१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मुस्लो छोड्दै जुरे पहिरोबाट डाँडै खस्यो

तस्बिर सौजन्य: प्रदीप पौडेल/स्थानीय

नौ वर्ष अघि तीन गाउँ सुलुत्त बगाएर १ सय ४५ को ज्यान लिएको जुरे पहिरोबाट सोमबार फेरि ठुलो सुख्खा पहिरो झरेको छ।

सोमबार बिहान पुरानो पहिरोको सबैभन्दा माथिल्लो भागमा रहेको अमलेडाँडा नै खसेको हो। जमिन थर्काउँदै धुँवाको मुस्लो झैँ सुख्खा पहिरो खस्दा स्थानीय त्रसित बनेका थिए।

‘जमिन बेस्सरी हल्लियो। सँगसँगै सुख्खा माटोको मुस्लो छोड्दै जुरे पहिरोको शिरान अमलेडाँडा नै खस्यो,’ घटनास्थल नजिकै रहेका प्रत्यक्षदर्शी स्थानीय प्रदीप पौडेलले भने।

जमिन हल्लाउँदै आवाजसहितको पहिरोपछि स्थानीय त्रसित बन्दै घरबाहिर निस्किएको उनले बताए। उनका अनुसार सुख्खा पहिरो निम्तिएको क्षेत्रमा शनिबार ठुलै पानी परेको थियो। आइतबार घाम नलागे पनि पानी भने परेको थिएन। सोमबार बिहानैबाट चर्को घाम लागेको थियो।

२०७१ साउन १७ गते गएको जुरे पहिरोले तीन गाउँ सुलुत्त बगाउँदै १ सय ४५ को ज्यान लिएको थियो। ३३ को शव भेटिए पनि बाँकी अझै फेला परेका छैनन्। सरकारले पहिरोमा बेपत्ता सबैलाई मृत घोषणा गरेको थियो। त्यति बेलाको पहिरोले बर्खाको सुनकोसी नदी १२ घण्टासम्म टम्म थुनेको थियो।

बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सीमा पर्ने पहिरोग्रस्त क्षेत्रबाट बर्खामा त्यसयता स–साना ढिस्का र लेदो, ढुंगामाटो बगिरहे पनि यति ठुलो पहिरो खसेको यो पहिलोपल्ट भएको स्थानीय पौडेलले जानकारी दिए। क्षण–क्षणमा सुख्खा ढुंगामाटो बग्ने क्रम अहिले पनि जारी छ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने ठुलै सुख्खा पहिरो गएको देखिए पनि जनधनको कुनै क्षति नभएको बताए।

‘पहिलेको जुरे पहिरोको सबैभन्दा माथिल्लो भागबाट एउटा ढिस्को नै खसेको देखिन्छ,’ उनले भने।

५ सयदेखि हजार मिटर फराकिलो आकार लिँदै डेढ किलोमिटर माथिबाट जुरे पहिरो खसेको थियो। अहिले पुरानो पहिरोको सबैभन्दा माथिको भागमा रहेको अमलेडाँडा नै खसेको हो। झण्डै ५० मिटर चौडाइको आकार लिएर खसेको ढिस्कोको गेग्रान पहिरोको बीच भागमा थुप्रिएको छ। सडकसम्म नआइपुगेकाले अरनिको राजमार्ग भने अवरुद्ध छैन।

स्थानीय पौडेलका अनुसार पहिरोमाथि नजिकै तल्लोभट्टी र छेउमा ओखरबोटे लगायत गाउँ छन्। पहिरोकै मुखैका केही घर उच्च जोखिममा छन्। पहिरोको मुखैका स्थानीय रामजी रायको घर सबैभन्दा बढी जोखिममा छ।

‘सुख्खा पहिरो झरिरहे वा वर्षा भएर थप पहिरो गए बस्तीहरु जोखिममा पर्न थाल्छन्,’ उनले स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै भने।

घटनाको आसपास रहेका बस्ती सम्भावित पहिरोको जोखिममा रहे÷नरहेबारे बुझ्न प्रहरीलाई निर्देशन दिएको प्रजिअ न्यौपानेले जानकारी दिए। घटनास्थलमा सुरक्षाकर्मी तैनाथ रहेको जनाउँदै उनले प्रहरीको रिपोर्टिङका आधार कदम चाल्ने बताए।

प्रकाशित: २५ भाद्र २०८० ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App