१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कहिले आउला सुनथरालीमा ‘चिलगाडी’

आजकाे परीक्षण उडान स्थगित

सुनथराली विमानस्थल

सात वर्षअघि कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान सफल हुँदा स्थानीय मनबहादुर विष्टका आँखा खुशीले रसाएका थिए । विमानस्थल बनाउन खटिएका धादिङकको जोगीमाराका १७ जनासहित ३५ जनाको चिहानमाथि ‘चिलगाडी’ बस्ला बन्ने कल्पना उनले गरेका थिएनन् । ‘मेरा लागि यो विमानस्थलसँगको साइनो गज्जवको छ, यहाँ काम गर्दै गर्दा सेनाले हेलिकोप्टरबाट खसालेको बमको छर्रा लागेर घाइते भएँ,’ उनले भने, ‘पछि माओवादीको लडाकु बनेर यहीँबाट सेनाको प्रतिकार गरेँ, सेनाले हत्या गरेकाहरुलाई यहीँ विमास्थलभित्र चिहान खनेर गाड्ने काम पनि गरेँ, त्यहीँ चिहानमाथि चिलगाडी बसेको आफ्नै आँखाले देख्दा मलाई कस्तो भयो होला ?’  

२०७३ माघ २९ गते पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथराली विमानस्थलमा परीक्षण उडान हुँदै थियो । सुनथरालीमा चिलगाडी आउने खवरले नजिकका गाउँबाट हजारौं स्थानीयहरु भेला भएका थिए । अवतरणसँगै हजारौं मानिसहरुले तारा एयरको विमानलाई घेरे । यहाँका नागरिकले नजिक विमानलाई नियाल्न पाएँ । विमान उडाएर ल्याउने चालक दलका सदस्य र सँगै गएका यात्रुहरुलाई फुलमालाले स्वागत गरे ।  

 २०७३ माघ २९ गते सुनथराली विमानस्थलमा गरिएको परीक्षण उडानका क्रममा विमान हेर्न आएका स्थानीयहरु

विष्ट परीक्षण उडान सफल भएकाले नियमित चिलगाडी आउने आशामा थिए । सात वर्ष भयो, सुनथरालीमा चिलगाडी नबसेको । २०७४ र त्यसपछि भएका निर्वाचनहरुमा राजनीतिक दलहरुको प्रमुख चुनावी अजेण्डा विमानस्थल सञ्चालन गर्ने हुन्छ । कालिकोटबाट गठबन्धन दलकातर्फबाट २०७९ मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महेन्द्रबहादुर शाहीले आफ्नो चुनावी अजेण्डाको पहिलो बुँदामा पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख थियो ।  

चुनावका बेला गरेको बाचा अनुसार नियमित नभएपनि दोस्रो पटक परीक्षण उडान आफू निर्वाचित भएको पहिलो वर्षमै गर्ने लक्ष्य शाहीको छ । पटक–पटक परीक्षण उडानका लागि उनले प्रधानमन्त्रीदेखि सरोकारवालाहरुसँग भेटे । परीक्षण उडानको विभिन्न मिति उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरे । अन्तिम पटक भदौ १३ गते सुनथराली विमानस्थलमा परीक्षण उडान हुने कुरा थियो । अन्तिम समयमा आएर त्यो पनि स्थगित भएपछि उनले फेसबुकमार्फत परीक्षण उडान गर्न नसकेकोमा ‘आफू निक्कै लज्जित’ भएको लेखेका छन् ।

‘प्रधानमन्त्रीको चाहना र कालिकोटका जनताको प्रतिक्षा थियो, ३८ वर्षे इतिहास बोकेको सुनथराली विमानस्थलमा जहाज देखियोस्, कोटबाडाको आकाशमा जहाज उडोस्,’ उनले लेखेका छन्, ‘तर अफसोच अन्तिम घडिमा भाद्र १३ गतेको त्यो सपना पूरा भएन् ।’ उनले सम्पूर्ण तयारी पूरा हुँदा पनि परीक्षण उडान गर्न नसकेकोमा स्थानीयहरुसँग क्षमा पनि मागेका छन् । शाहीले चैतयता सुनथराली विमानस्थलमा पटक–पटक जहाजको परीक्षण उडान गर्ने बताउँदै आएका छन् ।    

शाहीले फेसबुकमा स्टाटस लेखेको केही बेरमै उनकै पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किरातीले पनि स्टाटस लेखेका छन्। उनले आफ्ना बुवाको निधनका साथै अन्य तयारी पनि पूरा नभएकाले भदौ १३ गते तय गरिएको परीक्षण उडान स्थगित गरिएको बताउँछन्। उनले अव असोज १३ गते कालिकोटको सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको एकै दिन परीक्षण उडान गर्ने जानकारी पनि फेसबुकमार्फत दिएका छन्।

स्थानीयहरु भने एक पटक परीक्षण उडान भइसकेकाले फेरि कति पटक परीक्षण उडान गर्ने हो भन्दै प्रश्न गरिरहेका छन् । ‘सात वर्षअघिनै परीक्षण उडान सफल भइसकेको हो, अहिले फेरि परीक्षण उडान मात्रै गरेर जनताको आँखामा छारो हाल्न पाइन्न,’ मदन ऐडीले भने, ‘नियमित उडानमा पहल गर्नु आवश्यक छ ।’

नेपाली कांग्रेसका नेता दमन शाहीले नियमित उडानतर्फ सबैको पहल हुनुपर्ने बताए । २०७३ मा परीक्षण उडान हुँदा उनी तत्कालीन मन्त्रीको सचिवालयमा कार्यरत थिए । परीक्षण उडानमा उनी पनि सँगै थिए । परीक्षण उडानको फोटो शेयर गर्दै उनले लेखेका छन्, ‘अव सबैको एउटै बुझाई, नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं ।’

प्रकाशित: १३ भाद्र २०८० ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App