१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गौ रक्षार्थ नारायणी किनारमा प्रदर्शन

चितवनमा गौवंश रक्षार्थ हिन्दु धर्मावलम्बीले प्रदर्शन गरेका छन्। धरानमा गोरु काटेर खाएको विरोधमा शनिबार नारायणी नदीकिनारमा गरिएको हो। नेपाल सन्त समाजद्वारा आयोजित धार्मिक सभामा चितवन तथा नवलपुरका विभिन्न स्थानबाट हिन्दु धर्मावलम्बीको उपस्थिति रहेको थियो।

‘गाई हाम्री माता हुन्, हाम्रो धर्म, हाम्रो देश प्राणभन्दा प्यारो छ, संविधानको पालना गर, ओम्कार परिवार एक हौं, गोवंशका हत्यारालाई कारबाही गर, वैदिक सनातन हिन्दु धर्म कायम गर’ लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

चितवनको लंकु, रत्नगर, देवघाटधाम र नवलपुरको कावासोती, देवचुलीका साथै गैंडाकोटबाट धर्मावलम्बीहरू भजनकिर्तनसहित नारायणगढको सहिदचोक पुल्चोक हुँदै नारायणीकिनार पुगेका थिए। भगवान् गौतमबुद्धको प्रतिमासँगै तय गरिएको धार्मिकसभामा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गाई रक्षार्थका साथै हिन्दु धर्म रक्षार्थ जागरुक हुनुपर्ने बेला आएको बताए।

धार्मिक संगठन र युवाको प्रतिनिधित्व गर्दै विश्व हिन्दु महासंघका प्रतिनिधि श्याम पौडेलले हिन्दु राष्ट्र निर्माणका लागि युवालाई एक स्थानमा उभिन आग्रह गरे। बौद्ध धर्मका विशिष्ट अनुयायी लेखक एवं विचारक मोहन लामा रुम्बाले गाई मातातुल्य रहेको जिकिर गरे।

श्री वैष्णव सम्प्रदायको प्रतिनिधित्व गर्दै स्वामी जगन्नाथाचार्यले नेपाली संस्कार र संस्कृतिको अन्त्यका लागि प्रोपोगान्डा फैलाउन चाहेको बताए। जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङले असल संस्कार र संस्कृति हिन्दु धर्मको जग रहेको हुँदा युवामा चेतना फैलाउन आवश्यक भएको धारणा राखे।

महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरी र गलेश्वर आश्रम देवघाटधामका पीठाधीश आत्मानन्द गिरीले गौमाता हिन्दु धर्मावलम्बीका लागि आमाको स्वरूप रहेको हुँदा आमाको रक्षार्थ सबै एकजुट हुन आवश्यक रहेको बताए।

धरानमा गाई काटेर खाएको घटनाको विरोध गर्दै गोवंश रक्षार्थ नारायणीकिनारमा धार्मिक सभा गरिएको हो। चितवन, नवलपुर, नवलपरासी र तनहुँका ओम्कार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपूजकको संयुक्त आयोजना) ले गोवंश रक्षार्थ धार्मिक सभा गरेकोे आयोजक समितिका संयोजक टंकनाथ पौडेलले बताए।

नेपालको मुलुकी अपराध संहिता २०७४ ऐनको परिच्छेद २७ पशुपक्षीसम्बन्धी कसुरको दफा २८९ मा गाईगोरु काट्न र मार्न वा कुट्न नहुने उल्लेख छ। गौवंशको रक्षाका लागि भन्दै देशभर हिन्दुधर्मावलम्बीले प्रदर्शन गर्दै आएका छन्। यसअघि धरानमा विरोधको कार्यक्रमसमेत राखेका थिए। तर, स्थानीय प्रशासनले रोक लगाएपछि बाहिरबाट गएका हिन्दुधर्मावलम्बी धरान नपुगी फर्किएका थिए। धरानमा केही समयअघि मन्दिरनजिकै चर्च बनाइएको छ। त्यसपछि गोरु काटेर फेसबुकमै राखेपछि त्यसको देशभर विरोध भएको छ। 

प्रकाशित: २४ भाद्र २०८० ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App