६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कति सन्तान ठिक्क?

यस्ताे पनि !

‘दोस्रो सन्तान कहिले? पहिलो स्कुल जान्छ जहिले!’ यो विज्ञापन सुन्नु भएको छ? पुरुष अस्थायी नियोजन साधन कण्डमको विज्ञापनका लागि रेडियोमा प्रायः यही विज्ञापन सुनिन्थ्यो कुनै समय। नेपालमा परिवार नियोजन कार्यक्रम सञ्चालन भएपछि र अमेरिकी सहयोगमा कण्डम उत्पादन हुन थालेपछि नेपालीले पहिलो पटक नियोजनको कुरा सुनेका थिए।  

नत्र त ईश्वरका वरदान भनेर जति सन्तान थपिए पनि वास्ता नगर्ने पुस्ताहरू थिए। त्यति मात्र होइन, तिनको जीविका कसरी चल्छ भनेर कसैले प्रश्न गर्यो भने, ‘भगवान्ले खनेको खाल्डो हो, उनैले पुर्छन्’ भनी जवाफ दिने चलन थियो। ४५ वर्षअघि कण्डम उत्पादन थालेपछि र व्यापक रूपमा रेडियो नेपालले दुई सन्तानको विज्ञापन गरेपछि नेपालमा पनि आदर्श परिवार हुन दुई सन्तानभन्दा बढी हुनुहुँदैन भन्ने ठान्न थालियो।

यसको सुरुवात अमेरिकामा ९० वर्षअघि भएको थियो। त्यहाँ देशव्यापि सर्भे गरिँदा अधिकांशले दुईदेखि तीन सन्तान नै एउटा आदर्श परिवारमा आवश्यक पर्छ भन्ने धारणा व्यक्त गर्न थालियो। दुई सन्तानको प्रचार यति व्यापक भयो कि संसारकै सबैभन्दा बढी जनसंख्या भएका दुई मुलुक भारतले पनि दुई सन्तानलाई ईश्वरका वरदान भन्न थाल्यो भने चीनले एक सन्तानको नीति राष्ट्रिय रूपमा नै लागु गरायो।  

यतिबेला भने संसारभर जन्मदर घट्दै गइरहेको छ। यसको प्रभावस्वरूप अमेरिकामा पनि स्वाभाविक रूपमा जन्मदर घटिरहेको छ तर उसले चातुर्य देखाउँदै संसारभरबाट डाइभर्सिटी भिसामार्फत जनसंख्याको अभाव हुन दिएको छैन। तर अमेरिकाभित्र भने दुई सन्तानको साटो तीन सन्तान जन्माउन पाए हुन्थ्यो भन्ने चाहना बढ्दै जान थालेको पछिल्लो सर्भेले देखाएको छ।  

द वाल स्ट्रिट जर्नलमा जोश जमब्रुनका अनुसार दुई सन्तान भए ठीक्क हुन्छ भन्ने सोच राख्ने अमेरिकीहरूमा अझ एउटा सन्तान थप्न पाए हुन्थ्यो भन्ने चाहना सन् १९९० को दशकबाट बढेको देखिन्छ।  

अमेरिकामा युनिभर्सिटी अफ सिकागोले ५० वर्षयता जनरल सोसल सर्भे गर्ने गरेको छ। सर्भेमा सन् २०२२ भन्दाअघि १९९८ यता तीन सन्तान राम्रो भन्नेमा ६२ प्रतिशत थिए। कोभिडपछि भने यो संख्या घटेर ५१.७ मा झरेको छ।  

सन् १९३६ देखि लगभग ३० वर्षसम्म अमेरिकीहरूले एउटा आदर्श सन्तानस्वरूप बढीमा तीन सन्तान जन्माइरहे। त्यसपछि भने औसतमा दुई सन्तानका कुरामा समाजले आफूलाई मनायो। पछि फेरि समाजको मन बदलियो। उनीहरूले दुई सन्तानभन्दा बढी भएकै राम्रो भन्ने आशय व्यक्त गरे। धन्न, कसैले पनि सन्तान नभएकै राम्रो भन्ने धारणा राखेका छैनन्।  

तपाईंको विचारमा आदर्श परिवार हुन कति सन्तान चाहिएला?

– द वाल स्ट्रिट जर्नलबाट

प्रकाशित: १९ भाद्र २०८० ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App