारको सहानुभूति र सद्भाव साह परिवारप्रति रहेको बताए।  

मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिएका छन्।

विज्ञप्तिमा ‘आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ। त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ। असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु।’ उल्लेख गरिएको छ।

प्रकाशित: २४ आश्विन २०८० ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App