९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मलंगवाको स्थिति नियन्त्रण बाहिर, आज मात्रै ३२ राउण्ड अश्रुग्यास प्रहार

सर्लाही सदरमुकाम मलंगवामा चार दिनदेखि कर्फ्यु लगाइएको भए पनि स्थिति सामान्य हुन सकेको छैन। गत शुक्रबार असोज ४ मा गणेश चतुर्थी तथा विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबिच झडप भएपछि बिग्रिएको मलंगवाको स्थिति अझै प्रहरी प्रशासनको नियन्त्रणभन्दा बाहिर रहेको स्थानीयहरुले बताएका छन्।

मलंगवामा हरेक दिन कर्फ्युको बिचमा नै प्रदर्शनहरु भइरहेका छन् दुई समुदायबिच पूर्णतया तनावको स्थिति रहेको छ। कुनै अप्रिय घटना हुन्छ की भन्ने डर भएको स्थानीय लक्षमण यादव बताउँछन्।

स्थानीयवासीले प्रहरी र प्रशासनकै कारण मलंगवा तनावग्रस्त बनेको आरोप लगाउन थालेका छन्। गत भदौमा कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको ढुंगामुढा प्रहारको घटनाका दोषीलाई स्थानीय प्रशासनले संरक्षण गरेको कारण विश्वकर्मा पूजा र गणेश चौथीको मूर्ति विसर्जनको क्रममा पुनः दुव्र्यवहार गर्ने गरी झडपको स्थिति सिर्जना भएको स्थानीयवासीको आरोप छ।

मलंगवामा तनाव बढेपछि आइतवार पनि प्रहरीले कम्तीमा ३२ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। बजार क्षेत्रमा कर्फ्युका बिचमा पनि प्रदर्शन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउन ३२ राउण्ड अश्रुग्यास प्रहार गरेको हो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत ४ गतेदेखि लगाएको कफ्र्यु तोड्नेमध्ये प्रहरीले २० जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए।

स्थानीय प्रशासनले सबै पक्षसंग संयमता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै पक्षलाई संयमता अपनाउँदै वार्ताको लागि आग्रह गरिएको बताएका छन्।

कफ्र्यु आदेश जारी भएको सदरमुकाम मलंगवाको स्थितिलाई नियन्त्रणमा राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ६०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: ७ आश्विन २०८० १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App