३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पाथीभरा मन्दिरको भेटी छानबिनमा किचलो

इलामको पाथीभरा मन्दिर । तस्बिर :भीम/नागरिक <br>

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।

छानबिन समितिले करिब तीन महिना लगाएर प्रतिवेदन तयार गरी भदौ ३१ मा सिडिओ श्रवणकुमार पोख्रेललाई बुझाएको छ। सिडिओले आफूले प्रतिवेदन अध्ययन गर्ने समय नै नपाएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न नसकेको बताइरहेका छन्। तर, गाउँपालिकाले भने सिडिओले प्रतिवेदन लुकाउन खोजेको आरोप लगाउँदै पालिकाले नै आफूले पाएको तथ्य सार्वजनिक गर्ने तयारी गरेको छ।

पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले प्रशासनले छानबिन प्रतिवेदन सार्वजनिक नगरेको र गाउँपालिकाले पत्र लेखेरै माग्दा पनि कुनै जबाफ नआएको बताएका छन्। ‘गाउँपालिकाको तर्फबाट देखिएको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन, प्रतिवेदन तयार गर्न ढिलो हुनुको कारण, छानबिनको समयको विविध गलत गतिविधि, पालिकाले मन्दिर  व्यवस्थापन गरेपछिको आम्दानी, भावी योजनालगायत विषयमा प्रस्ट पार्न पत्रकार भेटघाट आयोजना गरिएको छ,’ पालिका अध्यक्ष स्याङ्बोले भने। आज (बिहीबार) अपराह्नका लागि गाउँपालिकामै पत्रकार भेटघाट आयोजना गरिएको उनले जनाए।

छानबिनमा मन्दिरको पुरानो समितिले आर्थिक अनियमितता गरेको पाइएपछि प्रतिवेदन नै सार्वजनिक गर्न ‘आलटाल’ गरिएको आरोप छ। २५ दिनको अवधि दिएर गत जेठ २३ मा सहायक सिडिओको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सहायक सिडिओ ध्रुव कोइराला संयोजक रहेको समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालय, सहरी विकास तथा भवन कार्यालय, रोङ गाउँपालिकाका प्रतिनिधि र एक अडिटर सदस्य छन्। तर, समितिले छानबिनका लागि करिब तीन महिना लगाएको छ।

गाउँपालिकाले मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न गत वैशाख र जेठमा प्रशासनमा पटक–पटक पत्राचार गरेको थियो। तर, त्यति बेला प्रशासनले मन्दिरको पुरानो पाथीभरा संरक्षण संस्था र पालिकाले गठन गरेको समितिबिच ‘छलफल’ चलाउने तयारी गरेको भन्दै तिक्तता सिर्जना भएको थियो। मन्दिरको पाँच वर्षदेखिको हिसाब–किताब पारदर्शी नभएको गाउँपालिकाको भनाइ छ। छ वर्षदेखि नवीकरण नभएको पाथीभराको पुरानो समितिमाथि छानबिन गर्न पालिकाले प्रशासनलाई पत्राचार गरेको थियो। त्यसपछि प्रशासनले छानबिन समिति गठन गरेको थियो।

गाउँपालिका अध्यक्ष स्याङ्बोले छानबिन समितिले गरेको छानबिन नै शङ्कास्पद रहेको बताए। ‘हामीलाई छानबिन समिति गठन गर्दा नै शंका थियो, यो पालिकाका चार्टर एकाउन्टेन्ट पनि त्यसमा सदस्य हुनुहुन्छ तर सिडिओ कार्यालयको दबाबमा प्रतिवेदन तयार गरिएको छ,’ अध्यक्ष तामाङले भने, ‘छानबिनमा कमजोरी भएकोबारे पालिकाले पटक–पटक ध्यानाकृष्ट गराउँदा पनि समितिले वास्ता गरेन।’ अध्यक्ष स्याङ्बोले छानबिन प्रतिवेदनमा पालिकाका प्रतिनिधि सदस्यले देखेको यथार्थ र छानबिन क्रममा भएको कमजोरी पनि गाउँपालिकाले सार्वजनिक गर्ने बताए।

सिडिओ पोख्रेलले छानबिन समितिले भदौ ३१ गते साँझ प्रतिवेदन बुझाएको तर आफूले अध्ययन गर्न नपाएको बताए। ‘अघिल्लो दिन साँझ प्रतिवेदन आएको छ। प्रशासनले प्रतिवेदन अध्ययनपछि सार्वजनिक गर्ने सूचना प्रशासन कार्यालयको आधिकारिक सामाजिक सञ्जालमा असोज १ गते बिहानै लेखिएको छ,’ उनले भने, ‘असोज १ देखि आज (असोज ४) सम्म मलाई प्रतिवेदन खोलेर हेर्ने समय पुगेको छैन।

असोज २ गते संविधानसभा अध्यक्ष दिवङ्गत सुवासचन्द्र नेम्बाङको प्रदेशस्तरीय श्रद्धाञ्जली सभा इलाममै आयोजना गरिएको थियो। त्यसका लागि असोज १ देखि नै ‘भिआइपी’ आएपछि आफूसहित सिङ्गो सुरक्षा समिति त्यतै व्यस्त भएको, २ गते दिनभर श्रद्धाञ्जली सभा र संविधान दिवसको तयारी, असोज ३ गते संविधान दिवसका कार्यक्रम भएकाले आफूले प्रतिवेदन अध्ययन गर्न नपाएको सिडिओ पोख्रेलले बताए। ‘अध्ययनपछि सार्वजनिक गर्ने भनिएकै छ,’ उनले भने, ‘छानबिन समितिमा शंका गर्नुपर्छ जस्तो लाग्दैन। समिति गठन गर्दै गर्दा कोही असन्तुष्ट पनि थिएनन्। छानबिनमा प्रशासनले हस्तक्षेप गर्ने कुराको कल्पना पनि नगरौँ, त्यो आरोप मात्र हुन्छ।’

पाथीभरा संरक्षणका लागि पालिकाले गठन गरेको समितिले जेठमा एक सय आठ दिनभित्रमा ७३ लाख आम्दानी भएको विवरण पाएपछि त्यसअघिको आम्दानीमा आशंका उत्पन्न भएको हो। पुरानो समितिले एक वर्ष सात महिनाको आम्दानी ४७ लाख रुपैयाँ मात्र भएको विवरण दिएको थियो। पालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन–२०७९ जारी गरी गत फागुन १ देखि मन्दिरलाई पालिकामातह ल्याएर पाथीभरा विकास समिति गठन गरेको छ। तर, त्यसअघिको पाथीभरा संरक्षण संस्थाले २०७३ सालयताको कुनैपनि हिसाब–किताब नबुझाएको, साधारणसभा नगरेको र यो संस्था त्यस बेलादेखि नवीकरणसमेत नभएको पालिकाले जनाएको छ। संस्थाले आफ्नो नवीकरण र साधारण सभासमेत नगरेपछि यहाँको ठूलो रकम हिनामिना भएको आशंका पालिकालाई छ।

पुरानो समितिका सचिव दिलीप राईले समितिले हिसाब–किताब हिनामिना नगरेको, उठेको रकम मन्दिर संरक्षणमै खर्च पनि भएको र हिसाब–किताब नलुकाएको दाबी गर्दै आएका छन्। 

प्रकाशित: ४ आश्विन २०८० ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App