१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वन्यजन्तु आक्रमणबाट १० वर्षमा २७७ को मृत्यु

पछिल्लो एक दशक वर्षमा वन्यजन्तु आक्रमणबाट दुई सय ७७ जनाको ज्यान गएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार हात्ती, बाघ, गैंडा, चितुवा, भालु र जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट पछिल्लो १० वर्षमा सो संख्यामा मानवीय क्षति भएको हो।

एक दशकमा वन्यजन्तुको आक्रमणबाट चार सय ८७ जना सामान्य तथा पाँच सय ६६ जना गम्भीर घाइते भएका छन्। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिबापत का सरकारले ६० करोड १२ लाख ७४ हजार रूपैयाँ क्षतिपूर्ति तिरेको छ।

विभागका अनुसार देशभरका राष्ट्रिय निकुञ्जसहितका संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैंडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही र गौरीगाईलगायत वन्यजन्तुसँगको द्वन्द्वका कारण मानिसहरू घाइते हुने, बालीनाली, घर र गोठको क्षति गर्नेलगायत घटना ह्वात्तै बढेको छ।

आर्थिक वर्ष २०७९/८० मा वन्यजन्तुको आक्रमणबाट ३९ जनाको ज्यान गइसकेको छ भने १० करोड ८७ लाख १८ हजार चार सय २९ रूपैयाँ वन्यजन्तुबाट भएको क्षतिबापत राहत वितरण गरिएको विभागले जनाएको छ। यस अवधिमा हात्तीबाट १५, बाघबाट १३, गैंडाबाट चार, चितुवाबाट चार, जंगली बँदेलबाट दुई र भालुबाट एक गरी कुल ३९ जनाको ज्यान गएको हो।

त्यस्तै, वन्यजन्तुको आक्रमणबाट एक सय २४ जना गम्भिर घाइते, ७२ जना सामान्य घाइते, तीन हजार नौ सय १२ पशुधनको क्षति, तीन हजार ७४ अन्नबालीको क्षति, तीन सय ८५ वटा घरगोठको क्षति र दुई सय ५६ वटा भण्डारण गरेको अन्नको क्षति भएको तथ्यांकमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा वन्यजन्तुको आक्रमणबाट ५८ जनाको ज्यान गएको थियो। विभिन्न आक्रमणमा परी एक सय १६ जना गम्भीर घाइते, ७२ जना सामान्य घाइते भएका थिए भने वन्यजन्तुको आक्रमणबाट भएको क्षतिका १२ हजार ६ सय ७२ वटा घटना दर्ता भएका थिए।

विभागको तथ्यांकअनुसार सो वर्ष हात्तीको आक्रमणबाट २३ जना, बाघबाट २१, गैंडाबाट ५, चितुवा र जंगली बँदेलबाट तीनतीन र गौरीगाईबाट एकजनाको ज्यान भएको थियो। सो वर्ष वन्यजन्तुबाट भएको क्षतिबापत सरकारले १५ करोड ५८ लाख रूपैयाँ राहत रकम वितरण गरेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा वन्यजन्तुको आक्रमणबाट ४० जनाको ज्यान भएको थियो भने ६७ जना गम्भीर घाइते र ४० जना सामान्य घाइते भएका थिए। सो वर्ष वन्यजन्तुबाट भएको क्षतिका आठ हजार चार सय ५५ वटा घटना दर्ता भएका थिए। सो वर्ष हात्ती र बाघको आक्रमणबाट १३–१३ जना, गैंडाबाट ६ जना, भालु र चितुवाबाट तीन–तीन, जंगली बँदेल र गौरीगाईबाट एकएकजनाको ज्यान गएको थियो। सो वर्ष वन्यजन्तुले पुर्‍याएको क्षतिबापत १४ करोड नौ लाख ९३ हजार रूपैयाँ राहत रकम वितरण गरिएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा वन्यजन्तुको आक्रमणबाट ३३ जनाको ज्यान गएको थियो भने एक सय १० जना गम्भीर र ६७ जना सामान्य घाइते भएका थिए। सो वर्ष हात्तीको आक्रमणबाट १३ जना, बाघ र चितुवाबाट आठ-आठ र गैंडाबाट चारजनाको ज्यान गएको थियो भने वन्यजन्तुबाट भएको क्षतिबापत १० करोड ६६ लाख ७६ हजार रूपैयाँ राहत रकम वितरण गरिएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा ३० जनाको ज्यान भएको थियो भने एक सय ३७ जना घाइते भएका थिए। सो वर्ष हात्तीको आक्रमणबाट १५ जना, चितुवाबाट ६ जना, बाघबाट चार, गैंडाबाट दुई र जंगली कुुकुर, जंगली बँदेल र मगर गोहीबाट एक–एकजनाको मृत्यु भएको थियो। त्यस्तै, वन्यजन्तुबाट भएको क्षतिबापत आठ करोड ९० लाख ८४ हजार रूपैयाँ राहत रकम वितरण गरिएको थियो।

