२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गण्डकीका मुख्यमन्त्री भन्छन्ः क्षतिपूर्तिको लोभमा अस्पतालमा आक्रमण बढ्दैछन्

शनिबार गोरखा अस्पताल निरिक्षण गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सक कुट्ने र अस्पताल तोडफोड गर्ने व्यक्तिलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन्।  

शनिवार गोरखा अस्पताल निरिक्षणको क्रममा मुख्यमन्त्री पाण्डेले भने, ‘अस्पतालमा भएका कुटपिटका घटनाका संलग्न व्यक्ति जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टी (कांग्रेस) को होस्, वा अरु कसैको, त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति वा सद्भाव केही पनि रहँदैन।’

चिकित्सक कुटपिटका गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए। ‘यो कुरामा सम्झौता कसैसँग पनि हुँदैन,’ उनले थपे ‘चिकित्सकमाथि कुटपिट संवेदनशिल विषय भएकाले सबैको ध्यानाकर्षण हुनुपर्छ।’ मुख्यमन्त्री पाण्डेले भने, ‘कुनैपनि डाक्टरले बिरामीलाई मारौं भनेर उपचार गर्दैन । त्यस्तो हामीले सोच्नु पनि हुन्न ।’  

पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका बिभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भईरहेको बताउँदै मुख्यमन्त्री पाण्डे भने, ‘अस्पतालमा अराजकता बढ्दै गएको छ।’ पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण बिरामीको मृत्युपछि क्षतिपूर्ति दिने प्रथा पनि रहेको उनले बताए।

उनले भने ‘हुलदंगा गर्यो भने क्षतिपूर्ति बढी पाउने, नपाउनेले पनि पनि पाउने अवस्था रह्यो। त्यसले गर्दा अराजकता मौलाएको छ। त्यस्तो प्रवृत्तिले चिकित्सक र अस्पतालमा अराजकता बढेको हो।’ चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेत बनाउनुपर्ने उनले बताए।

समाजमा हरेक खालमा मानिस रहेकाले केही खराब व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकले काम नै गर्न नसक्ने भयौं भनेर बस्न नहुने पनि उनले बताए। ‘डाक्टरहरुलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौ, तर काम सबै रोकेर बस्नु भएन,’ मुख्यमन्त्री पाण्डेले भने।

गोरखा अस्पतालको सेवा सुविधा बिस्तारका लागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ र निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले अस्पतालको समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए। मुख्यमन्त्री पाण्डेले प्राथमिकताका आधारमा तत्काल नगरी नहुने कामको लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताए।  

प्रकाशित: १३ आश्विन २०८० १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App