३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तस्करीमा लागेन ‘ब्रेक’

फाइल।

सर्लाही र रौतहटका नाकाबाट हुने खुलेआम तस्करीमा ‘ब्रेक’ लाग्न सकेको छैन। सर्लाही प्रहरीले तस्करी नियन्त्रण गर्न अभियान नै संन्चालन गरेता पनि तस्करी नियन्त्रणमा भने कुनै कमी नदेखिएको हो।

पछिल्लो एक हप्ता भित्र सर्लाही प्रहरीले एक करोडभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुबेदीले कमान्ड सम्हालेदेखि तस्करी नियन्त्रण गरी शून्य सहनशीलता अपनाउन निर्देशन दिए पनि निर्वाध रुपमा तस्करी भइरहेको छ।

मंगलबार मात्र सर्लाहीमा लाखौँ बराबरको तस्करीमा सामान प्रहरीले नियन्त्रणमा लियो। तस्करीका सामानसहित चार जना तस्कर पक्राउ परे। सर्लाहीको फेनहारा नाकाबाट चिनी, तेल, पेय पदार्थसहित चार वटा मोटरसाइकल र चार जना कारोबारी पक्राउ परेपछि तस्करी भइरहेको पुष्टि भएको छ।

सर्लाहीको सीमावर्ती क्षेत्रमा भारतको मेजरगन्जबाट ज ५ प – १५८३, बिआर ३० भि – ८६३७, बिआर ३० एच– ३३८१ र बिआर ६ एक्यु ९५०६ नम्बरको मोटरसाइकलाम ल्याइएको १० बोरा चिनी, तीन कार्टुन डिउ र दुई बोरा खाने तेलसहित सर्लाही बरहथवाका राम बालक मुखिया, रामबाबु राय, असमित कुमार यादव र रामबाबु साहलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियारले बताए।

डिएसपी पन्जियारका अनुसार पक्राउ परेका चारै जनालाई आवश्यक कार्यवाहीको लागि मलङगवा भन्सार कार्यालयमा बुझाइएको छ।

डिएसपी पन्जियारले यो हप्तामा मात्रै सर्लाहीको हरिवनमा तीन ट्रक किराना सामानसहित करिब एक करोडको सामान नियन्त्रणमा लिएको बताए। उनले तस्करी नियन्त्रणको अभियान अन्तर्गत एक हप्तामै करोडभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको सुनाए।

सर्लाहीको संङ्गामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, गोरखकाली, खुटौना, भाडसर, सिमरा फेनहारा नाकाबाट खुलेआम तस्करी भइरहेको छ। सर्लाहीको विभिन्न नाका हुँदै दर्जनभन्दा बढी सशस्त्र र नेपाल प्रहरीको पोस्ट छलेर तस्करीको सामान बरहथवा बजारसम्म सहजै रुपमा पुग्ने गरेको स्थानीयवासी बताउँछन्।

सशस्त्र प्रहरीको मनुसमारा, सुन्दरपुर चौहर्वा तथा नेपाल प्रहरीको इलाका प्रहरी बरहथवा, हजरिया, मानपुर, बगलवा, हरकठवा, सिसौट, गडहिया डुमरिया, गोडैता लगायतका एरियाबाट तस्करीको सामान तस्करहरुले सहजै रुपमा सुरक्षाकर्मीलाई नजराना तिरेर तस्करी गरिरहेको स्रोतले जनाएको छ।

एसपी सुवेदीलाई ‘गुड फेथ’ मा लिएर मातहतका युनिटहरुले तस्करी गराइरहेको स्थानीयको आरोप छ। सर्लाहीका विभिन्न नाकामा खटिएका सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्ने गरेको छ। सर्लाहीको तस्करी नियन्त्रणमा अपेक्षाकृत सफलता पाउन नसक्नुमा सशस्त्र प्रहरीले तस्करहरुलाई सघाइरहेको स्थानीयहरुको आरोप छ।

यस्तै रौतहटको बङ्कुल, बशिस्ट चौक, ब्रहम्पुरी, बेलबिछवा नाकाबाट पनि खुलेआम तस्करी भइरहेको छ।

एक हप्तामा रौतहट प्रहरीले करिब बीस लाखको सामान समातेर भन्सार बुझाएको एसपी श्रेष्ठले जानकारी दिए। मातहतको मिलेमतो तस्करी भइरहेको सूचना आएपछि एसपी श्रेष्ठले छुटै टोली परिचालन गरेर तस्करी नियन्त्रणमा लागेको बताए।

प्रकाशित: २६ भाद्र २०८० १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App