३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सिआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन भोली मात्र बुझाउने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको किर्ते तथा संगठित अपराधको अनुसन्धान प्रतिवेदन भोली मात्रै सरकारी वकिल कार्यालयमा जाने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान अझै नसकिएकाले सोमबार वा मंगलबार मात्रै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने भएको हो।

‘अहिलेसम्म कुनै जानकारी छैन, सायद आज प्रतिवेदन आउदैन होला’, सरकारी वकिल कार्यालय  काठमाडौंका प्रमुख अच्यूतमणी न्यौपानेले भने। सरकारी वकिल कार्यालयले शुक्रबार नै अनुसन्धान प्रतिवेदन ल्याउनु भनेको भएपनि सिआइबीले अझै समय लिएको छ। सिआइबीले आइतबार रातीसम्म प्रतिवादीहरु तयार गरेर सोमबार बुझाउने जनाएको छ।

सिआइबीले ललितानिवासको जग्गा हिनामिनामा चारवटा मुद्दामा अनुसन्धान गरिरहेको छ। ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। त्यसबाहेक पनि अन्य व्यक्तिहरुलाई पक्राउ पूर्जी जारी गरेर अनुसन्धान गरेको थियो।

टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको प्रहरीले जनाएको छ। मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ। यो मुद्दामा अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

त्यस्तै प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा, शोधभर्ना दिएको भन्ने २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जग्गा सट्टापट्टा र शोधभर्ना मुद्दामा २५ रोपनी ७ आना १ पैसा १ दाम अपचलन भएको प्रहरीले जनाएको छ। २०४९ सालदेखि २०६९ सम्मको अवधिमा ललितानिवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको किर्ते तथा संगठित अपराध मुद्दामा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३ भाद्र २०८० ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App