२०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु र ६५ जना घाइते भएका थिए। २०७३/७४ मा २२ जनाको मृत्यु र ४३ जना घाइते भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ। २०७०/७१ मा १० जनाको मृत्यु, २७ घाइते, २०७२/७३ मा १० जनाको मृत्यु भएको थियो भने ३९ घाइते भएका थिए। २०७१/७२ मा वन्यजन्तुको आक्रमणमा परी १६ जनाको मृत्यु र १६ जना घाइते भएका थिए। यस अवधिमा हात्ती, बाघ, चितुवा, गैंडा, भालु तथा ब्वाँसो, अर्ना, जंगली कुकुर तथा मगर गोहीबाट अधिकांशको ज्यान गइसकेको छ।

सरकारले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगर गरी १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत वितरण गरिरहेकोमा नीलगाई र बाँदरका कारण हुने क्षतिबापत राहत दिने व्यवस्था गरेको छ।

वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८०’ अनुसार सरकारले बाँदरले बाली क्षति गरेमा क्षतिपूर्तिबापत १० देखि हजार रूपैयाँसम्म दिने व्यवस्था भएको जानकारी विभागका प्रवक्ता तथा उपमहानिर्देशक अजय कार्कीले दिए।

‘पछिल्ला वर्षमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व बढेसँगै आक्रमणमा परी ज्यान गुमाउनेको संख्या बढेको छ,’ उनले भने, ‘पीडित परिवारलाई राहत दिन हेतुले क्षतिपूर्तिबापतको रकम बढेको हो।’ बाँदरसहित अन्य वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भएकालाई २० हजार, गम्भीर घाइते भएकालाई दुई लाख र मृत्यु भएमा १० लाख रूपैयाँ राहत उपलब्ध गराइने व्यवस्था सरकारले गरेको छ।

वन्यजन्तुको आक्रमणका कारण जीवनभर अंगभग भएर बस्नुपर्ने घाइतेहरूलाई पाँच लाख रूपैयाँ दिने व्यवस्था छ। वन्यजन्तुको आक्रमणमा परी घरपालुवा पशुको ज्यान गएमा ६० हजार रूपैयाँ र घरगोठको क्षति भएमा २० हजार रूपैयाँ राहत दिने व्यवस्था सरकारले गरेको छ।

विश्व वन्यजन्तु कोष नेपालका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले वन्यजन्तु र मानिसबीचको द्वन्द्व रोक्न जंगल क्षेत्र आसपास बसोबास गर्ने समुदायलाई जंगल प्रवेश गर्नुपर्ने स्थितिको अन्त्य गरिनुपर्ने बताउँछन्। ‘जंगल क्षेत्र आसपास बसोबास गर्ने समुदायलाई जीविकोपार्जनको विकल्प दिनसके वन्यजन्तुको आक्रमणबाट हुने मृत्युको संख्या घटाउन सकिन्छ,’ उनले भने, ‘जंगल क्षेत्रमा भइरहेको अतिक्रण रोक्न सके मात्र पनि वन्यजन्तुहरू जंगलबाट बाहिर निस्कनुपर्दैन थियो। त्यसका लागि चेतनामूलक कार्यक्रमको आवश्यकता रहेको छ। जंगलभित्र घुम्न जाने पर्यटकलाई वन्यजन्तुले आक्रमण नगरेर स्थानीयलाई मात्र गरिरहेको छ। त्यसको लागि जीविकोपार्जन अभिवृद्धि गर्ने खालका कार्यक्रममार्फत स्थानीयको क्षमता अभिवृद्धि गर्न सकिन्छ। होमस्टे पर्यटनलाई प्राथमिकतामा राखेर स्थानीयहरू स्वभाव सुधार्ने खालका कार्यक्रम सञ्चालन हुनुपर्छ।’

प्रकाशित: १२ आश्विन २०८० ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App