कालिकोटको खाँडाचक्र नगरपालिकाको आफ्नै कार्यालय भवन छैन। स्थानीय सरकार सञ्चालनको सात वर्ष पुगिसक्दा पनि पालिकाको भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन। वार्षिक ५० लाख भाडाको भरमा नगरपालिका चलिरहेको छ। तीनदेखि चारवटा घर भाडामा दिएर पालिकाले सेवा दिँदै आएको छ।
नगरपालिका मात्र होइन, कतिपय वडा कार्यालयले पनि भाडाको घरबाट सेवा प्रवाह गरिरहेका छन्। आर्थिक अभावले प्रशासनिक भवन तयार गर्न नसकिएको नगरपालिकाले जनाएको छ। आफ्नै भवन नहँुदा दैनिक कार्य सम्पादन गर्न असहज भइरहेको छ।
मेयर कमलबहादुर शाहीले पालिकाको प्रशासनिक भवन निर्माणका लागि बजेट अभाव भएको बताए। उनले भने, ‘भवन निर्माणका लागि २५ करोडको लागत अनुमान गरिएको छ। भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ। भवन निर्माणका लागी पालिकाले केही महिनाभित्र नगर विकास कोषको साझेदारीमा सम्झौता गरेर टेन्डर गर्ने छ। यो वर्ष भवनको शिलान्यास गर्ने योजना रहेको छ।’
कालिकोटको तिलागुफा नगरपालिकाको पनि आफ्नै भवन छैन। नगरपालिकाले वडा कार्यालय भवनबाट सेवा दिँदै आएको छ। पालिकाको केन्द्र विवादले स्थानीयले मुद्दा दर्ता गरेका छन्।
कालिकोटका मात्रै होइन, कर्णालीका प्रदेशका अन्य थुप्रै पालिकाका आफ्नै स्थायी संरचना छैनन्। अधिकार सम्पन्न स्थानीय तह गठन भएको सात वर्ष पुग्दासम्म स्थानीय सरकार भाडाका घरमा बस्न बाध्य छन्। साँघुरा कोठाबाट कार्यालयको दैनिक काम सम्पादन गर्दा समस्या हुने गरेको स्थानीय सरकार प्रमुख बताउँछन्। स्थानीय स्तरमा प्रशासनिक भवन नभएका कारण आवासीय घरका कोठाबाट काम चलाउनुपरेको उनीहरूको भनाइ छ।
दैलेखको गुराँस गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउन अझसम्म सकेको छैन। कार्यालय सञ्चालनका लागि स्थानीयको घर भाडामा लिएर गाउँपालिकाले काम गरिरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीका अनुसार साँघुरो भवनबाट काम अघि बढाउनुपरेको छ। यद्यपि भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाइएको छ। भाडाको घरबाट नै सेवा प्रवाह गर्न समस्या भएको अधिकृत केसीको भनाइ छ। गाउँपालिकाले मासिक ५५ हजार घर भाडा मात्र तिर्ने गरेको छ। पालिकाले स्वास्थ्य शाखाबाट दिइने सेवा गुराँस अस्पतालको भवनबाट र कृषि, पशुपन्छी शाखाको काम घोडावासबाट दिने गरेको छ। भवनकै लागि वार्षिक रूपमा ६ लाख ६० हजार घर भाडा तिर्दै आएको जनाइएको छ। दैलेखकै आठबिस नगरपालिकाको पनि आफ्नै भवन छैन। नगरपालिकाले भवन निर्माण गरिरहेको छ।
प्रकाशित: ७ भाद्र २०८० ०३:५३ बिहीबार