१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

देउवालाई पार्टीको अभिभावक बन्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न शेरबहादुर देउवा पक्षलाई आग्रह गरेका छन्। थापाले शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगले वैधानिकताको विवाद टुंग्याइसकेकाले अब यो पक्ष र त्यो पक्ष नभनी मिलेर अघि बढ्न देउवा पक्षलाई आग्रह गरेका हुन्।

थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षकको भूमिका निर्वाह गरिदिन पनि आग्रह गरेका छन्। सानेपामा समानान्तर गतिविधि भइरहेको सन्दर्भमा थापाले भने, ‘म श्रद्धेय शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, उहाँले देशभरका साथीहरूलाई आह्वान गर्दिनुपर्छ, भन्दिनुपर्छ अब रोक, सकियो अब। एउटा चरणसम्म हाम्रा विमतिहरू रहे तर अब निर्णय भइसक्यो। मिलेर जाऔं।’

देउवाले अभिभावकत्व ग्रहण गरेर पार्टीलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्नुपर्नेमा थापाले जोड दिए।

पार्टीको अधिवेशन र नेतृत्व चयन प्रक्रियामा चित्त नबुझेर निर्वाचन आयोगमा जानुलाई आफूले स्वाभाविक रूपमा लिएको भन्दै थापाले अब आयोगले निर्णय गरिसकेपछि त्यसलाई सबैले मान्नुपर्ने बताए। ‘यो प्रक्रिया विधानसम्मत् भयो कि भएन भनेर परीक्षण गर्ने निकाय निर्वाचन आयोग हो, आयोगले निर्णय गरिसकेपछि त्यसलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘रेफ्रीले ह्विसिल फुकिसकेपछि खेल सकिन्छ, अब हामीसँग दायाँबायाँ गर्ने समय छैन।’

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले पार्टीसँग समयको ठुलो दबाब रहेको थापाले बताए। ‘हामीलाई गुटगत राजनीतिभन्दा पनि समयको प्रेसर छ,’ उनले भने, ‘दुई दिनभित्र धेरै काम टुंग्याउनुपर्नेछ।’

थापाले आफू डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासहितका नेताहरूसँग निरन्तर संवादमा रहेको जानकारी पनि दिए। ‘हामीले संवाद गरिरहेका छौं, एकदुई दिनभित्रै हामी सबै एक ठाउँमा आएर, एकढिक्का भएर निर्णय गरेको देख्न पाउनुहुनेछ,’ उनले भने।

थापाले देउवा पक्षबाट घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरू पनि फिर्ता हुने विश्वास व्यक्त गरे। संस्थापक नेताहरूले स्थापित गरेका मूल्य मान्यतालाई जोगाउँदै नयाँ युगको चेतनाअनुसार पार्टीलाई अघि बढाउने आफ्नो योजना रहेको उनले बताए।

देउवा पक्ष अदालत जाने

 नेपाली कांग्रेस (देउवा पक्ष) ले निर्वाचन आयोगले गरेको निर्णय मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।

आयोगले कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यासमितिलाई आधिकारिकता दिने निर्णय गरेको भोलिपल्टै शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। सानेपास्थित बिपी स्मृति भवनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आयोगको निर्णय दूषित मनसायबाट प्रेरित रहेको ठहर गरेको हो।

बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’ विज्ञप्तिमा निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानुन र आयोगकै विगतका नजिरहरूलाई लत्याएको आरोप लगाइएको छ।

शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले बुझाएका प्रमाण र पत्राचारलाई बेवास्ता गर्दै आयोगले ‘तथाकथित विशेष महाधिवेशन’लाई मान्यता दिएको बैठकको निष्कर्ष छ। ‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको ठहर यो बैठक गर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित समितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्‍याउने नियत आयोगको देखिएको देउवा पक्षको दाबी छ।

आयोगको निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार खोज्ने र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दामामिला गर्न तथा अन्य कानुनी प्रक्रिया अघि बढाउनका लागि कार्यवाहक सभापति खड्कालाई अख्तियारी प्रदान गरेको छ।

सर्वोच्चबाट ‘स्टे अर्डर’ हुनेमा ‘ढुक्क’

देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय अन्यायपूर्ण रहेको भन्दै सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ (अन्तरिम आदेश) आउनेमा आफूहरू ढुक्क रहेको बताएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले निर्वाचन आयोगले दूषित मनसाय राखेर निर्णय गरेको आरोप लगाउँदै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन्।

‘हामी यसको खिलाफमा सर्वोच्च अदालत जान्छौं। यो अन्यायपूर्ण र दूषित मनसायबाट गरिएको निर्णय हो। सर्वोच्चमा हामी आफ्नो केस प्रस्तुत गर्छौं’, उनले भने, ‘शेरबहादुरजीको सभापतित्वमा, यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने भन्ने कुरा हुँदैन। भोलि हामी सर्वोच्च जान्छौं।’

निर्वाचन आयोगले आफ्नो पक्षलाई नबोलाईकन एकलौटी निर्णय गरेको आरोप पनि उनले लगाए। ‘निर्वाचन आयोगले हामीलाई बोलाएन, हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि पुरा गरेन। नजिर, हाम्रो विधान र निर्वाचनसम्बन्धी व्यवस्थालाई आयोगले पालना नगरेको हाम्रो ठहर छ’, उनले भने।

सर्वोच्च अदालतले न्यायको पक्षमा निर्णय दिन्छ भन्ने आफूहरु विश्वस्त रहेको उनले सुनाए। ‘राजनीतिक रूपमा पनि प्रतिरोध गर्ने विभिन्न स्वरूप हुन सक्छन्, त्यसमा हामी छलफल गर्छौं’, उनले भने।

अदालतबाटै न्याय खोज्छौं: शेखर

नेपाली कांग्रेसको शेखर कोइराला समूहले पनि गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने भएको छ। कोइरालाले शनिबार बिहान आफूनिकट नेताहरूसँगको छलफलमा आयोगको निर्णयविरुद्ध आफूहरू विपक्षमा उभिएकाले अदालतबाटै न्याय खोज्ने बताएका हुन्। तर उनले आफूहरू आन्दोलनको पक्षमा नरहेको पनि बताए।

आफूनिकट नेताहरूसँग छलफल परेपछि कोइराला पनि देउवा पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका थिए। बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।

प्रकाशित: ४ माघ २०८२ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App