५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

डिपट्युवेलको पानीले ल्याएको खुशी

बाँकेको राप्ती सोनारी–१ कुसुममा निर्माण सम्पन्न भएको ‘नमुना सौरी डिपट्युवेल योजना’ । तस्वीर : नागरिक

सिँचाईको वैकल्पिक व्यवस्था नहुँदा सँधै आकाशे पानीको भरपर्ने सौरी गाउँबासीको बाध्यता अन्त्य भएको छ। गाउँमा डिपट्युवेल निर्माण योजना सम्पन्न भएपछि सिँचाई सुविधा पुगेको हो।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा ‘नमुना सौरी डिपट्युवेल योजना’ सम्पन्न भएपछि गाउँमा सिँचाई सुविधा पुगेको स्थानीय टिकाराम बुढाथोकीले बताए।  

‘गाउँमा अहिलेसम्म सिँचाई सुविधा नै थिएन, डिपट्युवेल निर्माणको काम सम्पन्न भएपछि अब त जतिबेला पनि खेतबारीमा सिँचाई गर्न सकिने भएको छ,’ उनले नागरिक न्युज डटकमसँग भने।  

गत असारमा निर्माण सम्पन्न भएको डिपट्युवेलका मद्दतले गाउँका केही किसानले धान रोपेका थिए भने खडेरीमा धान र मकैलाई सिँचाई गर्न सहज भएको थियो। गाउँमा सिँचाई सुविधा हुँदा हर्षको सिमा नै नरहेको स्थानीय अगुवा थम्मनबहादुर भण्डारीले बताए। ‘किसानका लागि सिँचाई त अमृत बराबर हो, सिँचाई सुविधा पुगेपछि धेरै किसानहरू खुसी छौं,’ उनले थपे।  

भुमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जले ४७ लाख ५० हजार रुपैयाँको लागतमा डिपट्युवेल योजना निर्माण गरेको हो। डिपट्युवेलसँगै सिँचाईका लागि पाईप लाईन, २५ केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर, च्याम्बर निर्माण गरिएको नमुना सौरी डिपट्युवेल योजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर बुढामगरले बताए।  

डिपट्युवेल निर्माण गर्न कार्यालयले ठेक्का सम्झौता गरेपनि सहजीकरणका लागि स्थानीय बासिन्दाको सहभागितामा उपभोक्ता समिति गठन गरिएको थियो। डिपट्युवेल खन्न सुशिल कन्स्ट्रक्सन कम्पनी र सिँचाई प्रणाली निर्माण गर्न विकास निर्माण सेवाले ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ।  

उक्त डिपट्युवेलबाट करिव ४० विगाहा जमिनमा ढुक्कसँग सिँचाई गर्न सकिने कार्यालयका प्रमुख किरण चौधरीले बताए। ‘यस डिपट्युवेलबाट ४० विगाहा जमिनलाई आरामसँग सिँचाई गर्न सकिन्छ। सिँचाईको वैकल्पिक ब्यवस्था नभएको ठाउँमा यस्ता डिपट्युवेल धेरै नै प्रभावकारी हुन्छन्,’ उनले भने।  

कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा नमुना सौरी डिपट्युवेल योजनासहित डुडुवामा पेरानी डिपट्युवेल योजना, एग्रिकल्चर डिपट्युवेल र महाकाली डिपट्युवेल योजना र खजुरामा किसान कल्याण डिपट्युवेल योजना तथा हरियाली डिपट्युवेल योजना निर्माण सम्पन्न गरेको जनाएको छ।  

डिपट्युवेल खन्ने काम सम्पन्न भएपनि डुडुवास्थित जयराम डिपट्युवेल योजना, बर्दियास्थित ककौरा, कालीगौडी, मोतिपुर लखवार, सानोश्री, हराभरा, देउराली र ढकैला डिप ट्युवेल योजनाको ट्रान्सफर्मर जडान लगायतका काम बाँकी रहेको बताइएको छ।

 कार्यालयका अनुसार बाँके र बर्दियामा कुल १३ वटा डिपट्युवेल खन्न २ करोड ५७ लाख ६२ हजार ५ सय ३६ रुपैयाँमा सम्झौता भएको थियो। यस्तै करिव ३ करोड रुपैयाँको लागतमा विद्युतीकरण, पाईप लाईन विस्तार लगायतका काम गरिएको कार्यालयले जनाएको छ।  

प्रकाशित: १२ भाद्र २०८० १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App