४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा सुरक्षा संवादमा समस्या: हाम्राले जान्दैनन् चिनियाँ, उनीहरूले बुझदैनन् नेपाली र अंग्रेजी

नेपाल–चीन नाकामा खटिएका सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले चिनियाँ भाषा जान्दैनन्। भाषा नजानेपछि कतिपय अवस्था दुई पक्षले उल्टो बुझ्ने गर्छन्। यसले सीमाका समस्या समाधान हुने भन्दा पनि बल्झिने गरेको सीमामा खटिएका सुरक्षाकर्मीहरूको अनुभव छ।

चिनियाँ सुरक्षाकर्मी नेपाली त बोल्दैनन् नै अंग्रेजी पनि पटक्कै बुझ्दैनन्। बुझिहाले पनि बोल्न चाहँदैनन्। बरु केही सीमामा उनीहरूले दोभासे राखेका छन् र ती दोभासेले नेपाली र अंग्रेजीलाई चिनियाँ भाषामा उल्था गरेर सुनाउँछन्। हो, यसैगरी हुन्छ, उत्तरको सुरक्षा संवाद।

नेपाल–भारत सीमामा भन्दा नेपाल–चीन सीमामा भाषाको समस्याले सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) मा खटिनेहरूलाई बढी पिरोलेको पाइन्छ। उत्तर तर्फ ९ वटा बिओपी स्थापना भएका छन्। यी पोस्टमा खटाउन चिनियाँ भाषा जानेका सुरक्षाकर्मीको अभाव छ। पुग्ने संख्यामा खटाइने सुरक्षाकर्मीलाई चिनियाँ भाषा पढाउने र सिकाउने संयन्त्र सशस्त्र बल भित्र विकास भएको देखिदैन्।

खासगरी नेपाल–चीन सीमा क्षेत्रमा भाषाको समस्या नहोस् भनेर सशस्त्र प्रहरीले सकेसम्म भाषा जानेका सुरक्षाकर्मी पठाउने प्रयास गरिरहेको छ। तर सबैले चिनियाँ भाषा जानेका छैनन्। बिओपीमा खटिएका सुरक्षाकर्मीलाई ६/६ महिनामा परिवर्तन गर्दा चिनियाँ भाषा र रहनसहन बुझ्न समस्या भएको छ।

बिओपी कमान्डर र गस्तीमा खटिने सुरक्षाकर्मी भाषा बुझ्न नपाउँदै फिर्ता भइसक्ने अवस्था छ। यसले गर्दा भाषा र रहनसहनबारे बुझ्नै नपाई फर्कँदा अघिल्लो टोलीले पछिल्लो टोलीलाई आफ्नो अनुभवबाहेक अरू केही बताउनै सक्दैनन्।

‘तिंकरमा खटिनेहरूले चिनियाँ भाषाको तालिम लिँदै छन्। बोर्डरमा हुने समस्यालाई मध्यनजर गरेर उक्त भाषाको तालिम दिने गरिएको छ,’ सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने। उनका अनुसार दार्चुला सदरमुकामबाट करिब ११२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो।

प्रहरी महानिरीक्षक राजु अर्यालले अहिले आएर चिनियाँ भाषा जानेकालाई मात्र खटाउन निर्देशन दिएका छन्। यद्यपि सबै ठाउँमा भाषा नै जानेकालाई खटाउन सम्भावना नभएको सशस्त्रले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म छांगरु दार्चुलाको मातहतमा स्थापना भएको उक्त बिओपी सो गुल्मबाट करिब ११ किलोमिटरको दुरीमा छ। सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकका तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ।

सशस्त्रले चीनतर्फ गस्ती गरिरहेको हुम्लाको हिल्सा नाका सबैभन्दा संवेदनशील मानिन्छ। मानसरोवर यात्राका लागि भारतीय पर्यटकहरू त्यही नाका भएर जाने भएकाले त्यहाँ चिनियाँ सुरक्षाकर्मी, चिनियाँ जनमुक्ति सेनाका अधिकारी र सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूबीच समन्वय हुने गरेको छ। जसले गर्दा सशस्त्र प्रहरीले हुम्लाको हिल्सा नाकालाई प्राथमिकतामा राखेको छ। त्यहाँ सशस्त्र प्रहरीका अधिकारीलाई मुख्यालयले चिनियाँ भाषामा दक्ष भएकालाई मात्र खटाउने गरेको छ।

