१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खाद्यान्न र मलखाद बरामद

भारतले चामल आयातमा रोक लगाएलगत्तै तस्करी बढेपछि सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरेको छ। चामल लगायत सामानको तस्करी बढेको गुनासो बढेपछि सशस्त्र प्रहरीले कपिलवस्तुको महाराजगन्ज नगरपालिका–७ कोटिया नाकाबाट भित्र्याइएका ४ लाख बढी मूल्यका चामलसहितको सामग्री बरामद गरेको हो।

तस्करी भएको विशेष सूचनाका आधारमा गस्ती परिचालन गरी सय बोरा चामल, १५ बोरा चिनी, ९ बोरा मैदा, मलखाद १५ बोरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक जीवनकुमार केसीले बताए। साथै सो माल ओसारपसारमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका मोटरसाइकलसमेत बरामद गरिएको उनले बताए। उनका अनुसार बरामद गरिएका सामान कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

भारतसँग जोडिएको ९३ किलोमिटरको सीमा नाकामा डेढ दर्जन बढी नाका छन्। खुला सीमाका कारण तस्करी नियन्त्रणमा चुनौती रहेको केसीले बताए।

तस्करी नियन्त्रण र सीमामा हुने अपराध नियन्त्रणका लागि आफूहरूले सीमा नाकामा विशेष निगरानी बढाएको बताए। भारतबाट तस्करी भई आउने काठलगायतका विभिन्न मालसामान धमाधम पक्राउ गरिएको बताए। गत वर्ष सशस्त्र प्रहरीले एक वर्षमा अढाई करोड बढीको अवैध माल पक्राउ गरी भन्सार बुझाइएको केसीले बताए।

प्रकाशित: २९ श्रावण २०८० ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App