५ वैशाख २०८१ बुधबार
समाज

भक्तपुरको जिब्रो छेड्ने जात्रा आज

जिब्रो छेड्ने बालकराम नानी श्रेष्ठ।

भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा भन्नेबित्तिकै बोडेमा हुने जिब्रो छेड्ने जात्रा भनेर धेरैले बुझ्छन् तर मध्यपुर थिमिमै प्रत्येक वर्ष यस्तै जिब्रो छेड्ने जात्रा हुने गर्दछ। प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा (इन्द्रजात्राको क्रममा जिब्रो छेड्ने जात्रा) हुने गर्दछ। यो जात्रा यस वर्ष असोज १२ गते शुक्रबार रहेको छ।

जात्राको क्रममा जिब्रो छेड्ने स्थान भने मध्यपुर थिमि नगरपालिका ५ दिगु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबली रहेको छ। बिस्केटमा जिब्रो छेड्ने कार्य दिउँसो हुने गरे पनि यहाँ भने राति मात्रै हुने गर्दछ। यस वर्ष मध्यपुर थिमि नगरपालिका ५ चोडे टोलनिवासी बालकराम नानी श्रेष्ठले दोस्रो पटक (पहिलो पटक २०७५ सालमा) जिब्रो छेड्ने साहसिक कार्य गर्दै छन्। यस जिब्रो छेड्ने व्यक्तिले दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने गर्दछन्। जिब्रो छेड्नेले मौन व्रत बस्ने चलन छ।

जिब्रो छेड्ने दिनमै बेलुकापख साँझ बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ। त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजापछि जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिँडाई डबलीमा पु¥याइन्छ।

सयौं जनमानससामु जामनः गुरु, नायःपमा, नकर्मी नाइकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुइरोद्वारा कमी नायोले जिब्रो छेडाउने काम हुन्छ। जिब्रो छेडेपछि झन्डै ४० किलोग्रामको भ्ये (महादीप ) बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गरिन्छ।

यस वर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकाले उनको इच्छाअनुसार राति नै पैदल पशुपति पुर्‍याइनेछ। जिब्रो छेडिसकेपछि यस वर्ष मध्यपुर थिमि नगरपालिका ५ दिगुटोलबाट चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ष गणेश मन्दिर दर्शनसँगै सिद्धिकाली माइको मन्दिर भई सिद्धिकाली चोक पुग्नेछ। त्यहाँबाट पुनः सानोठिमी, सिनामंगल, महादेव चोक हुँदै एयरपोर्ट १० नम्बर गेट, सान बैंक्वेट चोक हुँदै एयरपोर्टसँगैको बाटोबाट गुहेश्वरी मन्दिर दर्शन गरी पशुपतिनाथ दर्शन गर्ने र सोही बाटो भई मध्यपुर थिमि फर्कने कार्यक्रम तालिका रहेको जात्रा व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठले जनाए।

राति नै पैदल हिँडेर हुने यो यात्रा आवत र जावत गरी कुल मध्यपुर थिमिदेखि काठमाडौंसम्म मात्रै १७ किलोमिटर रहेको जनाइएको छ।

मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा पहिलादेखि नै जिब्रो छेड्ने जात्रा सुरु भएको र एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको इतिहास रहेको छ। बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने गरिन्छ। त्यसपछि जात्रामा सहभागी व्यक्तिहरूलाई भोज खुवाइन्छ। भोज खाइसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्ने गरिन्छ। जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि लगेको पाइएको छ।

यो ऐतिहासिक जात्रा २०२६ सालदेखि लुप्त भइसकेको थियो। यस्तो अवस्थामा पुन सञ्चालन गर्न २०५० सालदेखि मध्यपुर थिमि चोडे टोलनिवासी कृष्णनानी श्रेष्ठले तीनपटक जिब्रो छेडेर जात्रालाई जीवन्तता प्रदान गरेका थिए। जिब्रो छेड्ने जात्राका क्रममा थुप्रै व्यक्तिलाई भोज खुवाउनुपर्ने तथा जात्राको प्रबन्ध पनि आफंै मिलाउनुपर्ने भएकाले थुप्रै रकमको आवश्यकता पर्ने बताइन्छ।

आफ्नो जिब्रो छेड्नु अनि जात्रा खर्च पनि आफैं मिलाउनु पर्ने जस्ता विविध समस्याले गर्दा सो जात्रा २०६३ सालदेखि सञ्चालन हुन नसकेको स्थानीयले बताए। २०७४ सालबाट स्थानीय युवा, संस्कृतिप्रेमी अग्रज तथा जननिर्वाचित प्रमुख सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न यया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरिएको थियो। जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुर थिमि ४ बालकुमारीनिवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले दुई पटक (२०७४ र २०७९) जिब्रो छेडेर लोपोन्मुख जात्रालाई निरन्तरता दिएको थियो।

जात्राको क्रममा यस वर्ष पनि नौ लाख रूपैयाँ खर्च हुने अनुमान छ। जात्राका लागि आवश्यक खर्च मध्यपुर थिमि नगरपालिकाले व्यहोरिदिने मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

यो वर्ष जिब्रो छेडाउने बालकराम नानी श्रेष्ठका अनुसार जिब्रो छेड्ने जात्राका लागि करिब एक महिना अगाडिदेखि नै तयारी गर्नुपर्ने हुन्छ। जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिनाअगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जानुपर्छ। नातु बनाउन खबर गर्न जाँदा पूजा लिएर नकर्मीको घरमा जाने चलन छ। नकर्मीले नातु बनाइसकेपछि तीन हप्ता जति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राखिएको हुन्छ।

जिब्रो छेड्ने आठ दिनअगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा एघार वटा किसली (माटाको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बलि दिएर बालकुमारीको साधना गरिन्छ। जिब्रो छेडाउँदा तत्कालीन राज्य सञ्चालकहरूको सहभागितासमेत हुने गरेको बताइएको छ।  

प्रकाशित: १२ आश्विन २०८० ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App