२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीको ‘हवाई प्रतिबन्ध’ फुकुवा हुने

तीन दिनभित्र समस्या समाधान गर्ने पर्यटन मन्त्रीको प्रतिबद्धता

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने भएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्णाली लगायत दुर्गमक्षेत्रमा देखिएको हवाई उडान समस्या ३ दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्णाली प्रदेशका प्रतिनिधिसँग बुधबार भएको भेटमा मन्त्री किराँतीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको थियो।

अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा उपचार नपाएर ४ बालबालिकाको मृत्यु भएको छ। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीका सांसद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किराँतीलाई भेटेर समस्या अवगत गराएका थिए।

मन्त्रालयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि सहभागी थिए। कार्यक्रममा जुम्लाकी सांसद छिरिङ लामा, प्रदेश सांसद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानियाँ, छक्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायालगायत सहभागी थिए।

पूर्वमन्त्री बानियाँले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए। माओवादी केन्द्रकी नेतृ भीमा केसी बन्जाराले पटक पटक अनुरोध गर्दा पनि प्राधिकरण नेतृत्वले कर्णालीमाथि दमन गर्न खोजेको बताइन्।

माओवादी केन्द्र कर्णाली प्रदेशका पर्यटन विभाग प्रमुख मनराज सिम्खडाले महानिर्देशक अधिकारीले कर्णालीलगायत दुर्गमक्षेत्रको विकासमाथि धावा बोल्नुका साथै जनताको जीवनमाथि खेलवाड गरेको बताए। कर्णालीबासीसँगको भेटमा महानिर्देशक अधिकारीले नयाँ नियम लगाउनुपर्ने कारण बताउने प्रयास गरेका थिए।

प्रकाशित: ३२ श्रावण २०८० ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App