१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

शान्त बन्दै मलंगवा

सर्लाही सदरमुकाम मलंगवाको स्थिति सामान्य हुँदै गएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिउँसोको समयमा कर्फ्यु हटाएपछि सदरमुकाम मलंगवाको बजार क्षेत्रमा विस्तारै चहलपहल हुन थालेको देखिएको छ।

मलंगवा बजारमा दिनभर फाट्टफुट्ट पसलहरु खुलेका भए पनि खासै ग्राहकको चहलपहल देखिएको थिएन। मलंगवास्थित सरकारी कार्यालयहरु पनि सोमवार दिनभर संचालनमा आएका छन्। मलंगवा भएर साना निजी सवारी साधनहरु ओहोर गर्न पाएका छन्।

मलंगवामा चार दिनपछि कर्फ्यु हट्दा वातावरण शान्त देखिएको छ। सर्वपक्षीय सहमतिपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिका पदाधिकारीहरुको निर्णयबाट दिउँसो कर्फ्यु हटाउने निर्णय गरेको हो। दिउँसो हटाइए पनि अर्को आदेश नभएसम्मको लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

दिउँसो कर्फ्यु हटाइए पनि कुनै किसिमको सभा गर्न, जुलुस प्रदर्शन गर्न,  र्‍याली निकाल्न नपाइने गरी आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। साथै सामाजिक संजालमा पनि जथाभावी लेख्नेमाथि निगरानी बढाइएको र कारबाहीको दायरामा ल्याउने प्रजिअ यादवले बताएका छन्। सामाजिक सद्भाव बिथोल्न खोज्ने तत्त्व जुन रुपमा देखा परे पनि कारबाही गरिने प्रजिअ यादवले बताएका छन्।

एक महिनाभन्दा बढी समयदेखि मलंगवामा दुई समुदायबिच मनमुटावको वातावरण रहेको थियो। दोषीलाई अनुसन्धान गरी कारबाही गर्ने भएपछि मलंगवाको तनाव र दुई पक्षबिचको मनमुटाव पनि मत्थर भएको देखिएको छ।

प्रकाशित: ८ आश्विन २०८० १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App