७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्तो थियो हङकङदेखि काठमाडौँसम्म फैलिएको सुन तस्करहरूको जालो

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ।

आरोपीमाथि विभिन्न सातवटा कसुरमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सिआइबीले आज सरकारी वकिलमा पेश गरेको हाे।

सीआईबी अनुसन्धानले ब्रेक शुमा राखेर कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ। अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभिन्न सात वटा कम्पनीबाट तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए।

उक्त घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन्। त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका उनले बताए। उक्त प्रकरणमा प्रत्यक्ष रुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ।

विभिन्न सात वटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको र बाँकी अनुसन्धान जारी रहने अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। थापाका अनुसार ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको छ।

यसरी भएको थियो सुन तस्करी

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६१ किलो सुन सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। सीआईबीको अनुसन्धानबाट खुले अनुसार सुन तस्करीको जालो हङकङबाटै सुरु हुन्छ।

हङकङको कार्गो कम्पनी क्यारी अन ग्लोबल लजिस्टिक लिमिटेड मार्फत एयर कार्गो गरेर पठाएको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्थ्यो। यी सामान विमानस्थलसम्म ल्याइपुर्‍याउन तीन सिपर कम्पनीको प्रयोग भएको देखिन्छ।

सीआईबीका अनुसार जियाङ्मेङ फेङ्टङ यातायात कम्पनी, ताल्मुड कम्पनी लिमिटेड र डोङग्वाङ सुता यातायात कम्पनी लिमिटेडको सहयोग ब्रेक शु र विद्युतीय उपकरण मार्फत तस्करीको सुन नेपाल आइपुगेका थियाे। सुन विमानस्थलसम्म ल्याइपुर्‍याउन मुख्य भूमिका खेल्नेमा दुई चिनिया नागरिक मिस्टर लिन, मिस लि सहित थप तीन जना छन्। सीआईबीले अन्य तीन जनाको नाम खुलाएको छैन। यी पाँच जनालाई सीआईबीले ‘टप लेभल’ मा राखेको छ।

हङकङबाट कार्गो मार्फत आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पुर्‍याउने कामको नेतृत्व तिब्बती मूलका भारतीय नागरिक थुप्टेङ छिरिङ (ताशी) ले गर्ने गरेका थिए। 

तस्करीको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विमानस्थल भन्सार पास भएर आइपुगेपछि भन्सार एजेन्ट यादव पराजुली मार्फत थुप्टेङ छिरिङ (ताशी) को कमान्डमा पुग्थयाे। जसमा दुई नेपाली हर्कराज राई र राजेन्द्र राई सहयोगीका रुपमा देखिन्छन्।

सुन लुकाएर ल्याउने सामानहरु आयात गर्न थुप्टेङले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेका थिए। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि, रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन्।

६० किलो सुन आयात गर्ने ब्रेक शु ल्याउने रेडी ट्रेड भने दिलीप भुलेजको नाममा खोलिएको थियो। हङकङबाट सुन पठाएको खबर ली र लीनले थुप्पेनलाई दिन्थे। उनले हर्कराज राईले सहयोगमा भन्सार जाँच पास पुरा गर्थे। 

विमानस्थल भन्सारबाट पास भएपछि सुरु हुन्छ, पाट पुर्जामा लुकाएर ल्याएको सुन गाल्ने र बिस्कुटको आकार दिने काम। यसका लागि टोखा र लाजिम्पाटमा दुई वटा गोदाम राखिएकाे थियो।

टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङले लिएका थिए।उनी सहित स्टेप्स् भनिने लि नेङकाई, साउटेन भनिने डिङ शेग फ, र अलि भनिने लि वेङ टिसङ टोखा गोदामको समूहमा थिए। टोखामा एक टहरो भित्र सुन गाल्न काम हुन्थ्यो। 

सुन गाल्ने र बिस्कुटको आकार दिने काम पूरा भएपछि सुरु हुन्छ ढुवानी गर्ने काम। टोखा समूहले तीन वटा गाडी भाडामा लिएर सुन दुवानीमा प्रयोग गर्ने गरेको खुलेको छ। उनीहरुले डस्टरस् बि ए बि ५९८९, क्रेटास् बि १६ छ ९३००, र बेजास् बि १६ छ १७७१ नम्बरको गाडी प्रयोग गरेका थिए। 

यसै गरी लाजिम्पाटको समूहको नेतृत्व झोङ जिङ चुहाङ (स्याम) ले गरेका थिए। उनका समूहमा छिङ पेङ योङछिन, दाओ जिङ वाङ, फेङ चिङ लिन, र पेङ लिङ फेङ थिए। लाजिम्पाटको समूहले भने दुवानीमा भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थिए। उनीहरुले लाजिम्पाट भाडामा लिएको कोठामा सुन पगाल्ने काम गर्थे।

दुवै समूहले थुप्तेनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे। यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने ‘टप लेभल’ भनिएका ५ जनाको समूहले हेर्थे। समूहमा दाओ जिङ वाङ, छिङ पेङ योङछिन, फेङ छिङ लिङ पेङ छिङ लिङ, झोङ जिङ चुहाङ थिए। तस्करी गरेर ल्याएको सुन कसलाई बेच्ने काम भने हङकङबाटै तय हुन्थ्यो।

अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले सुन किन्नेलाई कोडका रुपमा नेपाली वा भारतीय नोटको नम्बर वा कोड दिन्थे। त्यही कोड टोखा वा लाजिम्पाटको समूहलाई पनि दिइएको हुन्थ्यो। त्यो कोड लिएर कोही आयो भने भेरिफाइ गर्ने र सुन दिने गर्थे। साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिन्छ। सुनको पैसा भने डिजिटल वालेट र क्रिप्टो करेन्सीको माध्यमबाट हङकङमा रहेको समूहमा पुग्ने गरेको पाइएको सीआईबीले जनाएको छ।

सीआईबीले अनुसन्धान सकेको ब्रेक शुमा लुकाएर ल्याएको सुन थुप्तेनले रिसिभ गरेपछि टोखाको समूहले रिसिभ गरेर गाल्ने र वितरण गर्ने जिम्मा लिएको थियो। यो समूहले गालेर बिस्कुट आकार दिएको सुन बजारसम्म पुर्‍याउन सुमन खरेललाई प्रयोग गरेका थिए।

सुमनले बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफसम्म पुर्‍याएका थिए। सुन किन्नेमा भारतीय व्यवसायी पनि रहेका छन्। उनीहरुको नाम खुलेको छैन। सुनको पैसा लिने जिम्मा भने दावा छिरिङले लिएको थिए। नक्कली कागजात प्रयोग गरेर नेपालको नागरिकता र पासपोर्ट समेत लिएका बेल्जियमका नागरिक दावाले ठमेलमा होटल भियाना समेत चलाएका थिए। 

सुन तस्करी प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी सीआईबीले प्रतिवेदन तयार पारेकाे छ।

प्रकाशित: २७ भाद्र २०८० १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App