२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राम्रो बानी कसरी बसाल्ने?

यस्तो पनि!

जीवन राम्रोसँग बाँच्न राम्रा बानी अत्यन्त जरूरी हुन्छ भनिरहनु पर्दैन। तर राम्रो बानी कसरी बसाल्ने? यसमा धेरैको टाउको दुख्छ, अल्छी लागिहाल्छ।

एउटा अध्ययनअनुसार, राम्रो बानीसँग लपक्क टाँस्सिने गरी अभ्यस्त हुन केही सातासम्म नियमित रूपमा अभ्यास गर्नुपर्छ वा दोहोर्‍याउनुपर्छ। यो चाहिँ सजिलो बानीको कुरा भयो। अप्ठेरो काममा अभ्यस्त हुन भने कम्तीमा पनि चारदेखि सात महिनाको अवधि लाग्ने देखिएको छ।

खाना खानुभन्दा अघि हात धुनुजस्तो सामान्य बानी बसाल्न थोरै समयावधि लाग्छ भने दिनहुँ जिम जाने र अभ्यास गर्ने कुराका लागि चारदेखि सात महिना लाग्ने देखिएको हो।

अमेरिकाको युनिभर्सिटी पेन्सिलभेनियाको वार्टन स्कुल र नेसनल एकेडेमी अफ साइन्सले संयुक्त रूपमा गरेको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको हो। यो अध्ययनको नेतृत्व केटी मिल्कम्यानले गरेकी थिइन्।

नयाँ स्वस्थ बानी दैनिक रूपमा अभ्यस्त हुन सबैभन्दा सजिलो कुरा चाहिँ बानीलाई साना साना अंशमा विभाजित गर्नु रहेको केटीको भनाइ छ। ठूला अपेक्षा नराख्ने तर साना उपलब्धिमै रमाउने तर नियमित दोहोर्‍याइरहने हो भने त्यो दैनिक जीवनको अभिन्न अंग बन्ने उनको अध्ययनले देखाएको हो।

सन् २००९ मा बेलायतमा एउटा अध्ययन गरिएको थियो। अध्ययनमा खाना खानुभन्दा १५ मिनेटअगाडि दौडने बानी बसाल्न ६६ दिनसम्म लगातार गरिएको थियो। दुईदेखि तीन महिनासम्म लगातार गर्दा हाम्रो दिमाग ‘अटोपाइलट’ मोडमा जान्छ। त्यसपछि भने हामीले कडा अभ्यास गरिरहनु पर्दैन।

राम्रा बानी दोहोर्‍याएर गर्नु राम्रो हो तर कहिलेकाहीँ त्यो सोचेजस्तो गरी सम्भव नहुन सक्छ। यस्तो बेलामा समयको लचकता अपनाउनु श्रेयस्कर हुन्छ। मानौँ, तपाईं ५ बजे उठ्नु छ र दौडनु छ तर तपाईं ६ बजे ब्युँझनु भयो भने ढिला भयो भनेर नछाड्नुस्। ६ बजेपछि पनि दौडँदा फरक पर्दैन भनेर दौडिहाल्नुस्।

अर्को कुरा पहिलो पटकमै राम्रो परिणामको अपेक्षा नगर्नुस्, बरू खराब अपेक्षा गर्नुस्। र, सबैभन्दा महत्त्वपूर्ण कुरा, गरिरहेका र बानी बसाल्न गरिएका सारा प्रयासलाई रमाइलो बनाउनोस्। रमाइलो पारामा गर्नोस्। केही काम फत्ते गरेको महसुस भए आफूलाई पुरस्कृत गर्नोस् भन्ने केटी मिल्कम्यानको सुझाव छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १७ आश्विन २०८० ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App