२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

फोहोरको दुर्गन्धदेखि क्रिकेटको सुगन्धसम्म

स्थान नाम

पहिलाको डम्पिङ साइटमा निर्माण भएको मूलपानी क्रिकेट मैदान । तस्बिर: उपेन्द्र/नागरिक

साउनको झरीसँगै मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हरियाली छायो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल सञ्चालन भइसकेको यो सुन्दर चौर फोहोरको जगमा संरचित छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। मूलपानी क्रिकेट ग्राउन्डसँगै जोडिएको उत्तरतर्फको डिलमा बसोबास गर्ने ६४ वर्षीय प्रभुनाथ दंगाल यो क्षेत्रमा फैलिएको दुर्गन्ध र सुगन्धका जीवन्त साक्षी हुन्।

‘२०५० सालमा म पहिलोपटक यस ठाउँमा आउँदा यहाँ फोहोरमाथि उड्दै गरेका गिद्धको कर्कस आवाज मात्र सुनिन्थ्यो,’ घरको छतबाट हरियाली चौर नियाल्दै उनले भने, ‘अहिले हावामा उड्दै गरेका बल र समर्थकका तालीको गडगडाहटको रमाइलो छ।’

फोहोरमैला व्यवस्थापन ऐनअन्तर्गत रहेर जर्मन सरकारको सहयोगमा यहाँ फोहोर व्यवस्थापनको काम सुरु भएको हो। २०४३ सालदेखि फोहोर फाल्न सुरु गरेको नागदहस्थित मूलपानीको यो ठाउँलाई त्यतिबेला ‘गोकर्ण ल्यान्डफिल साइट’ नामकरण गरिएको थियो। दैनिक ३ सयदेखि ४ सय मेट्रिक टन फोहोर थुपारिँदै आएको यस ठाउँमा ७ वर्षपछि आएका दंगालले फोहोरको थुप्रोभन्दा बढ्दा केही देखेका थिएनन्।

वैशाखमा आयोजित एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरको खेलसँगै माथिल्लो मूलपानी क्रिकेट मैदानले पहिलो पटक अन्तर्राष्ट्रियकरण हुने मौका पाएको हो। झन्डै ३ सय रोपनी क्षेत्रफलमा फैलिएको मूलपानी मैदानको जगमा १४ वर्षसम्म थुप्रिएको उपत्यकाको फोहोर छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।

‘मेरो टहरो पनि यही डिलमा थियो,’ उनले भने, ‘लामो समय (झन्डै २०५७ साल) सम्म यही फोहोरको साक्षी भएर बसें।’ २०४३ सालदेखि फोहोर फाल्न सुरु भएको यस ठाउँमा २०५७ सालदेखि फाल्न रोकिएको हो। सुरुमा फोहोर फाल्न रोकिए तापनि दुई वर्षपछि फेरि सुचारु भएको थियो। ‘फोहोरको दुर्गन्ध र पहिराको डरले हामी धेरै रात जागा बसेका थियौं,’ उनले भने, ‘अहिले यही ठाउँ हेरिरहूँजस्तो लाग्छ।’

क्रिकेट मैदान निर्माण हुनुअघि ‘गोकर्ण ल्यान्डफिल साइट’ नामले चिनिने मूलपानीस्थित डम्पिङ क्षेत्र।तस्बिर: भुषण तुलाधर

उनका छिमेकी प्रभुनाथ तिवारी पनि फोहोरको दुर्गन्ध र क्रिकेटको सुगन्धका साक्षी हुन्। ‘त्यतिबेला गिद्धले घरमा फोहोरका डल्ला खसाल्ने डर थियो। अहिले घरअगाडि नै क्रिकेट मैदान बनेको छ। खेल चलिरहँदा आँगनमै क्रिकेट बल खस्छ कि जस्तो लाग्छ,’ तिवारीले भने।

बिनाकारण सास्ती झेल्नुपरेकाले उनले फोहोर फाल्न अवरोधसमेत गर्न खोजे। यसरी अवरोध गर्ने क्रममा केही समय हिरासतमा समेत बस्नुपरेको थियो। ‘पहिलाका सबै तिता कुरा अहिलेको यो सुन्दरताले भुलाइदिएको छ,’ उनले भने, ‘तर त्यति बेलाको दुःख भोग्नेले यो सुखद ठाउँमा रोजगारी पाउन सके झनै राम्रो हुने थियो।’

हाल कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ मा पर्ने यो स्थान त्यति बेला मूलपानी गाविस वडा नम्बर ८ मा पथ्र्यो। त्यतिबेलाका वडाध्यक्ष भीमसेन तिवारी फोहोरमैलाका कारण मूलपानीवासीले निकै कष्ट भोगेको सुनाउँछन्। ‘फोहोरको लिचडसँगै पहिराको डर पनि उस्तै थियो,’ उनी विगत सम्झन्छन्, ‘त्यसमा पनि ठाउँ ठाउँबाट ग्यास निस्कन थालेपछि विस्फोटको त्राससमेत रह्यो।’

२०४२ सालतिर यसै चौरमा बसेर मिथुन चक्रवर्ती अभिनित ‘आँधीतुफान’ सिनेमाको छायाङ्कन हेरेको क्षण सम्झँदै तिवारीले त्यसको एक वर्षमै यस क्षेत्रमा फोहोरको ‘आँधीतुफान’ आएको बताउँछन्। ‘हामीले विरोध गर्दा लौराको मार र हिरासतको बास हुुन्थ्यो,’ उनी भन्छन्, ‘त्यतिबेला हाम्रो पक्षमा बोलिदिने पनि कोही थिएन।’

बिनाकारण सास्ती झेल्नुपरेकाले उनले फोहोर फाल्न अवरोधसमेत गर्न खोजे। यसरी अवरोध गर्ने क्रममा केही समय हिरासतमा समेत बस्नुपरेको थियो।

