३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

धनगढी उपमहानगरले पठायो १९० ज्येष्ठ सदस्यलाई मुक्तिनाथ तीर्थयात्रा

धनगढी उपमहानगरपालिकाले १ सय ९० ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको छ।

आज आइतबार मेयर गोपाल हमाल लगायतका जनप्रतिनिधिले टीका र खादा लगाएर ज्येष्ठ नागरिकलाई कार्यालय परिसरबाट बिदाइ गरेका थिए। एक साताको यात्रा गरेर उनीहरु फर्कने छन्।

उपमहानगरले पाँच वटा एसी बसमा ज्येष्ठ नागरिकलाई तीर्थ यात्रामा पठाएको हो। उपमहानगरले ज्येष्ठ नागरिकको साथमा प्रत्येक बसमा एक/एक जना स्वास्थ्यकर्मी समेत पठाएको छ। तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथ सहित कागबेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर प्रमुख हमालले बताए। तीर्थयात्री सबैलेलाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरिएको छ।

परिवारको जीविकोपार्जनका लागी पुरा जीवन बिताएका अधिकांश ज्येष्ठ नागरिक आर्थिक अभाव र पारिवारिक समस्याले तीर्थयात्रा जाने चाहाना भएर पनि जान सकेका हुँदैनन्। तीर्थयात्रा गर्ने रहर धनगढी उपमहानगरपालिकाले पुरा गरिदिएपछि ज्येष्ठ सदस्यहरु खुशी भएका छन्।

तीर्थस्थल र धार्मिक स्थलको यात्राले पुण्य कमाइन्छ भन्ने धार्मिक मान्यता रहेकाले उमेरको उत्तरार्धमा रहेका प्राय सबैको चाहना धार्मिक तीर्थस्थल जाने चाहाना हुने गर्छ। आर्थिक अभाव लगायत पारिवारिका समस्याले कयौँको तीर्थस्थल जाने चाहाना पुरा नभई जीवन बितेर जाने गर्छ।

आर्थिक अभाव लगायतका समस्याले जान नसकेका ज्येष्ठ नगारिकहरुले मुक्तिनाथको यात्रामा जान पाउँदा खुशी लागेको बताएका छन्। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले वार्षिक नीति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकलाई मुक्तिनाथको यात्रामा पठाइएको बताए। ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भनेर धार्मिक यात्रा गराइएको उनले बताए।

‘स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई गर्नुपर्ने माया र सम्मानका लागी यो भ्रमण गरेका हौं’ उनले भने। तीर्थयात्रा गराउँदा ज्येष्ठ नागरिकलाई सम्मानका साथै धार्मिक पर्यटनको विकास पनि हुने उनले बताए।

ज्येष्ठ नागरिकलाई प्रत्येक वर्ष भ्रमण गराउने उनले बताए। बाटोमा खाना, पानी लगायतको सबै व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकलाई हुनेखानेले घरमै पनि उचित माया र सम्मान दिन नसकेको वेला स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गरेर तीर्थयात्रा गराउने परम्परा बसेकालेको हो। यसअघि गत कात्तिकमा पनि धनगढी उपमहानगरपालिकाले १ सय ३० ज्येष्ठ सदस्यलाई तीर्थयात्रा पठाएको थियो।

प्रकाशित: ७ आश्विन २०८० १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App