कुनै स्थानमा चिनियाँ पक्षले दोभासे राखेकाले पनि सहज भएको छ। ‘सशस्त्र प्रहरी बल नेपालले चीनसँग जोडिएको सीमामा बिओपी स्थापना गरिरहेको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रले बोर्डरम संयुक्त गस्ती पनि गुर्नपर्छ। तर भाषाको समस्या छ,’ सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘यो समस्या समाधान गर्ने प्रयास गरिए अवस्था ज्यूँका त्यूँ छ।’

मुस्ताङको कोरला नाकानजिकै नेचुङमा सशस्त्र प्रहरीको बिओपी राखिएको छ। त्यहाँ चिनियाँ अधिकारीहरूले दोभासे राखेको छ। चिनियाँहरूले अंग्रेजीभन्दा आफ्नै भाषालाई प्राथमिकता दिएका कारण सशस्त्र प्रहरीले पनि उत्तरतर्फ खटिने कर्मचारीका लागि भाषा अनिवार्य गरेको हो।

‘खासगरी चिनियाँ सुरक्षा अधिकारीहरूले दोभासे राखेको स्थानमा नेपालीहरूले अंग्रेजी वा नेपाली दुवैमा कुराकानी गर्छन् र दोभासेले चिनियाँ भाषामा अनुवाद गरेर सुनाउँछन्। यसरी नै समस्या सुल्झाउने गरिएको छ,’ सहायक प्रवक्ता थापाले भने।

संखुवासभामा किमाथांकामा भने नेपालतर्फका स्थानीय बासिन्दाको सहयोगबाट काम चलाइएको छ। त्यहाँ रहेका कमान्डरले चिनियाँ भाषा जानेका भए पनि फिल्डमा खटिनेहरूले भने भाषा जानेका छैनन्। त्यहाँ स्थानीय तहका जनप्रतिनिधि र शिक्षकको सहयोग लिने गरिएको छ।

‘सकेसम्म सबै स्थानमा चिनियाँ भाषा जानेकाहरूलाई पठाउने योजना छ। हाम्रो पाठ्यक्रम पनि छ त्यहीअनुसार चीनतर्फको बिओपीमा जानेहरू काठमाडौमा भाषा पनि पढ्दैछन्। उनीहरू केही दिनमा तिंकर पुग्छन्।

अन्य स्थानमा पनि कोही न कोही भाषा जानेका जवान वा अधिकृतहरू खटिएका छन्,’ सहायक प्रवक्ता थापाले भने। तातोपानी, लामाबगर पनि समस्या किमथांका भन्दा फरक छैन, त्यहाँ पनि कतिपय समस्या स्थानीय बासिन्दा र जनप्रतिनिधि र शिक्षकबाट टुंग्याइन्छ भने कतिपयि दोभासेमार्फत समस्या सुल्झाउन गरिएको छ। तर रसुवाको टिमुरेमा भने सुरक्षाकर्मी र कमान्डर सबैजना करिबकरिब चिनियाँ भाषा जानेका खटाइन्छन्।

भारतीय सीमामा भने भाषाको समस्या छैन। भारततर्फका बिओपीमा खटिनेहरूलाई भाषाको समस्या नभएकाले हिन्दी भाषा जानेकै जानुपर्छ भन्ने छैन। तर चिनियाँको हकमा भने सकेसम्म भाषा जानेकै प्रहरी कर्मचारी पठाउँदा धेरै समस्या समाधान हुने त्यहाँ खटिएर फर्किआउनेको बुझाइ छ। कतिपय सन्दर्भमा चिनियाँहरूले भनेको नबुझ्दा पनि समस्या उत्पन्न हुने गरेको सशस्त्र प्रहरीले कर्मचारीले बताउने गरेका छन्।

‘चिनियाँहरू अंग्रेजीमा एस र नो मात्रै जवाफ दिने र तिब्बती शरणार्थीहरूको मामिलामा बढी नै चासो राख्ने भएकाले नेपाली सुरक्षाकर्मीहरूबाट त्यस किसिमको सूचनाको आदानप्रदान होस् भन्ने उनीहरूको चाहना छ,’ चीनको सीमामा खटिएका एक सुरक्षाकर्मीले भने।

उनका अनुसार सुरक्षाको मामिलामा उनीहरूले कुनै पनि सम्झौता नगर्ने भएकाले कहिलेकाहीँ चीनतर्फ जानुपर्‍यो भने पनि सुरक्षा जाँच पूरा मात्रै प्रवेश गराउने गरेका छन्।

प्रकाशित: २४ भाद्र २०८० १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App