विभिन्न विरोध र अवरोधपछि झन्डै १४ वर्षको फोहोरको सास्तीबाट मूलपानी मुक्त भयो। फोहोरलाई माटाले छोपेर सौन्दर्यीकरण गर्ने सरकारी बाचा पनि केही वर्ष यत्तिकै रह्यो। २०६० पुसदेखि यस स्थानमा क्रिकेट मैदानको निर्माण कार्य सुरु भएको थियो। मूलपानीको २ सय ९६ रोपनी जग्गामा हाल दुईवटा आकर्षक मैदान रहेका छन्। गत वैशाखमा एसिसी प्रिमियर कपमा भएको हङकङ–सिंगापुर खेलबाट माथिल्लो मूलपानी क्रिकेट मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको हो।

‘विगतमा यही बाटोमा नाक थुन्दै हिँड्नुपथ्र्यो,’ प्रवेश घिमिरे भन्छन्, ‘अहिले मर्निङ वाक यही बाटो भएर हिँड्न रहर लाग्छ।’ फोहोर थुपारुन्जेल घरमा पाहुना आउनसमेत कमी भएको उनको बुझाइ छ। ‘कोही आइहाले पनि हामीलाई नै अफ्ठ्यारो हुन्थ्यो,’ उनले भने, ‘अहिले खेल हेर्न भनेर पनि घरमा पाहुना आउने गर्छन्।’

त्यतिबेला मूलपानी साइटको क्षमता पूरा भएपछि काठमाडौं उपत्यकाको फोहोर नदी किनारमा थुप्रिन थाल्यो। अभियन्ताहरूले नदी किनारमा फोहोर थुपार्न हुन्न भन्दै विभिन्न अभियान चलाए। वाग्मतीमा फोहोर फाल्न नपाइने भएपछि यहाँको फोहोर नुवाकोटको ओखरपौवा सिसडोलमा व्यवस्थापन गर्ने निर्णय भयो।

२०६२ सालबाट त्यहाँ फोहोर फाल्न थालेपछि त्यो क्षेत्र उतिबेलाको गोकर्ण ल्यान्डफिल साइटजस्तै बन्दै छ। फोहोर जहाँ लगे पनि त्यसको उचित व्यवस्थापनमा राज्य जिम्मेवार बन्नुपर्ने मूलपानीवासीको बुझाइ छ।

फोहोरको दुर्गन्धसँगै विकासका केही मिठाई बाँडे पनि त्यसले आफ्नो क्षेत्रमा खासै प्रभाव नपरेको पूर्ववडाध्यक्ष भीमसेन तिवारीको अनुभव छ। ‘फोहोरको कष्टका अगाडि अन्य विकासका कामले खासै अर्थ नराख्दो रहेछ,’ उनले भने, ‘उतिबेला हामीले भोगेको पीडा अहिले बन्चरे डाँडाले भोग्दै गरेको सुन्दा नरमाइलो लाग्छ।’ सिसडोल र बन्चरेडाँडालाई उतिबेलाको मूलपानीको अवस्थाबाट छिटो मुक्त गराउनु राज्यको दायित्व हो। फोहोरमुक्त भएपछि मात्र उनीहरूले पनि अहिले मूलपानीवासीले जस्तै सन्तोषको सास फेर्न पाउने छन्।

नामकरण विवाद

असारको दोस्रो साता नेपाल क्रिकेट संघ (क्यान)को बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेसँगै स्थानीय आक्रोशित बने। क्यानका संस्थापक तथा पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्मानमा मूलपानी क्रिकेट मैदानको नाम उनको नाममा नामकरण गरेको हो। स्थानीयको आक्रोशसँगै क्यानको निर्णय हाललाई रोकिएको छ।

नेपाली युवा टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको सफल प्रदर्शनसँगै नेपाल क्रिकेट संघ  (क्यान) का तत्कालीन अध्यक्ष जयकुमारनाथ शाहको पहलमा मूलपानी क्रिकेट मैदानको परियोजना सुरु भएको थियो। नेपाली युवा टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्काे उत्कृष्ट प्रदर्शन गर्न सुरु गरेपछि शाहले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष एकेडेमी निर्माणका लागि पहल गरेका थिए।

असारको दोस्रो साता नेपाल क्रिकेट संघ (क्यान)को बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेसँगै स्थानीय आक्रोशित बने।

जिम हल, स्विमिङ पुलसहितको सुविधा रहेको सो एकेडेमी शाहले मूलपानीमै बनाउनुपर्ने प्रस्ताव गरेका थिए। आन्तरिक विवादका कारण उक्त एकडेमी लामो समय प्रयोगमा नआए पनि मूलपानी क्रिकेट मैदानको बीजारोपण त्यहीबेला भएको मानिन्छ।

जीवनको अन्तिम क्षणसम्म उनले मूलपानीमा एकडेमी ल्याउन पहल गरेका कारण उनको सम्मानमा नाम राख्नु उपयुक्त हुने विचार उठेको छ, तर मूलपानीवासीलाई नामका सन्दर्भमा आफ्नै गुनासो छ। उतिबेला मूलपानी फोहोरमैला फाल्ने ठाउँ भनेर चिनिन्थ्यो। अहिले अवस्था फेरिएको छ। घर कहाँ भनेर कसैले सोधे भने क्रिकेट स्टेडियमको छेउ भनेर निर्धक्कसाथ स्थानीयले भन्न पाएका छन्। त्यसैले मूलपानी क्रिकेट मैदानको नाम खोसिन खोज्दा दुःख लागेको स्थानीय भीमसेन तिवारी सुनाउँछन्। 

प्रकाशित: २ भाद्र २०८० ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App