आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व बुधबारदेखि सुरु भएको छ। भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँंझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु भएको हो।
गाईजात्राको विशेष दिन भने भोलि बिहीबार हो। विशेष उल्लासकासाथ विहीबार यहाँं धूमधामकासाथ गाईजात्रा मनाइँंदै छ। देशभरमै आकर्षक मानिने यहाँंको गाईजात्रा हेर्न काठमाडौ उपत्यका र उत्पयका आसपासका हजारौमा जात्रालुप्रेमी आउने गर्दछन्।
प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ। यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ। देशका विभिन्न ठाउँंहरुमा जनैपूर्णिमा भोलि र गाईजात्रा पर्सि मनाइने भए पनि भक्तपुर नगरपालिकाले सरोकारवालासँंगको बैठक बसी जनैपूर्णिमा आज बुधबार र गाईजात्रा भोलि विहीबार मनाउने निर्णय गरेको थियो।
यसअघि गाइजात्रा नजिकिएसँंगै भक्तपुुर नगर गाईजात्रामय हुन थालेको थियो। गाईजात्रामा प्रदर्शन गरिने साँस्कृतिक विधाहरुको ‘रिहल्सर्ल’ केही हप्ता अगाडिदेखि नै टोलटोलमा सुरु हुन थालेका थिए। गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) लगायतका लागि तयारी, प्रशिक्षण सुरु भएका थिए।
भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा टोलटोलबाट साँंस्कृतिक प्रदर्शन गर्न तयारी तथा प्रशिक्षण सुरु भएका थिए। नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने साँंस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोश्रो र तेश्रो हुने विधाहरुलाई नगद पुरस्कार वितरण गर्दै आएको छ। यो क्रमलाई नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको छ।
नगरपालिकाले यो वर्ष पनि पुरस्कारको राशीसहित नगरबासीका नाममा सार्वजनिक सूचना जारी गरेको थियो। सार्वजनिक सूचनामा गाईजात्रा पर्व २०८० सालको प्रतियोगितामा प्रदर्शन गरिने विभिन्न साँंस्कृतिक विधाहरुलाई नगद पुरस्कार वितरण गर्ने उल्लेख छ। सूचना अनुसार नाच, नाटक र प्रहसन गरी विभिन्न विधाहरुमा पुरस्कार वितरण गरिने छ। यसका लागि पर्वभर नगरका ठाउँंठाउँंमा मूल्यांकन टोली बनाई प्रदर्शनको मूल्यांकन गरिने जनाइएको छ। यही कारण गाईजात्रामा प्रदर्शन हुने विभिन्न प्याखं (नाच) हरुको तयारी टोलटोलमा सुरु हुन थालेका थिए।
गाईजात्रामा देखाइने नाचका लागि नयाँं कलाकारहरुलाई प्रशिक्षण दिने अनि पुराना कलाकारहरुलाई तयारी गर्ने काम सुरु भएका हुन्। स्थानीय जात्राप्रमेमी रामबहादुर सुवालले गाईजात्रामा प्रदर्शन हुने नाचको प्रशिक्षण हप्तादिन अगाडिदेखि नै सुरु भएको जनाए।
‘गाईजात्रामा पुरस्कार जित्नु ठूलो कुरा होइन, उनले नागरिकसँग भने, ‘पुरस्कार जित्नु भन्दा पनि पुराना संस्कृतिलाई जिवन्तता दिइराख्नु ठूलो कुरा हो।’
गाईजात्राका क्रममा यहाँं दुई दर्जन थरी (विधा)का सयौं प्याखं (नाच) देखाइन्छन्। यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन्। साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छन्। साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छन्। यी सवै नाचमा फरकफरक रुपमा फरकफरक भेषमा मानिस नै नाचिन्छन्। गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँंदै आएको छ।
संस्कृतिविद् ओम धौभडेल भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने जनाए। उनका अनुसार गाईजात्राका लागि गठामुंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ। जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णअष्टमीसम्म आठ रात नौ दिनसम्म नाच प्रदर्शन गरी हुने उनले बताए। यो क्रममा गाईजात्राका दिन यहाँं विशेष नाच ‘घिन्तान्गिसी’ प्रदर्शन हुने गर्दछ।
सवारीसाधन प्रवेश निषेध, १६ ठाउँंहरुमा पार्किङको व्यवस्था
भक्तपुर नगरपालिकाले जनैपूर्णिमा र गाईजात्रा पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध गरेको छ।
साथै, नगर प्रवेश गर्ने चारैतिरका १६ स्थानहरुमा सवारीसाधन पार्किङ तोकेको छ। जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, ट्राफिक, ख्वप मिनिबस सेवा समिति, ख्वप अस्पतालका प्रतिनिधिको सहभागितामा बसेको बैठकले नगरको विभिन्न वडाहरूमा पार्किङस्थलको व्यवस्था गरेको हो।
बैठकले सिद्धपोखरीको दक्षिणी भाग, भक्तपुर क्यान्सर अस्पताल अगाडिको पार्किङ स्थल, नःपुखुको दक्षिण/पश्चिमतिरको खुल्ला क्षेत्र, देको, मिवा, इतापाके आवास क्षेत्रका सडकहरु, ब्यासी पर्यटक बस पार्क, ब्यासीबाट कालीघाट जाने सडकको एक छेउ, देकोचा (ख्वप कलेजका गाडीहरु पार्किङ गर्ने ठाउ), कमलविनायक सरस्वती विद्यागृह प्राविको चौरको पार्किङ क्षेत्र, च्याम्हासिंहदेखि पसिखेल सडकको एक छेउ, महेश्वरी खेल मैदान, परोपकार केन्द्र परिसर (हनुमानघाट), भेलुखेल, ल्योसिंख्य, राममन्दिर पुलसंगै खोला किनारा, बाराही पुलसँगै खोला किनारा र भार्वाचो बसपार्क गरी १६ वटा स्थानहरुमा पार्किङस्थलको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
साथै बैठकले गुन्हीपुन्ही सापारु २०८० शान्तिपूर्ण मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न भदौ १३ गते बुधबारदेखि २० गतेसम्म प्रदर्शन हुने परम्परागत र आधुनिक सास्कृतिक विधाहरुको प्रस्तुत हुने स्थानहरु र मूल्याकंन स्थलहरुमा आवश्यक शान्ति सुरक्षा व्यवस्था गर्ने निर्णय गर्यो।
गुन्हीपुन्ही सापारुको मुख्य दिन बिहीबार भदौ १४ गते प्रदक्षिणा मार्गको सबै वडाहरुमा र परम्परागत र आधुनिक सास्कृतिक विधाहरुको मूल्याकंन स्थलहरुमा आवश्यक प्राथमिक स्वास्थ्य उपचार सेवा केन्द्रले व्यवस्था गर्ने निर्णय गर्नुका साथै गुन्हीपुन्ही सापारु २०८० शान्तिपूर्ण मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न प्रदक्षिणा मार्गका साथै सम्पूर्ण प्रदर्शनी स्थलहरुमा आवश्यक सरसफाईको व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।
प्रकाशित: १३ भाद्र २०८० १४:०१ बुधबार





