सुदूरपश्चिम प्रदेश
धनगढी उपमहानगरले निःशुल्क शव वाहन सेवासँगै दाहसंस्कार गर्न ५ हजार दिने भएको छ।
उपमहानगरले विपन्न परिवारलाई आफन्तजनको निधन हुँदा आर्थिक अभावले अन्त्येष्टि गर्न समस्या नहोस् भनेर ५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।
कर्णाली प्रदेश
कर्णालीमा पहिलो पटक कर्णाली प्रदेश अस्पतालले एमआरआई मेसिनबाट सेवा सुरु गरेको छ।
प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले सुर्खेतमै एमआरआई मेसीनबाट सेवा सुरु भएपछि अब उपचारका कर्णालीका नागरिकहरु बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताए। मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको छ। २९ करोड ७१ लाख रुपैयाँमा एमआरआई मेसिन खरिद गरिएको हो।
लुम्बिनी प्रदेश
सर्वोच्च अदालतबाट ठगी मुद्दामा सजाय तोकिइ फरार रहेका दाङका यज्ञबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको।
चौध लाख पचास हजार ठगी गरेका उनलाई सर्वोच्चले दोषी करार गरेको थियो। बैङ्किङ कसूर मुद्दामा सजाय तोकिएका उनी फरार थिए। प्रहरीले उनलाई घोराही बाट नियन्त्रणमा लिएको हो।
गण्डकी प्रदेश
पोखरा उपत्यकाभित्रका नौ वटा ताल र महानगरपालिकाका १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्याक निर्माण हुने भएको छ।
बागमती प्रदेश
नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।
गैँडाकोट नगरपालिका वडा नं. ७ स्थित नारायणी नदीको गैरी भन्ने स्थानमा पौडी खेल्दा मृत्यु भएको हो। मृत्यु हुनेमा सोही स्थानका दाजुभाई रहेका छन्।
मधेस प्रदेश
मधेस प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। सोमबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइएको हो।
भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ चौरचन भनिन्छ। संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो।
कोसी प्रदेश
भारतबाट चोरी तस्करी गरेर ल्याइएका माछा मोरङ प्रहरीले नष्ट गरेको छ। मोरङको विभिन्न स्थानबाट उक्त माछा बरामद गरी नष्ट गरिएको हो।
भारतका विभिन्न क्षेत्रबाट अवैध रुपमा ल्याउने क्रममा मृत अवस्थाका समेत रहेका माछा फेला परेको १ हजार ७ सय ७७ केजी माछा मोरङ प्रहरीले नष्ट गरेको जनाएको छ।
प्रकाशित: १ आश्विन २०८० १९:४७ सोमबार