४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ। चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो।

सात वर्षको प्रयासमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरधुरी लाभान्वित भएका छन्। खानेपानी, जलस्रोत तथा सिंचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित झन्डै एक करोड ५० लाख रुपैयाँको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न गरेको लोमान्थाङ-२ का वडाध्यक्ष कर्म नामगेल गुरुङले बताए।

‘एक सय ८६ घरधुरीमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ’, उनले भने, ‘बाह्र वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो। सात वर्ष लगाएर योजना सम्पन्न भएपछि घरघरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ।’

कोरला नाका नजिकै रहेको च्याउङछु भन्ने स्थानमा रहेको मूलबाट झन्डै १५ किलोमिटर लामो पाइप लाइनबाट छोसेरमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिङले बताए। तीस हजार लिटरको एक र २० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भएको छ।

समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रको मुहानबाट पानी ल्याइएको छ। एक सय ८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको अध्यक्ष छिरिङले बताए।

‘सात वर्षअघि योजना सुरु भए पनि कोरोना महामारीका कारण दुई वर्ष बजेट नआएपछि काम हुन सकेन’, उनले भने, ‘आर्थिक वर्ष २०७९/८० मा पर्याप्त बजेट आएकाले योजनाले पूर्णता पाएपछि वर्षौँदेखिको सपना पूरा भएको छ। गत हप्तादेखि खानेपानी वितरण भएको छ।’

खानेपानीका लागि खर्च हुने समय र श्रमको बचत भएको छ। यसअघि सार्वजनिक धारामा पर्याप्त पानी नआउने समस्या थियो।

योजनालाई दिगोरूपमा सञ्चालन गर्न एकजना हेरालु राखिएको छ। सो योजनामा गत आर्थिक वर्षमा ७२ लाख २४ हजार रुपैयाँ बराबरको काम भएको खानेपानी, जलस्रोत तथा सिंचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङका सबइन्जिनियर प्रताप सार्कीले बताए।

उनका अनुसार चालु आवमा छ लाख १७ हजार रुपैयाँ बराबरको काम भएको छ। कोरोना महामारीका कारण दुई वर्ष काम नभएको र मुहान टाढा भएकाले योजना सम्पन्न गर्न समय लागेको उनले बताए।

प्रकाशित: ३१ भाद्र २०८० ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App